nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

धार्मिक पर्व तिजको "हाउडे गीत",उट्पट्याङ शब्द, भिडियो झन उच्छृंखल (हेर्नुहोस् भिडियो सहित)

पोहोर लगाएकी फरिया, छोपिएछ खुट्टा
अहिलेको तीजमा छपक्क कट्टु
कट्टुमा नि, बुट्टा

०००

‘साडी लाउँदा हेर्छ केटा, आँखा तानीतानी
फेसबुकमा अपलोड गर्छन्, सेल्फी हानीहानी
चुरा नाडीमा झन् सेक्सी देखियो
मलाई साडीमा झन् सेक्सी देखियो..।’

०००

‘छोटाछोटा लुगा लाउने, सबै अंग देखाउने
त्यसैमाथि भएन, ट्याटु लेखाउने
बाउको इज्जत छ भने विकृति हटाइदेउ
अब चाइनाले, लामो लामो लुगा बनाइदेउ ।’

अहिले यस्तै हाउडे गीतको भिडियोले युट्युवलाई ‘राताम्य’ बनाएको छ । केहि सातायता मात्र दर्जनौँ यस्ता गीत अपलोड भएका छन्, जसमा भद्दा ठट्यौलीको भरमार छ । उदेकलाग्दो चाहिँ के भने, यी सबै ‘तीज गीत’ हुन् ।

यी गीतको भाकामा तीजको छनकै मिल्दैन । शब्दमा तीजको मर्म उनिएको पाइदैन । नृत्यमा तीजको फ्लेबर फेला पर्दैन । बरु, उत्तेजक र द्विअर्थी शब्द थोपरिएको छ । उच्छृंखल भिडियो बनाइएको छ । लाग्छ, यी गीतहरुले तीजकै धज्जी उडाइरहेका छन् ।

खै मीठास, खै मर्म ?

महिलाहरुले मीठो मसिनो खाने, दिल खोलेर गाउने र उन्मुक्त नाच्ने सप्तरंगी पर्व हो, तीज । तीज गीतको मौलिक भाका छ, मर्म छ ।

त्यसो त कुनै पनि गीत र भाकाले निश्चित परिस्थिति, परिवेश, कालखण्ड, भूगोल आदिको प्रतिनिधित्व गर्छ । तीज गीतको पनि यस्तै मौलिक विशेषता छ । यसको गाउने समयसीमा पनि छ । नाग पञ्चमीदेखि पञ्चमीसम्म तीज गीत गाउने प्रचलन छ । खासगरी महिलामाथि हुने उत्पीडन, ज्यादतीलाई गीतमा उनेर गाइन्छ, तीजमा । महिलाहरुले वर्षभर भोगेका दु:ख, पीडा, व्यथा, अपहेलना, अप्ठ्यारालाई गीतको माध्यामबाट उजागर गर्ने मेसो हो, तीज ।

यहि मेसोमा महिला सशक्तिकरण, जागरणको कुरा पनि उठाइन्छ । खासमा लैंगिक समानताका निम्ति तीज गीतले खास अर्थ राख्छ । तर, अहिले गाइने गीतमा यस्ता कुनै पनि विशेषताहरु झल्किदैनन् ।

युट्युवमा हेर्नुहोस्, अपवाद बाहेक अधिकांश गीतमा तीजको मर्म समेटेको पाइदैन । तीज गीतको नाममा ‘केरा’, ‘ललिपप’ जस्ता द्विअर्थी शब्दावली राखेर बेसुरमा स्वर घुमाइएको छ ।

‘तीजको लहर आयो बरी लै’ जस्ता मीठास र मर्म बोकेका गीतहरुको खडेरी छ ।

गायक-गायिका बन्ने पर्व !

‘तीज गीत’को यो भड्किलो श्रृखलामा चल्तापूर्जा ज्योति मगरदेखि नव-प्रवेशीहरुको ठूलो झुन्ड छ ।

तीज भनेकै ‘गायक बन्ने’ पर्व जस्तो भएको छ । जसले पनि गाएका छन्, जे पनि गाएका छन् । कोहि ‘मलाई विगार्‍यो छोटो जामाले’ भन्दै स्वर घुमाइरहेका छन्, कोहि ‘ख्वाप्पै मुखमा हाल्छु केरा काटेर, हे घुँडा देखियो, जामा फाटेर’ भन्दै उफ्रिरहेका छन् ।

तीज गीतको मर्मलाई बचाउने वा तीजलाई उल्लासमय बनाउने भन्दा पनि ‘गायक बन्ने’ र ‘भिडियोमा अनुहार देखाउने’ लोभले उनीहरुलाई कुतकुत्याएको प्रष्ट हुन्छ ।

तीजको तिथी नजिकिएसँगै को भन्दा को कमको शैलीमा ‘तीज गीत’ रेकर्ड गर्ने, भिडियो बनाउने र युट्युवमा अपलोड गर्ने होड चलेको छ । यसरी अपलोड भएका तीज गीत हेर्दा लाग्छ, हाम्रो समाज गिताङ्गेहरुको ठूलो झुन्ड हो । यहाँ गायक/गायिका पैदा गर्ने कारखाना नै छ ।

‘तीज गीत’ भनेर अपलोड भएका धेरैजसो भिडियो हल्काफुल्का मनोरञ्जनले भरिएको छ । नानाथरी शब्द ओकलेर होस् वा अनेकन नौटकी देखाएर, जवरजस्ती हँसाउने प्रयास गरिएको छ । हाँस्य टेलिशृंखलामा देखिने केहि कलाकारहरुले यसमा राम्रै ‘भाउ’ पाएका छन् । उनीहरुको उट्पट्याङले ‘तीज गीत’ रत्यौली जस्तो हुन पुगेको छ ।

यी कलाकारहरुलाई ‘स्पेश’ दिनका लागि गीतको भिडियोलाई नाटकीय बनाउन खोजिएको छ । गीतसँग तालमेल नै नमिल्नेगरी संवाद र दृश्यहरु राखिएको छ । विचित्रको गेटअप, अनौठो हाउभाउ र बेढंगको प्रस्तुतीले ‘तीज गीत’माथि ठट्टा गरिएको छ ।

कोहि मालामाल, कोहि गोलमाल

यतिबेला पार्कदेखि पार्टी प्यालेससम्म धमाधम तीज गीतको दृश्यांकन भइरहेका छन् । युट्युवमा त्यसैको भिडियो अपलोड भइरहेका छन् । यस्तो चटारोले पशुपति शर्मा, ज्योति मगरदेखि शंकर विसीसम्मलाई छोपेको छ । पशुपति शर्माहरु गीत गाउनमा भ्याइ नभ्याइ छन् । ज्योति मगरहरु अभिनय गर्नमा भ्याइ-नभ्याई छन् । शंकर विसीहरु निर्देशन गर्न र नाच्न भ्याइ नभ्याइ छन् । एकाध हास्य कलाकार पनि भाग्यमानी ठहरिएका छन् । उनीहरुका निम्ति तीज फलिफपै-फलिफाप सावित भएको छ ।

यहि मेसोमा एकथरी गायक/गायिका छन्, जसको उद्देश्य ‘तीज गीत गाउनु’ जस्तो देखिन्छ । तर, उनीहरुलाई न सूरले साथ दिएको छ, न स्वरले । ढंग नपुगेपनि स्वर घुमाएका छन् र, म्युजिक भिडियो बनाएका छन् । ती म्युजिक भिडियोहरु युट्युवमा खासै रुचाइएको भने छैन । भनिन्छ, एक सालको तीज गीतमा मात्र तीन करोड रुपैयाँ बराबरको खर्च हुन्छ ।

यसरी गोलमालमा तीज गीत गाएर उनीहरुले ‘नेम र फेम’ पाउने छाँट देखिदैन । संस्कृति धान्नका लागि पनि उनीहरुले पौरख गरे जस्तो लाग्दैन । गीत रेकर्ड, म्युजिक भिडियो निर्माण आदिमा यत्तिका खर्च गरेर त्यसको प्रतिफल उठ्ने स्रोत पनि देखिदैन ।

यी ‘तीज गीत’ सुन्दा र त्यसको भिडियो हेर्दा प्रश्न उठ्छ, आखिर केका लागि यत्तिका खर्च गरिएको हो ? लोकप्रियताका लागि ? चर्चाका लागि ? लगानीको प्रतिफल उठाउनका लागि ? संस्कृति धान्नका लागि ? मनको बह पोख्नका लागि ?

महिला भर्सेस पशुपति शर्मा

महिलाहरुको वेदना पोख्ने, महिला सशक्तिकरणको आवाज उठाउने तीज गीतमा पशुपति शर्मा हावी छन् । सम्पूर्ण महिला गायिकाभन्दा उनको पल्ला भारी छ । यसपाली मात्र उनले लगभग अढाई दर्जन तीज गीत गाएको बताइन्छ । तर, उनको तीज गीतमा तीजको सुक्ष्म मर्म पनि फेला पर्दैन । पशुपतिको अधिकांश गीत ठट्यौली जस्तो लाग्छ । यसपाली पनि विगतकै लय समातेका छन्, उनले ।

‘मेयरनीको पोई’, ‘मेरो छोरा दुई नम्बरी’, ‘दियौ चुरोट’ जस्ता उनका गीतमा तीजको रंग त देखिन्छ, रस भेटिदैन । तर, युट्युवमा सर्वाधिक भ्युज पाउने तीज गीतको पंक्तिमा पशुपति निकै अगाडि छन् ।

जो उछृंखल, उही हिट

तीजमा बढी भन्दा बढी गीत गाउने पशुपति शर्मा हुन् । तर, ‘हिट’ बन्ने होडमा उनलाई उछिनेकी छिन्, ज्योति मगरले । युट्युवमा सर्वाधिक भ्युज पाउने तीज गीत खोज्नुभयो भने, ज्योति मगरकै गीत फेला पर्नेछ ।

उनले तिलक ओलीसँग गाएको गीत ‘केरा काटेर’ यो आलेख तयार गर्दासम्म २४ लाख बढी पटक हेरिएको छ । यसै वर्ष सार्वजनिक गरिएको हो यो गीत ।

पशुपति शर्माको ‘भविष्यवाणी’ शीर्षकको तीज गीतले ११ लाख बढी भ्युज पाएको छ । पशुपति शर्मा र शान्ति श्री परियारले गाएको ‘मेरो छोरो दुई नम्बरी’ भन्ने ९ लाख बढी पटक हेरिएको छ । पशुपतिकै अर्को गीत ‘पहिलेका कस्ता हुन्थे र’ भन्ने गीतले पनि ९ लाख बढी भ्युज पाएको छ । कोमल वलीको चाहिएन पोइ गीतको ७ लाख हाराहारी भ्युज छ ।

यस हिसावले हेर्दा युट्युवमा तीनै गीतले दर्शक बढी पाएका छन्, जो उच्छृंखल छन् ।

सिन्धु मल्लको तीज गीत ‘अहिलेको तीज’ भने अपवाद हो, जो उछृङ्खल नभएर पनि १० लाख बढी भ्युज पाएको छ । यसमा वर्षा सिवाकोटी र वर्षा राउतलाई फिचरिङ गराइएको छ । त्यस्तै, रेशम सापकोटा र देवी घर्तीले गाएको ‘बृद्धाआश्रम’ गीत पनि १० लाख भन्दा बढी पटक हेरिएको छ ।

कथाले के माग्छ ?

हिजो महिलाहरुमा जुन वेदना थियो, त्यो आज फेरिएको छ । त्यसैले हिजो वेदना पोखिन्थ्यो, त्यसैलाई आज दोहोर्‍याउनुपर्छ भन्ने छैन ।

हिजोका महिलाले बाँचेको परिवेश र आजको महिलाले बाँचेको परिवेश बद्लिएको छ ।

त्यसो भन्दैमा ‘लग्यो ड्राईभरले, जायजेथा कुम्ल्याएर पोइल हिँडिछ’, ‘सेलरोटी बेच्दा बेच्दै राजनीतिमा लागिन्, झ्याप्पै मेयर पड्काइन्, मेरी बुढी जागिन्’, ‘ए होइ होइ शिव, चाहिएन पोई’, ‘छोटो छोटो मिनिस्कर्ट लगाउँदा क्या सेक्सी देखिन्छ’ जस्ता गीतहरुले महिलाहरुको बद्लिदो अवस्था दर्शाउँछ र ?

हेर्नुहोस् थप अरु भिडियोहरुः हेर्नुहोस् थप अरु भिडियोहरुः

शिव मुखिया, अनलाइनखबरबाट