nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

बाघको 'मेनु' मा मान्छे

Tiger-Photo-1615999741-1616036390.jpg
  • गजेन्द्र बाेहरा

वर्दिया राष्ट्रिय निकुञ्जको ‘सानो बगौरा’ फाँटामा मंगलबार बाघले एकजना महिलाको ज्यान लियो। 

बनमा निगुरो टिप्न गएकी ठाकुरबाबा नगरपालिका– ७की डल्ली राउतलाई बाघले लगेको थियो। त्यहीँ नजिकै उनको शव पनि भेटियो। उनीसँगै गएका अरु तीन जना महिला भने सकुशल रहे। 

त्यसको एक साताअघि मात्रै बनमा घाँस काट्न गएकी मधुवन नगरपालिकाकी रेनुका सुनारलाई पनि बाघले मारिदिएको थियो। 
साता दिनभित्रै वर्दियामा बाघले दुईजनाको ज्यान लिइसकेको छ। 

मंगलबार ‘शिकार’ बनेकी डल्ली राउतसँगै वर्दिया निकुञ्जका बाघहरूले बितेको छ महिनामा मात्रै नौ जना मानिसको ज्यान लिइसकेका छन्। 

वर्दिया राष्ट्रिय निकुञ्जबाट बाघ नियन्त्रणका लागि खटिएको एउटा टोलीले बुधबार वर्दियाकै गेरुवाबाट एउटा बाघ नियन्त्रणमा लिएको छ। 

निकुञ्जका सूचना अधिकारी असिम थापका अनुसार अघिल्लो दिन मान्छे मार्ने बाघ त्यही हो कि होइन भन्ने कुराको अझै एकीन भइसकेको छैन। 

तर त्यसलाई निकुञ्जमै ल्याएर त्यसबारे अध्ययन गरिने उनले बताए।

नियन्त्रणमा खटिएका निकुञ्ज अधिकारीहरूले त्यो बाघको दाँतहरू झरेकोर नङ्ग्रा खिइएको पाइएको छ। त्यो ‘दुर्बल’ बाघ हो। 

निकुञ्ज तथा बन्यजन्तु विज्ञ डा. उदयराज शर्माको परिभाषामा त्यो सायद ‘बिग्रिएको’ बाघ हुनसक्छ। अर्थात् उमेरका कारण वा अरु कुनै कारण उसका शरिरका अंगहरू बिग्रिएका हुनसक्छन्। यसरी त्यो बाघ बिग्रियो। मतलव त्यो बाघका ‘अवयव’हरू बिग्रिए। शरीरका संरचनाहरू बिग्रिए। 

हुनसक्छ त्यही बाघले मंगलबार ‘डल्ली राउत’लाई खाएको हुनसक्छ। वा यसअघिका मान्छे मार्ने बाघ त्यो हुन पनि सक्छ। नहुन पनिसक्छ। निकुञ्ज प्रशासनले त्यो बाघको बारेमा थप अध्ययन गर्ने बताएको छ। 

चिडियाखानामा ठाउँ नभएका कारण त्यो बाघलाई केही समय निकुञ्जकै निगरानीमा राखिने सूचना अधिकारी थापाले जानकारी दिए। उनका अनुसार त्यो ‘भाले’ बाघ हो र, उसको उपचारपछि ‘प्रजनन्’का लागि त्यसले योगदान पनि दिनसक्छ।

किन आतंक मच्चाइरहेका छन् बाघहरू?
मंगलबार जुन ठाउँमा बाघले ‘मान्छे खायो’ त्यो ठाउँमा आजभन्दा करिब ४० वर्ष अघि मानव वस्ती नै थियो। वर्दिया राष्ट्रिय निकुञ्ज स्थापना र त्यसको विस्तार हुने क्रममा त्यो वस्तीलाई अलि पर खुला ठाउँमा सारियो। 

त्यो बगौरा बाघहरूको विचरण क्षेत्र हो। मंगलबार जहाँ घटना भयो, निकुञ्जभरिमा सबैभन्दा धेरै बाघ भेटिने क्षेत्र नै त्यही बगौरा क्षेत्र हो। 

‘अहिले हाम्रो वस्ती त्यो घटना भएको ठाउँबाट करिब १० किलोमिटर टाढा छ’ त्यहीँका स्थानीय तथा नेचर गाइड भवानीप्रसाद कँडेल भन्छन् ‘निकुञ्जभरिका बाघहरू थुप्रिने क्षेत्र भनेकै त्यही ठाउँ हो।’

यसको अर्थ त्यो बाघको आफ्नै ‘आदिम इलाका’ हो। मान्छेको होइन। 

वर्दिया निकुञ्जमा भवानीप्रसाद घुम्न थालेको १५ वर्षभन्दा बढी भइसक्यो। उनी जंगल–जंगल घुम्छन्। बाघ अनि जनावर र पशुपंक्षीहरूको फोटो खिच्छन्। उनी पथ प्रदर्शक पनि हुन्। पर्यटकहरू घुमाउँछन्। 

.

यो लामो जंगलयात्रामा धेरैपल्ट बाघसँग उनको जम्काभेट भएको छ। 

यहाँ प्रयोग गरिएका बाघका सबै तस्विरहरू भवानीले यो घटना हुनुभन्दा १०-१२ दिन अघिमात्रै त्यही इलाकामै खिचेका हुन्। 

‘कहिले त एक मिटरभन्दा पनि थोरै दूरीमा बाघ भेटेको छु’ उनको अनुभव छ ‘कहिले बाघले भेटेको छ। कहिले मैले बाघ भेटेको छु। तर हाम्रा बाटा अलग हुन्छन्। उ आफ्नो बाटो लाग्छ। म आफ्नो बाटो।’

उनले भन्न खोजेको कुरा के हो भने ‘बाघले सित्तिमित्ति मान्छेलाई आक्रमण गर्दैन।

‘मान्छे कहिलै पनि बाघको ‘मेनु’मा पर्दैन। उसको मेनु नै फिक्स हुन्छ’ भवानीको अनुभव देखाउँछ ‘तर, यो भने पक्कै हो कि बाघले चाह्यो भने मानिस उसको लागि सजिलो आहारा हो।’

अर्थात् कुनै पनि बाघले हत्तपत्त ‘दुई खुट्टे’ प्राणीलाई आफ्नो आहारा बनाउनै चाहन्न। अन्तिम अवस्थामा मात्रै उसले मान्छेमाथि आक्रमण गर्नसक्छ। तर, पहिलोपटक नै उसले मान्छेलाई खान सक्दैन।

.

एउटा वयस्क बाघले आहाराका लागि एउटा चित्तलमाथि कम्तीमा २० देखि ३० पटकसम्म आक्रमणको प्रयास गर्छ। तर, शिकारमाथि आक्रमण गर्ननसक्ने बाघले सजिलो शिकार खोज्छ। जस्तो कि सबैभन्दा उसको लागि सजिलो ‘शिकार’ भनेको मान्छे नै हो।

‘त्यही ठाउँमा जंगल सफारीका नाममा मानिसको भीड लाग्छ। गाडीहरूको घाइँघुइँ हुन्छ। बाघले शान्तसँग आफ्नो शिकार गर्न पाइरहेको हुँदैन। मानिस र गाडीको त्यो होहल्लाले तिर्खाएको बाघले पानी खान पाउँदैन। स्वतन्त्र भएर आफ्नो इलाकामा विचरण गर्न पाउँदैन’ भवानीलाई लाग्छ ‘अनि बाघहरू भड्किनसक्छन्। भड्किएको बाघले जे पनि गर्नसक्छ। जसलाई पनि मार्नसक्छ।’

बाघहरू ‘इलाका’ फेर्दैछन् कि, शिकार?
खासगरी यो दुवै होइन। 

किनकि वर्दिया निकुञ्जभित्र बाघ–बाघकै बीचमा द्वन्द्व छैन। एउटा बयस्क बाघले आफ्नो इलाका बनाउनका लागि त्यहाँको बाघसँग लड्नुपर्ने हुन्छ। हार्ने बाघ त्यो इलाका छोडेर जान्छ र, जित्नेले आफ्नो ‘इलाका कब्जा’ गर्छ। 

तर, ‘स्पेश’का हिसावले वर्दिया निकुञ्जमा उनीहरूका लागि ‘इलाका’को कमी छैन। 

बुढो भएको, अशक्त भएको वा घाइते भएको अर्थात ‘बिग्रिएको’ अथवा जंगलमा अरु आहार नपाएपछि बाघले सजिलो शिकार खोज्छ। उसको मेनुमा मान्छे सबैभन्दा सजिलो शिकार हो अनि घरपालुवा जनावरहरू। 

तर, निकुञ्जभित्र त्यत्ति ‘बिग्रिएका’बाघहरू धेरै छैनन्। निकुञ्जमा उसले आहारा बनाउने प्रजातिका जनावहरूको कमी पनि छैन।

‘त्यसैले बाघले इलाका पनि बदलेको होइन, शिकारको स्वाद फेर्न चाहेको पनि होइन’ भवानीको दशक लामो अनुभव भन्छ ‘त्यो एकदमै आकष्मिक हुनसक्छ। कुनै परिस्थितजन्य अवस्था हुनसक्छ। यहाँका बाघ मान्छे खान पल्केका छैनन्।’

अर्थात् एउटै बाघले धेरै मान्छे मारेको कुनै प्रमाण छैन। 

२०१८मा भएको गनणाअनुसार वर्दिया निकुञ्जमा ८७ वटा बाघ छन्। अब बाघको गणना २०२२मा मात्रै हुनेछ। तर, यो बीचमा वर्दियामा बाघहरूको संख्या बढ्नसक्ने अनुमान निकुञ्ज अधिकारीहरूले गरेका छन्।

त्यो बेला भएको गनणाअनुसार नेपालमा २३५ बाघ छन्। 

.

‘यो बीचमा बाघको संख्या बढेकै भएपनि सम्हाल्नै नसकिने भन्ने होइन’ वन्यजन्तुविद शर्मा भन्छन् ‘किनकि त्यहाँ उसका आहार प्रजाति प्रशस्तै छन्। डुल्ने, घुम्ने ठाउँ पनि प्रशस्तै छन्। अनि प्रजननका लागि पनि समस्या छैन।’

शर्माका अनुसार अहिले बाघहरूको निरन्तर निगरानी नहुँदा पनि यस्तो समस्या आएको हुनसक्छ। कुन बाघ कस्तो अवस्थामा छ? के गरिरहेको छ वा कहाँ कहाँ यात्रा गरिरहेको छ भनेर पछ्याउन सकिन्छ। त्यस्ता थुप्रै प्रविधिहरू आइरहेका छन्। 

तर, निकुञ्जमा अहिले क्यामेराहरूसमेत व्यवस्थित छैनन्। जहाँ जहाँ बाघले मानिसमाथि आक्रमण गरेका घटना हुन्छन् अनिमात्रै निकुञ्ज प्रशासनले त्यहाँ क्यामेरा राख्न सुरु गरेको छ। 

बाघलाई निरन्तर निगरानी वा उसलाई पछ्याइरहँदा उसका पाइलाहरूबाटै सजिलै चिन्न सकिन्छ। 

‘उसका पाइलाका छापहरूबाट पनि पहिला मान्छे मारेको बाघ हो कि होइन भनेर थाहा पाउन सकिन्छ’ शर्मा भन्छन् ‘हामीले बाघहरूलाई पछ्याइरह्यौं। निरन्तर निगरानी गरिरह्यौं भने उसका क्रियाकलापहरू थाहा पाउन सकिन्छ। मानिसलाई सचेत गराउन सकिन्छ।’

चेतनाको कमी
जनावर र मानिसबीचको लडाईं नयाँ होइन। मानिसले प्रकृतीबाटै आफ्ना आवश्यकताहरू पूरा गर्दै आएको छ। यो आदिनियममा जनावरहरू पर्यावरणीय चक्रका साश्वत आवश्यकता हुन्। 

यो चक्रबिना मानव जीवन सम्भव छैन र जनाजवरहरू बिना यो चक्र सम्भव छैन। 

प्रकृतिमाथि मानिसले निरन्तर गर्दै आएको जवर्जस्त आक्रमणले जनावरहरू बिथोलिएका पक्कै छन्। तर, एउटा सत्य त के हो भने जंगल पहिलादेखि नै जनवार अनि ‘बाघ’हरूकै इलाका हो। 

.

त्यसमा मान्छेले जवर्जस्ती ‘कब्जा’ जमाउन खोजेको मात्रै हो। 

‘अहिले यहाँ पनि घटनाहरू भएका छन्। ती सबै जंगलभित्रै भएका छन्। एउटा पनि जंगलबाहिर भएका छैनन्। आफ्नो घरमा आफूले गर्न चाहेको कुरा गर्न नपाएपछि जनावर पनि पक्कै बिथोलिन्छन् नै’ भवानी भन्छन् ‘त्यसैले हामीले पनि बिचार गर्नुपर्छ कि हामी कस्को क्षेत्रमा हस्तक्षेप गरिरहेका छौं भनेर। त्यसका लागि राज्य वा सम्बन्धित निकायले मानिसमा अझै चेतना जगाउनुपर्ने आवश्यक छ।’

बाँच्नका लागि संघर्ष त सबैले गर्नैपछ। मान्छे होस् या बाघहरू।

.

अायोमेलबाट साभार
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)