nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

परेवाभीरः बाटोमा राजनीति कि, राजनीतिमा बाटो ?
शिवकुमार काशी

Kashij-ee-1593313618.jpg

लामो समय जनयुद्धमा सहभागी कमाण्डर ओमबहादुर ग्लान (प्रदीप) यतिखेर बागमती प्रदेश सभा सदस्य पनि हुन् । युद्धको राम्रै अनुभव बोकेका ग्लान पश्चिम मकवानपुरको विकास र समृद्धिमा एउटा भिजनसहित अघि सर्नु भएको छ । तर, उनीसहित टिमको एउटा सपनामाथि बागमती प्रदेश सरकारले २०७७ साल असार १ गते संसद सचिवालयमा पेस गरेको बजेट बक्तब्यमार्फत कुठाराघात भएको छ । सपनामाथि कुठाराघात मात्रै भएको छैन, सपनाका कैयौँ पात्रहरुमाथि अन्याय पनि गरिएको छ ।

परेवाभीरः राष्ट्रिय मिडियाहरुमा समेत चासो व्यक्त एउटा भीर । पूर्व पश्चिम राजमार्गको मनहरी बजारबाट ८ किलोमिटर उत्तरपश्चिममा रहेको भीर । यही खण्ड भएर मनहरीदेखि धादिङ जोड्ने बाटो क्रमशः निर्माण भइरहेको छ । यो त्यही भीर हो, जहाँ भीरमुनिको मनहरी खोलाको जङ्घार तर्न नसकेर मानिसहरु मर्छन् वा खोला तर्ने पिरलोले भीरको बाटो भएर यात्रा गर्दा भीरबाट लडेर मर्छन् । यो पिरलो अहिलेको मात्र होइन, सांसद ग्लानका बुवा, हजुरवुवा र जिजुवुवादेखिकै पुस्ताले भोग्दै आएको पिरलो हो । परेवाभीरको व्यथा वकालत त अहिले आएर मात्रै सार्बजनिक रुपमा गरिएको हो । व्यथा सुनाउने र सुनिने ठाउँमा जब परेवाभीर छेउछाउका मानिसहरुले पनि ठाउँ पायो ।

परेवाभीरको बाटोमा हिँड्दै स्थानीयबासिन्दा । बर्षायाममा कैलाश र राक्सिराङका बासिन्दाका लागि यो बाध्यकारी बाटो हो ।राक्सिराङ गाउँपालिका वडा नं ४ चौकीटार घर भएका सांसद ग्लान, राक्सिराङ गाउँपालिका वडा नं ९ घर भएका राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, कैलाश गाउँपालिका वडा नं ७ घर भएका गाउँपालिका अध्यक्ष टंकबहादुर मुक्तान, राक्सिराङ गाउँपालिका ४ नं वडाध्यक्ष सञ्जय कोइराला लगायत सबैको एकै चाहना छ–परेवाभीरबाट मुक्ति पाउनु प¥यो । परेवाभीरको पिरलोबाट मुक्ति पाउनका लागि राक्सिराङ गाउँपालिकाले परेवाभीरको बिकल्प खोजेर नयाँ ट्रयाक खन्ने अबधारणा पनि नल्याएको होइन । राक्सिराङ गाउँपालिका वडा नं ५ बाङतीराङबाट बमकिम हुँदै रतुवा छेउ पुग्ने बाटोको बिस्तृत परियोजना प्रतिवेदन पनि बनाइयो । तर, त्यसो गर्दा ५ किलोमिटर बाटो लम्बिने र घुमाउरो हुने भएपनि त्यो परियोजना पनि असफल भएको राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल बताउँछन् ।

मनहरीबाट धादिङको मलेखु जोड्न जम्मा ५२ किलोमिटर मात्र दूरी छ । यीमध्ये अधिकाँश ट्रयाक खनिएको छ । केबल परेवाभीरले मात्रै रोकिराखेको अबस्था छ । चालू आर्थिक बर्षमा राक्सिराङ गाउँपालिकाको १ करोड, प्रतिनिधिसभा सदस्य बिरोध खतिवडाको सिफारिसमा ५० लाख, बागमती प्रदेश प्रमुख प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बानियाँको सिफारिसमा ५० लाख खर्चेर अहिले पनि काम भइरहेको छ ।

तर, परेवाभीर छिचोल्न सकिने अबस्था छैन । यसका लागि थप बजेट आवश्यक छ । राक्सिराङ गाउँपालिका अध्यक्ष मल्लका अनुसार परेवाभीर खण्डमा भएका पहरा पन्छाउने र फराकिलो सडक बनाउनका लागि छुट्टै बिस्तृत परियोजना प्रतिवेदन तयार छ । सो कार्यका लागि मात्रै ४ करोड रुपियाँ लाग्ने अनुमान छ ।

मनहरीमा बसपार्क, धादिङ निस्कन दुईवटा बाटोको सपना

मनहरीबाट राक्सिराङ गाउँपालिका ९ खैराङ हुँदै धादिङको मलेखु पुग्ने सडक खण्ड ५२ किलोमिटर छ । त्यसैगरी परेवाभीरकै बाटो भएर अलिक अघि जाँदा कैलाश गाउँपालिकाको सानो डाँडाखर्क र बैकुण्ठ हुँदै धादिङको आदमघाट पुग्ने अर्काे छुट्टै ट्रयाक छ । दुबै ट्रयाकलाई बलियो बनाएर १२ महिना सञ्चालन गर्न सके पश्चिम मकवानपुर र उत्तरीक्षेत्रको धादिङ तर्फका पछाडि पारिएका गाउँहरु आर्थिक समृद्धि हुने र स्थानीय उत्पादनले प्राथमिकता पाउने देखिन्छ ।

परेवाभीरमा पुगेर सडक बनाउन बजेट नपुगेकोबारे गुनासो व्यक्त गर्दै बागमती प्रदेश सभा सदस्य ओमबहादुर ग्लान र राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल ।कैलाश गाउँपालिका अध्यक्ष टंकबहादुर मुक्तान पश्चिम मकवानपुरको मेरुदण्डको रुपमा मनहरी–धादिङ सडकलाई विकास गर्ने र सोही बाटोमा अन्य वडाहरुबाट शाखा बाटोको रुपमा विकास गर्दै जानुपर्ने बताउँछन् । सोही बमोजिम कैलाश गाउँपालिकाले पटक पटक भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाल, नीति तथा योजना आयोग उपाध्यक्ष श्याम बस्नेतसहितका नेताहरुलाई यस क्षेत्रको भ्रमण गराएको अध्यक्ष मुक्तान सम्झिन्नुछन्। ‘पश्चिम मकवानपुरलाई गाँजामुक्त बनाउने र बेमौसमी तरकारी तथा जडिबुटी खेतीका लागि अघि सार्नका लागि धादिङबाट मनहरी जोड्ने बाटो बन्नु जरुरी छ ।’, अध्यक्ष मुक्तानले भने । यसो गर्दा मनहरी गाउँपालिका वडा नं ८ बेलुवास्थित पुलछेउबाट गणेशधारा हुँदै बसढुंगासम्म नयाँ ट्रयाक बनाउने र बसढुंगाबाट आँपखोल्सी जोड्ने पुल बनाएपछि बाटोको दीर्घायु हुने उनले बताए । हाल चलिरहेको प्याङ्चे चैनपुर सडक खण्ड फराकिलो पार्न सकिने अबस्था छैन ।

मनहरीबाट परेवाभीर हुँदै राक्सिराङ तथा कैलाश गाउँपालिका हुँदै धादिङ पुग्ने सडक बनाउनका लागि दर्जनौपटक मुख्यमन्त्री डोरमणि पौडेल, भौतिक पूर्वाधार विकास मन्त्री फुयाल, नीति तथा योजना आयोगका उपाध्यक्ष बस्नेत, आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमकट्टेल, पर्यटन, उद्योग, वन तथा वातावरण मन्त्री अरुण नेपाल लगायतको ध्यानाकर्षण लिखित र मौखिक रुपमा गराइएको सांसद ओमबहादुर ग्लान बताउँछन् । ‘भेटमा सबैले हुन्छ, यो प्रादेशिक महत्वको बाटोको रुपमा अघि सारिनेछ भन्नुभयो’, सांसद ग्लानले भने–‘बजेट सार्बजनिक हुँदा परेवाभीरलाई प्राथमिकता पारिएन ।’

मनहरी–धादिङ सडकलाई २० लाख कि २ करोड

बागमती प्रदेश सरकारले मनहरीबाट धादिङ जोड्ने सडक निर्माण भनेर २० लाख रुपियाँ बजेट किताबमा राखेको छ । यद्यपि त्यो प्रिन्ट मिस्टेक भएर २० लाख मात्र उल्लेख भएको मन्त्रालयले जानकारी दिएको सांसद ग्लानले बताए । २ करोड हुनुपर्नेमा २० लाख मात्र रहेको जबाफ आफूले अर्थमन्त्रीबाट पाएको उनले जानकारी दिए तर । तर, मनहरीदेखि धादिङ भनेर तोकिए पनि कुन खण्डमा के काम हुने हो त्यसबारे भने अन्यौल नै छ ।

काँग्रेसले जितेकाले बजेट नहालिएको हो ?

सामाजिक सञ्जालमा अहिले परेवाभीरमै पुगेर राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले मिडियालाई अन्तरबार्ता दिएको र सांसद ग्लानले परेवाभीरको बाटो हिँडेको फोटो र उनको उद्घोषणसहितका भिडियो सबैले हेरिरहेका छन् । दुबै जनप्रतिनिधिहरुलाई सर्बसाधारणले कमेन्ट गरिरहेका पनि छन् ।

तर, कतिपयले चाहिँ राक्सिराङ गाउँपालिकाका काँग्रेसले निर्बाचनमा जीत हासिल गरेकाले यो खण्डमा नेकपाको सरकारले बजेट दिएन भनेर भनेर टिप्पणी गरिरहेका छन् । यो बिषयबारे सांसद ग्लान भन्नुहुन्छ–‘राक्सिराङमा काँग्रेस मात्रै बस्ने वा परेवाभीरको बाटो काँग्रेस मात्रै हिँड्ने भन्ने जस्तो सोच जोकोहीले लिनु हुन्न ।’ सरकार प्रमुखहरुलाई परेवाभीरको पिरलोका बारेमा बुझाउन नसक्नाले बजेट नपरेको अहिले पनि प्रयत्न जारी रहेको उनको भनाई छ । ‘राजनीतिक आधारमा बजेट हाल्ने कि, आवश्यकताका आधारमा हाल्ने भन्ने लडाइँमा हामी छौँ, त्यसैले यो राजनीतिक बिषय होइन, फिक्का टिकाटिप्पणी जरुरी छैन ।’, सांसद ग्लानले भने ।

अब बर्षा सुरु भयो । फेरि पनि यो खण्डमा खोलाले बगाएर कोही न कोहीको मृत्यु हुने लगभग निश्चित छ । कराउने ठाउँमा यसै क्षेत्रका सांसद ग्लान हुनुहुन्छ । त्यसैगरी राक्सिराङ र कैलाश गाउँपालिका अध्यक्षले पनि होस्टेमा हैँसे गरिरहनु भएकै छ । आम रुपमा पश्चिम मकवानपुरले परेवाभीरको बाटो छिचोलेर मनहरीको बेलुवा बसपार्कबाट गणेशधारा हुँदै परेवाभीरको खण्ड भएर धादिङ निस्कने रात्री बसहरु कुदेको सपना देख्न थालिसकेका छन् । तर, गरिबका सपना हरेक बर्ष परेवाभीरबाट झरेर मरिरहेको छ भने जनप्रतिनिधिहरुको सपना पनि बजेट बक्तब्यमार्फत संसदभवनमै मुर्छित हुनुपरिरहेको अबस्था छ । सपनाहरु मरेको होइनन्, मुर्छित मात्र भएका हुन् । पुनर्जागृत गराएर फेरि भिड्नु र दौडनु त छँदैछ । बाटोमा राजनीति कि, राजनीतिमा बाटो खोजी गर्ने ? बिषयलाई अब साँघुरो बनाउँदै लैजान जरुरी छ ।