Wednesday, 26th June, 2024
वि.स.

झम्केश्वरी माविमा छात्रा, विपन्न र जेहेन्दारलाई छात्रवृत्ति

jhamkeswori-1717939909.jpg

थाहा नगरपालिका–१ स्थित झम्केश्वरी माविमा छात्रवृत्ति प्रदान गरिएको छ । नेपाल सरकारको आधारभूत तह छात्रा छात्रवृत्ति, वृन्दा स्मृति छात्रवृत्ति र विपन्न छात्रवृत्ति २५ जेठमा एक साथ प्रदान गरिएको हो ।

विद्यालय प्राङ्गणमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रदिप प्रधानको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नगर शिक्षा अधिकारी माधवविक्रम मल्लले कक्षा–८ सम्मका सबै छात्राहरुलाई रु. ४०० का दरले छात्रवृत्ति प्रदान गरेका थिए ।

त्यसैगरी वृन्दा स्मृति छात्रवृत्ति कोषको रु. २,००,००१ अक्षयकोषबाट कक्षा ८ को परीक्षामा प्रथम हुने विद्यार्थीलाई रु. २,५०० बराबर नगद पुरस्कार प्रदान गरिएको थियो । उक्त कोषबाट वर्षेनी एसईई र कक्षा ८ मा प्रथम हुने विद्यार्थीलाई वृन्दा स्मृति प्रोत्साहन छात्रवृत्ति  प्रदान गरिँदै आएको छ । काठमाण्डौँ लाजिम्पाट निवासी सुवर्ण श्रेष्ठले माता वृन्दा श्रेष्ठको स्मृतिमा करिव २ दशकअघि अक्षयकोष स्थापना गरी प्रोत्साहन छात्रवृत्ति शुरुवात गरेका थिए ।  त्यतिबेलै उनले विद्यालयमा अहिले प्रयोगमा रहेको बालमैत्री ५ वटा धारा निर्माण, वृन्दा  हल निर्माण र ५ सेट कम्प्युटर सहयोग गरेका थिए ।

यस वर्षदेखि थाहा–४ किटेनी घर भई हाल बेलायत रहेका सचिन गौतम र जापान रहेकी सचिना गौतमले झम्केश्वरी  माविका विपन्न परिवारका छात्र–छात्राहरुका  लागि  पूर्ण छात्रवृत्ति शुरु गरेका छन् । उनीहरुका आमाबुवा सरिता गौतम र भद्रध्वज गौतमले विद्यालयमा आयोजित कार्यक्रममा ५ जना छात्र–छात्रालाई वर्षभरि लाग्ने सबै खर्च बराबरको छात्रवृत्ति प्रदान गरेका थिए ।

झम्केश्वरी माध्यमिक विद्यालयले विद्यालयमा अध्ययनरत विपन्न परिवारका सबै विद्यार्थीहरुलाई छात्रवृत्ति उपलब्ध गराउने लक्ष्य लिएको र विभिन्न संघसंस्था तथा व्यक्तिहरुसँग सहकार्यको प्रक्रिया अघि बढाइरहेको विद्यालयका सूचना अधिकारी जर्म श्रेष्ठले बताए । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)