krishi-4-1744105937.jpg
Sunday, 18th May, 2025
वि.स.
Sram-Suchana-1737867666.jpg

झम्केश्वरी माविमा छात्राबास निर्माण हुँदै, साँसद बर्तौलाले गरे शिलान्यास

sila-1744105062.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १ स्थित झम्केश्वरी माध्यमिक विद्यालयमा सुविधायुक्त छात्राबास निर्माण हुने भएको छ । संघ सरकारको १ करोड रुपैयाँ लागतमा निर्माण हुन लागेको ६ कोठे छात्राबास भवनको संघीय सांसद तथा नेपाल कम्युनिष्ट पार्टी एमालेका प्रमुख सचेतक महेश कुमार बर्तौलाले एक कार्यक्रमबीच शिलान्यास गरे । 

निर्वाचन प्रचारको समयदेखि नै ‘एक पालिका, एक छात्रावास’को चर्चा गर्दै आएका साँसद बर्तौलाले आफ्नो  सोही  अभियानअन्तर्गत झम्केश्वरीमा छात्रावास निर्माणको कार्य हुन लागेको बताए । 

भवन निर्माणको ठेक्का एलन निर्माण सेवाले पाएको छ । आउँदो असार मसान्तसम्ममा भवन निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको विद्यालयका प्रधानाध्यापक गणेशमान श्रेष्ठले जानकारी दिए । हाललाई ५१ जना विद्यार्थी बस्न मिल्नेगरी छात्रावास निर्माण हुन लागेको प्रधानाध्यापक श्रेष्ठको भनाइ छ । छात्राबास भवन शिलान्यास कार्यक्रममा बजेटका लागि संघ सरकारलाई धन्यवाद दिँदै उनले आगामी दिनमा छात्राबासको थप सेवा र व्यवस्थापनका लागि आवश्यक सहयोगका लागि आग्रहसमेत गरेका थिए ।

छात्राबास भवन शिलान्यास कार्यक्रममा थाहा नगरपालिकाका उपमेयर भरत गोपाली, झम्केश्वरी माविका सल्लाहकार सुरेन्द्रमान प्रधान, इलाका प्रहरी कार्यालय पालुङका प्रमुख सविनबाबु अर्याल, समाजसेवी बिमलकुमार ढकाल, शिक्षक, अभिभावक लगायतको उपस्थिति रहेको थियो । 

झम्केश्वरी माध्यमिक विद्यालयमा बालविकास केन्द्रदेखि कक्षा–१० सम्म पढाई हुन्छ । २ देखि साढे २ घण्टाको पैदल यात्रा गरी कैलाश गाउँपालिका, इन्द्रसरोवर गाउँपालिका, थाहा नगरपालिकाको ४ र ५ नम्बर वडाबाट समेत पढ्नका लागि विद्यार्थी आउने गरेका छन् । विद्यालय तहको शिक्षा लिनकै लागि विद्यार्थी कोठा भाडामा लिएर बस्न बाध्य छन् । छात्रावास निर्माण पश्चात् घण्टौं पैदल यात्रा गरेर आउने विद्यार्थी र कोठा भाडामा बस्न बाध्य विद्यार्थीलाई राहत हुने विद्यालयका सूचना अधिकारी जर्म श्रेष्ठले बताए ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०