Sunday, 21st June, 2026
वि.स.

थाहा टाइम्सको प्रकाशकीय जिम्मा नेगीलाई

KN-1622690989.jpg

मकवानपुरको थाहा नगरपालिकाबाट लामो समयदेखि प्रकाशित हुँदै आएको थाहा टाइम्स अनलाइन पत्रिकाको प्रकाशकीय जिम्मेवारी पत्रकार कुमार नेगीले लिएका छन् । थाहा टाइम्सको संस्थापन समयदेखि नै प्रधान सम्पादकको भूमिकामा रहेका नेगीले गत १५ जेठ गणतन्त्र दिवसबाट प्रकाशकीय जिम्मेवारी समेत लिएका हुन् । यसअघि सो अनलाइनको प्रकाशकीय जिम्मेवारीमा सुरजकुमार भुजेल रहेका थिए । 

लामो समयदेखि थाहानगरमा रहेर काम गर्दै आएका नेगी र भुजेलको आपसी सहमतिमा दुबै संलग्न रहेको थाहा टाइम्स अनलाइन र विकास खबरपत्रिका साप्ताहिकको प्रकाशन तथा सम्पादन जिम्मेवारी हेरफेर गरिएको नेगीले बताए । सहमति अनुसार विकास खबरपत्रिकाको सम्पादकीय र प्रकाशकीय जिम्मेवारीमा अब भुजेल मात्र रहनेछन् । यसअघि नेगी विकास खबरपत्रिकाको समेत सम्पादक रहेका थिए । 

विगत २५ वर्षदेखि पत्रकारितामा सक्रिय नेगीको २०६० सालबाट भुजेलसँग सहयात्रा अघि बढेको थियो । भुजेलले २०६५ सालमा विकास खबरपत्रिका प्रकाशन समूहको नामबाट विकास खबरपत्रिका साप्ताहिक प्रकाशन शुरु गर्दा नेपाल पत्रकार महासंघको जिल्ला कार्यसमिति सदस्यको हैसियतले नेगीले उद्घाटन गरेका थिए । त्यसबेला नेगीले पत्रिकाको सम्पूर्ण प्रकाशकीय तथा व्यवस्थापकीय जिम्मेवारी लिन भुजेललाई सुझाएका थिए । सोही समयदेखि नेगी पत्रिकाको सम्पादक रहँदै आएका थिए । 

थाहा टाइम्सको प्रकाशकीय जिम्मेवारी लिएपछि पत्रकार नेगीले सो अनलाइन पत्रिकालाई स्थानीय समुदायको नजिकको सञ्चार सहयात्रीको रुपमा अघि बढाउने प्रतिवद्धता व्यक्त गरेका छन् । सञ्चार पत्रकारिताको स्वतन्त्र र सार्वभौम चरित्रलाई आत्मसात गर्दै सो अनलाईनको विगतको लोकप्रियतालाई कायम राख्ने र थप परिस्कृत गर्ने उनले बताए । 

पत्रकार नेगीले थाहा टाइम्सलाई आवश्यक सूचना, समाचार, विज्ञापन, लेख आदि उपलब्ध गराएर सहयोग गर्न र आवश्यक सल्लाह दिनसमेत सरोकारवालालाई सबैलाई आग्रह गरेका छन् । 

एभिन्यूज टेलीभिजन र राजधानी राष्ट्रिय दैनिकमा आवद्ध नेगी हाल राष्ट्रिय समाचार समितिमा समेत कार्यरत छन् । नेगीसँग हेटौँडाबाट प्रकाशित नारायणी राष्ट्रिय दैनिकको प्रधान सम्पादक र शक्ति एफ. एम. को स्टेशन म्यानजेर भई काम गरेको अनुभव समेत छ । थाहानगरमा यसअघि उनले रेडियो पालुङ, बाइरोड साप्ताहिक, शान्तिपुर दैनिक, दामन एफ. एम. लगायत सञ्चार गृहमा नेतृत्व तहमा काम गरिसकेका छन् ।