nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरको सडकमा अर्को "बल–मिच्याई"

भूकम्पपछिको पुर्ननिर्माणले तिब्रता पाएसँगै टिपरले त्रिभुवनराजपथको थाहानगर खण्डमा जोखिम बढाएको छ । थाहानगरमा निर्माण सामाग्रीको खपत बढ्नू, विभिन्न विकास कार्य थपिनूलगायतका कारणले सडकमा तुलनात्मक रुपमा टिपर आवतजावत गर्ने संख्या दोब्बर÷तेब्बर बढेको हो । खास गरेर  वैधानिक वा अवैधानिक रुपमा संचालनमा रहेका ढुङ्गा, गिटी, वालुवालगायत खानी संचालनमा आउनु, ट्याक्टर भन्दा ढुवानीमा किफायती हुनु लगायतका कारण टिपरको संख्या दिनदिनै बढेको हो । एकातिर टिपरको संख्या थपिनू र अर्कातिर तिब्रगतिमा टिपर संचालन हुनूले बजार र विद्यालय क्षेत्रमा अत्याधिक जोखिम बढेको हो ।

‘मान दिनेलाई मान दिने हो, सान दिनेलाई हान दिने हो’, त्रिभुवन राजपथको थाहानगर हुँदै गुडिरहेको एउटा टिपर अगाडि यस्तै उत्ताउलो भनाई लेखिएको थियो । घटना अलि अघिको हो, १७ भदौ विहान थाहा नगरपालिका वडा नंम्बर ६ की मनिषा विडारी (१२) ले टिपरलाई कुनै सान दिएकी      थिइनन् । टिपर आएको देखेपछि सडक भित्तामा सेपिएर बसेकी विडारीलाई     टिपरले ठक्कर दियो, उनी घाइते भइन् अन्ततः ज्यान गयो । उनलाई ना ५ ख २५४६ नम्बरको टिपरले ठक्कर दिएको थियो । थाहानगरको जनकल्याण मावितिरबाट हुइँकिएर आएको ना २ क १५०२ नम्बरको टिपर खैटेखोला पुल नजिकैको सडकबाट छेउलाग्यो । घटनामा सडक छेवैमा रोकिराखेको बा ३७ प ४४  नम्बरको मोटर साइकल समेत      च्यापियो । दुर्घटनामा मोटराइकल क्षति भयोे, टिपरले बल्ड्याङ खायो र चालक सामान्य घाइते भए । स्थानीयहरु त्यही बेलाबाट टिपरदेखि आतंकित भए र, भन्न थाले ‘टिपर आतंक ।’ 

मकवानपुरमा टिपर दुर्घटना ह्नु, मानिसलाई ठक्कर दिनू यो पहिलो र एक मात्र घटना भने होइन । जिल्लामा टिपरसंग सम्बन्धीत यस्ता घटनाहरु कयन भएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क छ । टिपरसंग सम्बन्धीत घटना  चालकको लापरबाहीकै कारण भएको प्रहरी तथ्याङ्कले देखाउँछ । अधिकांश घटना तिब्र गतिका कारण भएको प्रहरी    रिपोर्ट छ । थाहा नगरपालिका क्षेत्रमा दुई वर्ष यता ८ वटा ठूला सवारी साधन दुर्घटना भएको छ भने १० जनाको मत्यु भएको पालुङ प्रहरीको तथ्याङ्क छ ।  मृत्यू हुनेहरु अधिकांश ट्रक र टिपर दुर्घटनामा परेका हुन् । 

पालुङ बहुमुखी क्याम्पस थाहानगरका प्रध्यापक दिपक विष्टले भने–‘बाईक चलाईरहेको अवस्थामा टिपर अगाडी वा पछाडी देखे टाढैबाट छेउ लागेर बस्नुपर्छ ।’ अन्य सवारी साधनको तुलनामा टिपर चलक प्रायः युवापुस्ता हुनाले पनि तिब्रगतिमा हाँक्ने गरेको अर्का प्रध्यापक    राजन मिश्रको बुझाई छ । हाइड्रोलिक इञ्जिनका ती टिपरका अधिकांश चालक कम अनुभवी भएकोले पनि बढी दुर्घटना भइरहेको विभिन्न तथ्याङ्कले देखाएको  छ । 

टिपरका कारण भएको धुवा धुलोले दैनिक पसल सञ्चालनमा समेत गह्रोे भएको थाहा नगरपालिका ३ सिर्जना बस्तीका मनलाल गोपाली दुखेसो पोख्छन् । चालकहरुलाई विस्तारै हाँक्न अनुरोध गरेको बताउँदै व्यवशायी गोपाली भन्छन्–‘मान्दै मान्दैनन् र झर्किएर जवाफ  लाउँछन् ।’ टिपर चालकलाई साहुले ढुवानी टिपको आधारमा पैसा दिन्छन् । सडक दुरीको आधारमा टिपको एक हजार देखि पन्ध्रसयभन्दा बढिसम्म चालकले पाउँछन् । बढि टिप भ्याउनका लागि चालकहरु सक्दो सवारी हाँक्छन् फलस्वरुप दुर्घटनाको जोखिम झन  बढ्छ । 

थाहा नगरपालिकाको शिखरकोट आसपास, बज्रवाराही, चित्लाङ आग्रा र टिष्टुङ तथा छिमेकी भिमफेदी गाउँपालिका जोड्ने त्रिभुवन राजपथ सडक भएर     करिब तीनसय बढी सवारी गुड्छन् भने यस सडकमा दैनिक पचास भन्दा धेरै पटक टिपर ओहोर दोहोर गर्छन् । थाहानगरमा धादिङ र हेटौंडाका विभिन्न खानीहरूबाट ढुंगा, गिट्टी बोकेर टिपर आईपुग्छन् । थाहानगरको घट्टेचौरमा संचालनमा ल्याइएको गोरखनाथ बालुवा प्रशोधन केन्द्रका लागि बालुवा  ओसारपसारमा पनि टिपर संचालनमा रहेका छन् । 

ढुवानीका साधनहरूको लापर्वाहीका ढंगबाट तिब्रगतिमा टिपर हाँकेकोमा स्थानीयहरुले खबरदारी थालेका छन् । केही टिपरमा लोड भएको निर्माण सामाग्री नढाकिकनै ढुवानी गरिएका कारण धूलो घरभित्र पसेको भन्दै उनीहरूले रिस  गरेका छन् । थाहा नगरपालिकाका प्रमुख लवशेर विष्ट ‘टिपर आतंक’बाट मुक्त गर्नेबारे छलफल भएको बताउँछन् । थाहानगरमा यातायात चाप बढेसंगै व्यवस्थित पार्किङ स्थल नहुनुले पनि दुर्घटना बढेको स्थानीय राखी लामाको भनाइ छ । 

सवारी दुर्घटनाको कारण भने यति मात्र हैन । साँघुरो सडक, तीव्र गति, सडक छेउछाउमा निर्माण सामाग्री, लामो समयसम्म थुपार्नु, सडक छेउछाउमा फुटपाट व्यवस्थापनका लागि नगरपालिकाको दीगो योजना नहुनुुले पनि दिनदिनै थाहानगरमा सडकमा जोखिम बढ्दै गएको हो ।

जोखिम घटाउन प्रहरीसंग सहकार्य हुन्छ– नगरप्रमुख विष्ट

थाहानगर क्षेत्रमा टिपरको तिब्रगतिका कारण हुने जोखिम घटाउने विषयमा इलाका प्रहरी कार्यालय पालुङसंग समन्वय गरेर नियन्त्रणको प्रयास थालिने थाहा नगरपालिका प्रमुख लवशेर विष्टले बताएका छन् ।  दुर्घटना न्यूनीकरण गर्न थाहानगरको मुख्य सडक छेउछाउको टहरा तथा निर्माण समाग्री कानून बमोजिम हटाउन सूचना जारी गरिरहेको समेत  नगरपालिका प्रमुख विष्टले प्रतिक्रिया दिए । 

मुख्य राजमार्ग साघुरो भएको र सडक पेटी तथा पार्किङ समेत व्यवस्थित नभएको भन्दै थाहानगर कार्यपालिकाले टहरा हटाउने विषयमा यस अघि नै निर्णय गरिसकेको छ । निर्णय कार्यान्वयनका लागि सूचना टाँस बाहेक अरु कुनैपनि कार्य हुन सकेको छैन  । प्रमुख विष्टले भने–‘निर्माण सामग्री र टहरा मात्रै नभई अब तरकारीको सिजनका बेला सडकमै तरकारी संकलन गर्ने चलनले झन समस्या निम्तिनेछ त्यसलाई समेत व्यवस्थित गर्ने गरी हामीले सोचिरहेका छौं ।’

नगर क्षेत्रका व्यस्थ सडकहरुमा अटेर गरी टहरा राखी नहटाउने र निर्माण सामाग्री थुपार्नेलाई व्यवस्थित गर्न नगरपालिका लागि रहेको प्रमुख विष्टको भनाइ छ । एक हप्ता भित्रमा नगर कार्यपालिकाको बैठक बसी हाम्रो निर्णय कत्तिको कार्यन्वयन भयो भएन समिक्षा गरि अघि बढ्छौं, विष्टले भने । निर्णयको महिनौसम्म कार्यान्वयन नहुने निर्णय अब कहिलेबाट होला ? विकासखबरको जिज्ञासामा प्रमुख विष्टले प्रतिवद्धता व्यक्त गदै भने–‘हामीले पहल पहिलादेखि नै गर्दै आएकोले अब चाडै नै हट्ने छ ।’

सानालाई गन्दैनन्, सन्देश पनि पढ्दैनन्

त्रिभुवन राजपथको थाहानगर सडकमा संचालन हुने सवारी साधनले साना दुई, तीन तथा चार पाङ्ग्रे  सवारीलाई हेपेर हाँक्ने गरेको बताइएको छ । नगर क्षेत्रको सडक भएर गुड्ने खास गरी टिपर चालकले यस्तो व्यवहार गर्ने गरेको गुनासो आएको हो । एक मोटरसाइकल चालकले भने–‘सडक     फराकिलो हुँदाहुँदै पनि साना सवारीलाई तर्साउँदै हाँक्ने गर्छन, यसो गर्दा ठक्कर दिनै पर्दैन आत्तिएर दुर्घटना हुन सक्छ ।’ उनले थपे–‘आफूलाई खै के ठान्छन्, साना सवारीलाई त गन्दै गन्दैनन् ।’

यसैबीच थाहानगरका विभिन्न क्षेत्रमा राखिएको ट्राफिक सचेतनाका सन्देशहरु सवारी चालकहरुले पढ्ने नगरेको गुनासो छ । विद्यालय क्षेत्रमा राखिएको बोर्डहरुलाई ख्याल नै  नगरी सवारी साधन हाँक्ने गरेको अभिभावक तथा शिक्षकले बताएका    छन् । थाहा नगरपालिका वडा नंम्बर ४ मा रहेको हिमालयन बोर्डिङ स्कूलले राखेको ‘विद्यालय क्षेत्र’ अंकित बोर्ड त सावारी साधनकै ठक्कबाट ढलेको बताइएको छ । यसरी सन्देश पनि नपढ्ने तथा ट्राफिक नियम पालना नगरेपछि नगरमा दुर्घटनाको जोखिम दिनदिनै बढेको छ । 

यसपाली मात्रै थाहा नगरपालिकाको आर्थिक सहयोगमा इलाका प्रहरी कार्यालय पालुङले नगरका विभिन्न बजार क्षेत्रमा ट्राफिक सचेतनाका सन्देश तथा चिन्ह राखीएको इलाका प्रहरी कार्यालय पालुङका प्रमुख विरेन्द्र पासवानले बताए ।
 



https://thahatimes.com/public/images/users/26166321_736678939864359_-1516519321.jpg

जनक तामाङ

janaklama415@gmail.com

तामाङ,थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको थाहानगरमा रहेर पत्रकारिता गरिरहेका छन् ।