Tuesday, 20th October, 2020
वि.स.

‘बिहे गर्न नमानेपछि’ किशोरीलाई भारत लगेर अढाइ महिनासम्म बन्धक

abhiyukta-1602123319.jpg

परिवारका सदस्य धान रोप्न गएका थिए। साउन २ गते ३५ वर्षीय अगलेश यादव बाँकेको जानकी गाउँपालिका-५ की १७ वर्षीया किशोरीको घरमा पुगे। अगलेश बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नं. ७ का हुन्। उनी विवाहित हुन्। 

२१ वर्षीय भाइ मुकेश र ५५ वर्षीय हरिराम अहिरलाई पनि साथै लिएर गएका थिए। तीन जना भएर किशोरीलाई उठाए। बोर्डरसम्म पुगेपछि अगलेश किशोरी लिएर भारत लागे। उनीहरू भने नेपाल फर्किए। किशोरी हराएपछि परिवारका सदस्यले त्यसबेलै प्रहरीमा उजुरी दिएका थिए। 

उजुरी आएँदा किशोरीलाई कहाँ लगियो भन्ने खुलेको थिएन। प्रहरीले सोधखोज र अनुसन्धान थाल्यो। अगलेशलाई मुकेश र हरिरामले सहयोग गरेको पत्ता लागेपछि दुवैलाई पक्राउ गर्‍यो। पक्राउ परेकाले भारतसम्म लगेको बाहेक केही पनि भनेका थिएनन्। ती किशोरी र अगलेशबीच सामान्य चिनजान रहेको थाहा भएको छ। पक्राउ परेका दुवैले यसबारे बताएका छन्। कुन माध्यम र चिनजानको परिस्थितिबारे पनि स्पष्ट खुलेको छैन। प्रहरीका अनुसार अगलेशले किशोरीलाई बिहे गर्न प्रस्ताव गरिरहेका थिए। किशोरीले नमानेपछि अपहरण गरेको प्रहरीको भनाइ छ। 

ती किशोरीलाई अढाइ महिनापछि प्रहरीले भारतबाट उद्धार गरेको छ। मंगलबार उद्धार गरेर नेपाल ल्याएकी ती किशोरी विछिप्त अवस्थामा छिन्। तर, यो घटनाको मुख्य भूमिकामा रहेका अगलेश भने पक्राउ नपरेकाले यथार्थ खुल्न बाँकी नै रहेको बाँके प्रहरीले जनाएको छ। अगलेश किशोरी लिएर भारतको भारत उत्तर प्रदेशको जिल्ला गौतमबुद्ध नगरको दुजानामा पुगेका थिए। त्यहाँ एउटा कोठामा राखेर किशोरीलाई बन्धक बनाएका थिए।

बाँके जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास खड्काका अनुसार घरका परिवार धान रोप्न खेतमा गएको मौका छोपेर घरमा एक्लै रहेकी ती किशोरीलाई उनीहरूले अपहरण गरेका थिए।  अनुसन्धान गर्दै जाँदा युवती भारतमा लगिएको खुलेपछि भारतीय प्रहरीसँग समन्वय थालिएको थियो।  

भारतीय प्रहरीले किशोरीलाई बन्धक बनाएको स्थान पत्ता लगाएपछि नेपाल प्रहरीलाई खबर गर्‍यो। र, मंगलबार जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी निरीक्षक हृदयशकुमार सापकोटासहितको प्रहरी टोलीले ती किशोरीलाई नेपाल ल्यायो। तर, किशोरीलाई उद्धार गर्दा अगलेश भने नभेटिएको खड्काले बताए। फरार अगलेशलाई भारतीय प्रहरीले खोजी गरिरहेको छ। 

खड्काका अनुसार ती किशोरी विछिप्त अवस्थामा छिन्। उनलाई मनोवैज्ञानिक परामर्शमा राखिएको खड्काले बताए। उनीमाथि अपहरणबाहेक अन्य अपराध भए नभएकोबारे अनुसन्धान भइरहेको उनले बताए। ‘बिहे गर्नका लागि त्यसरी लगेर बन्धक बनाएको भन्ने कुराबारे अनुसन्धान भइरहेको छ,’ उनले भने। बिहे गर्नका लागि किशोरीको उमेर पुगेको छैन। संहिताअनुसार कसैलाई अनिच्छापूर्वक एक ठाउँबाट अर्को ठाउँमा लगेर राख्नु मुलुकी अपराध अपहरण र शरीर बन्धक मुद्दा आकर्षित हुन्छ।   

मुलुकी अपराध संहिता अनुसार अपहरणमा संलग्नलाई १० देखि १५ वर्षसम्म कैद र एक लाखदेखि डेढ लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने कानुनी व्यवस्था छ।

- सेतोपाटीबाट