nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

दुई दिनको वर्षाले कुलेखानी ४ मिटर भरियो


जलाधार क्षेत्रमा भारी वर्षा हुँदा २ दिनमा कुलेखानी जलाशयको पानी ४ मिटर भरिएको छ । शनिबारको वर्षाले जलाधार क्षेत्रको पालुङ, किटेनी, चित्लाङ, फाखेल लगायत खोलाहरुमा बाढी आएपछि कुलेखानीको सतह तीव्र गतिमा बढेको हो । 
गत शनिबार कुलेखानी जलाशयको सतह समुद्र सतहदेखि १५ सय ९ मिटर रहेकोमा सोमबार १५ सय १३ मिटर ६३ सेन्टीमिटर पुगेको छ । शनिबार जलाधार क्षेत्रमा बाढी आउँदा कुलेखानीको सतह एकै दिन ३ मिटर बढेको थियो । आइतबार कुलेखानीको सतह १५ सय १२ मिटर ५४ सेन्टीमिटर रहेको थियो । 
वर्षयाममा जम्मा गरेर हिउँदमा विद्युत निकाल्न प्रयोग गरिने मुलुककै एकमात्र जलाशय भरिन अझै १७ मिटर बाँकी छ ।  कुलेखानीको पानी समुद्र सतहदेखि १ हजार ५ सय ३० मिटरमा भरिन्छ । त्यसपछि ‘ओभर फ्लु’ हुने पानीलाई बाँधको माथि सिमेन्टको बोरा राखेर थप ३० सेन्टीमिटर जम्मा गर्न सकिन्छ । 
अघिल्लो साताको वर्षाले कुलेखानी एक सातामा २ मिटर भरिएको थियो । गत साताको अन्त्यमा भएको भारी वर्षाले कुलेखानीको माथिल्लो क्षेत्रका खोलाहरुमा बाढी आउनुका साथै पानीको वहाव तीव्र भएकाले कुलेखानीमा पानी जम्मा हुने क्रम तीव्र भएको कुलेखानी प्रथमका इन्जिनियर लक्ष्मणप्रसाद फुँयालले  जानकारी दिए । अहिले कुलेखानीको पानी प्रति घण्टा ८ सेन्टीमिटरको दरले वृद्धि भइरहेको उनले बताए  ।
जलाधार क्षेत्रमा प्रशस्त स्थानमा पानीको मूल फुटेकोले कुलेखानीमा यस वर्ष पानी भरिन सक्ने सम्भावना रहेको आयोजनाका इलेक्ट्रिसियन मानबहादुर लामाले बताए । ‘माथि–माथि मूल नफुटी कुलेखानी भरिँदैन, अस्तिको पानीले मुल फुटेपछि भरिने सम्भावना देखिएको छ’ उनले भने । कुलेखानी जलाशय भरिँदा मुलुकमा लोडशेडिङ हुने सम्भावना कम हुन्छ । 
२०७२ को विनाशकारी भूकम्पपछि कुलेखानी भरिएको छैन । २०७१ सालमा भारतमा आएको हुदहुद आँधीका कारण प्रशस्त वर्षा हुँदा कुलेखानी भरिएको थियो । २०७२ को पुसमा कुलेखानीमा पानीको सतह १ हजार ५ सय २६ दशमलब ९७ मिटरमा सतह पुगेर स्थिर भएको थियो । त्यस्तै गत वर्ष १ हजार ५ सय २३ दशमलव ६७ मिटरसम्म पुगेको थियो । 
कुलेखानी जलविद्युत् आयोजना पहिलो र दोस्रोबाट क्रमशः ६० र ३२ गरी ९२ मेगावाट विद्युत् उत्पादन हुँदै आएको छ  भने १४ मेगावाट क्षमताको कुलेखानी तेस्रो निर्माणाधीन छ । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)