nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 24th April, 2024
वि.स.
1000043965-1707579226.jpg

अन्तत: मकवानपुरको दश स्थानीय तह यस्तो बन्यो 

Makawanpur-1478685634.jpg

मकवानपुर जिल्लाको स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिले १० स्थानीय तह गठनको प्रस्ताव गरेको छ । एक उपमहानगरपालिका, एक नगरपालिका र ८ गाउँपालिका गठनको प्रस्तावसहितको प्रतिवेदन स्थानीय तहको संख्या र सीमाना निर्धारण आयोगलाई बुझाइएको हो ।

जिल्ला विकास समिति मकवानपुरको नेतृत्वमा गठन भएको प्राविधिक समितिले बुझाएको प्रतिवेदनमा हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिका गठनको प्रस्ताव गरिएको छ । यसैगरी बकैया, कैलाश, बाग्मती, भीमफेदी, मनहरी, राक्सिराङ, इन्द्रसरोवर र मकवानपुरगढी गाउँपालिका गठनको प्रस्ताव गरिएको छ ।

थाहा नगरपालिका

साविकको थाहा नगरपालिकामा थप तीन गाविस गाभिनेछन् । प्रतिवेदनमा आग्रा, टिष्टुङ र चित्लाङ गाविस गाभ्ने प्रस्ताव गरिएको छ । ४० हजार रहेको थाहा नगरपालिकाको केन्द्र दामन इन्द्रायणी चौरलाई प्रस्ताव गरिएको छ ।

नगरपालिकाका लागि सबै भूभागमा पर्यटकीय क्षेत्र रहेको र त्यसको विकास गर्न सकिने लेखिएको छ । प्रस्तावित यस नगरपालिकामा अहिले ५२ वटा पीच भएका सडक छन् भने ग्राभेल भएका ९९ वटा सडक छन् । यस्तै १ सय ५८ वटा कच्ची सडक छन् । त्यसमध्ये अहिलेको आग्रा गाविस विकासका दृष्टिकोणले पछाडि परेको तथ्यांकले देखाएको छ । प्रस्तावित थाहा नगरपालिका सिंचाइमा पछाडि छ । प्रस्तावित यस नगरपालिका सिंचाइ सुविधाविहीन नगरपालिका हुनेछ ।

तर, विद्युतीकरणमा भने अगाडि देखिएको छ । नगरपालिकाभित्र पर्ने अहिलेका गाविसहरुमा समेत कम्तिमा ८० प्रतिशत विद्युतिकरण भइसकेको प्रतिवेदनमा उल्लेख छ । यस्तै यस नगरपालिकामा २ सय ५५ वटा साना उद्योग छन् । तर एउटा पनि ठूला उद्योग छैन । एउटा पनि होटल छैन । तर यो पर्यटकीय दृष्टिकोणले सम्भावना बोकेको क्षेत्र हो । दामन, पालुङ, चित्लाङ सहितको क्षेत्र पर्यटकीय तथा व्यावसायीक खेतीका लागि उर्वर भूमि रहेको प्रतिवेदनमा उल्लेख छ ।

इन्द्रसरोवर गाउँपालिका

मकवानपुर जिल्ला प्राविधिक समितिले साविकका कुलेखानी, मार्खु, सिस्नेरी र फाखेल गाविसहरुलाई गाभेर इन्द्रसरोवर गाउँपालिका गठन गर्ने प्रस्ताव गरेको छ । यसअघि यस गाउँपालिका अन्तरगत ईपापञ्चकन्या र कोगटे गाविसलाई पनि राखिएको थियो । तर अहिले भएको नयाँ प्रस्तावमा उति गाविसलाई हटाइएको छ ।

कुलेखानी बाहेक यस गाउँपालिकामा पक्की सडकको दुरी निकै कम छ । यस्तै ग्राभेल गरिएको सडकको दूरी पनि करिब ५० किलोमिटर मात्र छ । तर करिब ८० प्रतिशत घरमा विद्युतीकरण भएको छ । विकासका पूर्वाधारको राम्रो विकास नभएपनि प्रस्तावित गाउँपालिका पर्यटकीय क्षेत्र तथा तरकारी खेतीको उच्च सम्भावना रहेको प्रतिवेदनमा उल्लेख छ ।

कैलाश गाउँपालिका

प्राविधिक समितिले साविकका गाविसहरु कालिकाटार, भार्ता, गोगने, डाँडाखर्क र नामटार गाविसलाई गाभेर कैलाश गाउँपालिका बनाउन प्रस्ताव गरेको छ । यसअघिको प्रतिवेदनमा यसको नाम बैकुण्ठ वा मेन्दोलिङ गाउँपालिका प्रस्ताव गरिएको थियो । अति विपन्न, जनजाति बाहुल्य र भौगोलिक विकटता भएको क्षेत्र भएकाले बिशेष क्षेत्रको रुपमा घोषणा गर्नुपर्ने पनि प्रस्ताव छ ।

यस क्षेत्रमा एउटा पनि वित्तीय संस्था छैन भने ५० प्रतिशत घरमा मात्र विद्युतीकरण भएका छन् । त्यसमध्ये १० प्रतिशतले सोलारबाट विद्युत सेवा पाएका छन् । प्रस्तावित यस गाउँपालिकामा एउटा पनि वसपार्क, सामुदायिक भवन र प्राविधिक विद्यालय नभएको प्रतिवेदनमा उल्लेख छ । प्राविधिक समितिले जनजातिहरुको बाहुल्यता र आर्थिक रुपले विपन्नताको बाहुल्य रहेको प्रस्तावित कैलाश गाउँपालिकालाई बिशेष क्षेत्र सिफारिस गरेको छ ।

भिमफेदी गाउँपालिका

जिल्ला प्राविधिक समितिले साविकका इपापञ्चकन्या, भिमफेदी, भैंसे, निबुवाटार र कोगटे गाविसलाई मिलाएर भिमफेदी गाउँपालिका गठनको प्रस्ताव गरेको छ । प्रस्तावित यस गाउँपालिका खानेपानीको पहुँचमा छ । तर विकासका अन्य पूर्वाधारको राम्रो विकास हुन नसकेको प्रतिवेदनमा उल्लेख छ । विद्युत उत्पादनका लागि निकै धेरै सम्भावनाहरु रहेको भन्दै जिल्ला प्राविधिक समितिले यसको सदूपयोग हुन सके प्रस्तावित यस गाउँपालिकाको भविष्य निकै सुन्दर रहेको उल्लेख गरेको छ ।

यस क्षेत्रमा वन संरक्षरण निकै राम्रो रहेको तर आर्थिक स्रोतको सदूपयोग हुन नसकेको प्रतिवेदनमा लेखिएको छ ।

हेटौंडा उपमहानगरपालिका

प्राविधिक समितिले तयार पारेको प्रतिवेदनमा साविकको हेटौंडा उपमहानगरपालिकालाई कायम राख्ने प्रस्ताव गरेको छ । यसअघि यस उपमहानगरपालिकामा मकवानपुरगढी गाविसलाई समेत गाभ्ने प्रस्ताव थियो । तर अहिले गाविसलाई उपमहानगरपालिकासँग छुट्याइएको छ । प्रतिवेदनमा उपहानगरपालिकाको आर्थिक अवस्था मजवुद रहेको र त्यहाँ अहिले नै ७ वटा ठूला उद्योग रहेको बताइएको छ । यस्तै घरेलु, साना र मझौला गरी ३ हजार ७ सय ९० उद्योगहरु छन् । ६ वटा तारे होटल छन् भने साना होटल तथा लजको संख्या असंख्य रहेको प्रतिवेदनमा उल्लेख छ ।

बकैया गाउँपालिका

प्रस्तावित यस गाउँपालिकामा पाँचवटा गाविस गाभिनेछन् । ठिंगन, मन्थली, छतिवन, शिखरपुर र धियाल गाविसलाई मिलाएर बकैया गाउँपालिका बनाउन प्रस्ताव गरिएको छ । यस गाउँपालिकाको केन्द्र हात्तिसुँडेलाई प्रस्ताव गरिएको छ । प्रतिवेदनमा बकैया गाउँपालिकाको आम्दानीको स्रोतमा कृषि र पर्यटकीय क्षेत्रलाई देखाइएको छ । तर कुनै पनि आम्दानीको स्रोत व्यवस्थित नभएको प्रतिवेदनमा उल्लेख छ ।

यस गाउँपालिका अन्तर्गतका भूभागमा अहिलेसम्म एउटा पनि फोहोर प्रशोधन वा संकलन केन्द्र छैन । पर्यटकका लागि एउटा पनि पार्क छैन । यातायात सेवा अन्तर्गत बसपार्कको निर्माण भएको छैन भने एउटा पनि पिच भएको सडक छैन । यस्तै जम्मा ३२ किलोमिटर सडक मात्र ग्राभेल भएका छन् । कच्ची सडकको लम्बाइ भने ८८ किलोमिटर छ ।

प्रस्तावित बकैया गाउँपालिका स्वीकृत भए २५ हजार ९ सय ५३ वर्गमिटर क्षेत्रफलमा फैलिएको वन क्षेत्र रहने छ । धेरैजसो कृषियोग्य समथर भूमि र केही पहाडी भूमि रहेको यस क्षेत्र जैविक विविधताले सम्पन्न रहेको र आम्दानीको मुख्य स्रोत कृषि हुने प्रतिवेदनमा उल्लेख छ ।

बाग्मती गाउँपालिका

प्राविधिक समितिले प्रस्ताव गरेको बाग्मती गाउँपालिकामा साविकका तीन गाविसहरु राईगाउँ, फापरबारी र वेतिनीलाई मिलाउने प्रस्ताव छ । प्रस्तावित गाविसको जनसंख्या ३० हजार छ । त्यस क्षेत्रमा १२ वटा पर्यटकीय क्षेत्र छन् । बसपार्क छैन भने ढल निकासको व्यवस्था छैन । प्रस्तावित गाउँपालिकाका करिब ५० प्रतिशतसँग खानेपानीको सहज पहुँच छ । यहाँका सबै गाउँहरु खुलादिसा मुक्त क्षेत्र घोषणा भएका छन् । तर, एउटा वित्तीय संस्था स्थापना नभएको प्रतिवेदनमा उल्लेख छ ।

फापरबारीमा ८० प्रतिशत घरमा विद्युतीकरण भएका छन् । राइगाउँ गाविसमा अहिलेसम्म सोलारबाट जम्मा १० प्रतिशत घरमा बिजुली बलेको छ । वेतिनी गाविसमा एउटा घरमा पनि विद्युतीकरण हुन सकेको छैन । यस्तै उद्योगधन्दाको विकास हुन सकेको छैन भने होटल व्यवसायको विकास पनि भएको छैन ।

प्राविधिक समितिका अनुसार जिल्लाको पूर्वी भूभागमा पर्ने प्रस्तावित यस गाउँपालिकामा विकासका पूर्वाधारहरु छैनन् । सडक सञ्जालले यो गाउँपालिकालाई छुन सकेको छैन । तर, उच्च भूभाग भएपनि प्राय समथर भूभाग रहेकाले भविष्यमा यस क्षेत्रमा विकासको सम्भावना रहेको प्रतिवेदनमा उल्लेख छ ।

मनहरी गाउँपालिका

जिल्ला प्राविधिक समितिले साविकका मनहरी र हाँडिखोला गाविसलाई मिलाएर मनहरी गाउँपालिका गठनको प्रस्ताव गरेको छ । यसअघि यीनै दुई गाविसलाई मिलाएर राप्तीदुन गाउँपालिका राख्ने प्रस्ताव गरिएको थियो । तर त्यसमा नयाँ प्रस्ताव ल्याइएको हो ।

यसको जनसंख्या करिब ३८ हजार ३ सय ९९ छ । हेटौंडा उपमहानगरपालिकासँग सीमाना जोडिएको प्रस्तावित मनहरी गाउँपालिका सडक सञ्चालको पहुँचबाट पनि सम्पन्न छ । ३२ हजार वर्गमिटर क्षेत्रफल वनजंगलले ओगटेको छ । यस क्षेत्रमा २ वटा बैंक स्थापना भइसकेका छन् भने १३ वटा सहकारी संस्था छन् ।

१५ वटा व्यापारिक केन्द्र रहेको यस क्षेत्रमा ८० प्रतिशत विद्युतीकरण भएको छ । प्रायजसो समथर भूभाग रहेको यस गाउँपालिका शहरी विशेषता विकास हुँदै गएकाले भविष्यमा नगरपालिकामा स्तरवृद्धि हुने सम्भावना रहेको प्राविधिक समितिले तयार गरेको प्रतिवेदनमा उल्लेख छ ।

राक्सिराङ गाउँपालिका

साविकका राक्सिराङ, कांकडा, सरिखेत र खैराङ गाविसलाई मिलाएर राक्सिराङ गाउँपालिका बनाउन प्राविधिक समितिले प्रस्ताव गरेको छ । यस गाउँपालिकामा एउटा संरक्षित क्षेत्र घोषणा गर्नुपर्ने प्रस्ताव पनि गरिएको छ । अति विपन्न, सिमान्तकृत चेपाङ र जनजातिको वाहुल्यता भएकाले विशेष संरक्षित क्षेत्र घोषणाको प्रस्ताव गरिएको हो ।

प्रस्तावित यस गाउँपालिकामा पिच सडक निर्माण हुन सकेको छैन भने जम्मा ७ किलोमिटर ग्राभेल सडक बनेको छ । कच्ची सडकको दुरी पनि निकै कम छ । उच्च भूभागमा रहेको गाउँपालिका भएकाले विकासका पूर्वाधार नरहेको प्रतिवेदनमा उल्लेख छ ।

मकवानपुरगढी गाउँपालिका

जिल्ला प्राविधिक समितिले साविकका मकवानपुरगढी, आमभञ्ज्याङ, सुकौरा र बुढीचौर गाविसलाई मिलाएर मकवानपुरगढी गाउँपालिका गठनको प्रस्ताव गरेको छ । यसअघि जिल्ला प्राविधिक समितिले जिल्लामा ९ वटा स्थानीय तह गठनको प्रस्ताव गरेकोमा नयाँ प्रतिवेदनमा एउटा गाउँपालिका थप गरिएको हो । सो अन्तरगत मकवानपुरगढी गाउँपालिका प्रस्ताव भएको छ ।