nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 7th May, 2024
वि.स.
1000043965-1707579226.jpg

‘देशद्रोही पनि धरौटीमा छुट्छ ?’-न्यायालयलाई रविको प्रश्न

13-1563510008.png

आज अलिकति न्यायको कुरा गरौँ । सम्मानित अदालतको मानहानी नहोस् भनेर सचेत त छु । तर धक फुकाएर भन्दा कही कतै लागेछ भने परेको सहुँला, बेहोरौंला । अकुत सम्पत्ति थुपारेको आरोप लागेका पूर्व मन्त्री गोविन्द राज जोशीको मुद्धाको फाइल नै वेपत्ता पारियो । २० बर्षसम्म मुद्धा घुमाउँदै लम्ब्याउँदै गरियो एक दिन वर्तमान न्यायक निकायले गोविन्दराज जोशीलाई सुनपानी छर्किए भने आश्चार्यमा नपरे हुन्छ । नेपाली कामदार मलेसिया लैजाँदा अवैध रुपमा हजारौँ नेपाली कामदारबाट अवैध असुली गरेको अभियोगमा मलेसियाका पूर्व उपप्रधानमन्त्री तथा आन्तरिक मामिलामन्त्री समातिए । तर एउटै मुद्धामा नेपालका मन्त्रीलाई त कसले छुन सक्थ्यो, तर अवैध असुली गरिरहेका वान स्टप सेन्टरका सञ्चालक राम श्रेष्ठ समेत १० लाख धरौटीमा छुटे ।

ठूला–ठूला मुद्धाका कुरा त गरेरै साध्य छैन । दलीय भागबण्डाबाट अछुतो नरहेको न्यायलयमा को कहिलेदेखि कहिलेसम्म प्रधान न्यायाधीश हुने भन्ने स्पष्ट छ । आफ्नो स्वार्थको मुद्धा कसको बेन्चमा पार्ने भन्ने कुरा पनि घाम जस्तै छर्लङ छ । यो भन्दा धेरै बोल्नु स्वास्थ्यको लागि हानीकारक त छ तर, हानिकारक हुदाँ हुँदै पनि सोध्नै पर्छ ९० करोड रुपैयाँ बुझाउन बाँकी रहेको दुरसञ्चार कम्पनी युटिएल, रकम नदिदा दुरसञ्चार ऐन अनुसार खारेजी प्रकृयामा जानु पर्ने हो । तर, सम्मानित अदालत र सम्बन्धित न्यायामूर्तीको मन कमलो । ९० करोड उक्त कम्पनीलाई के तिराउनु भनेर कम्पनी बचाउन अन्तरिम आदेश जारी भयो । आयल निगम जग्गा खरिद प्रकरणका आरोपितको पनि अदालतलाई औधी माया लाग्यो, त्यसपछि धरोटीमा रिहा ग-यो ।

अरबौंको घोटालामा २–४ करोड धरौटी, नाफै नाफा । मुद्धा १०–२० बर्ष लम्बिन्छ, यो बीचमा च्यानल मिलेका प्रधानन्यायाधीश आउना साथ सीधै क्लिन चिट । अख्तियारका आयुक्त राजनारायण पाठकको त शायद अनुहारनै यति माया लाग्दो रहेछ कि घुस प्रकरणको अडियो–भिडियो प्रमाण हुँदा समेत धरौटीमा रिहा भए । अब भाटभटेनीका मिन बहादुर गुरुङको कति माया लाग्ने होला ? बालुवाटरको जग्गा प्रकरणका दलालहरुको मायामा न्यायालय र न्यायामूर्तीहरु कति भावुक हुने होलान् ? सम्झिदै आँशु आउन लागिसक्यो । तर, होइन सम्मानित अदालत र सम्माननिय न्यायमूर्तीहरुका बिषयमा बोल्दा त मानहानीको मुद्धा लाग्छ ।

त्यसमाथि यस्ता ठूला–ठूला हेभीवेट ब्यक्तिहरुको कुरा त झन गर्नै मिल्दैन । ठूला माछा नसमातिने त कहाँ हुन् र ? समातिन्छन् नी । ठूला माछा, ठूला भ्रष्टाचारको मुद्धा आउँदा अदालतमा वेग्लै किसिमको खुसी छाउँछ । जति ठूलो मुद्धा, जति ठूलो माछा, त्यती ठूलो डिल ।

अँ साच्ची खुसीको खबर, पूर्व सञ्चारमन्त्री मोहन बहादुर बस्नेतको ६१ करोड स्रोत नखुलेको कालोधन देखिएको छ । खाजा आयो खाजा । पूर्व मन्त्रीज्यूले टेन्सन लिदै पर्दैन, धरौटीको तयारी गरे हुन्छ । तपाईको फेस नै क्या क्युट छ । अदालतलाई तपाइको त सबै भन्दा धेरै माया लाग्न सक्छ । सबैलाई माया गरेको त ठीकै छ । तर, चेलीबेटी बेच्नेको समेत अदालतलाई माया लागेको देखेर न्यायालयका बिषयमा डराई डराई भएपनि यत्ति भन्ने आँट गरियो । छोरी चेलीलाई विदेशी कोठीमा बेच्ने मध्य एक साम्देन लामालाई ५० हजार धरौटीमा छोडियो । इराकमा उसले बेचेकी चेली कविता तामाङले आँफै उपस्थित भएर सम्पूर्ण प्रमाण र बयान दिदा पनि उनको केही लागेन ।

केटी बेच्ने दलालले सुनपानी छर्कियो, पीडित कविता ज्यान जोगाउन भूमीगत जस्तै भएकी छिन् । चेलीबेटी बेचबिखन मुद्धामा जिल्ला अदालतबाट ३७ बर्ष कैद सजाय पाएका नुवाकोट दुप्चेश्वर गाँउपालिका १ का वडा अध्यक्ष सुन बहादुर तामाङको त नाममै सुन । पाटन उच्च अदालतले सुनपानी छर्केर उन्मुक्ति दिएको छ । ३० बर्ष कैद सजाय सुनाउने नुवाकोट जिल्ला अदालतको फैसला मिलेनछ । एउटै मुद्धामा सुनबहादुर तामाङका भतिज टिकाराम तामाङ र सुकमान तामाङलाई ३० बर्ष कैद तर, वडा अध्यक्ष ज्यूलाई उन्मुक्ति दिइएको छ ।

स्मरण रहोेस्, यो मुद्धा अघि पनि वडा अध्यक्ष ज्यूले मानव वेचविखन मुद्धामा कैद सजाय भोगिसक्नु भएको छ । अनि मानव बेचविखनकै मुद्धा खेपिरहेको बेला कांग्रेसबाट उमेदरवारी दिएर, चुनाव जित्नुभएका वडा अध्यक्ष ज्यूको भारतको नयाँ दिल्ली स्थित जेबी रोडको गल्ली नम्बर ६४ सहित पूना, कोलकत्ता र मुम्बईको कोठी के भयो होला ? भनेर माया लागेर, मन पग्लेर पनि उन्मुक्ति दिनुपर्ने बाध्यता परेको हुनसक्छ न्यायालयलाई ।

नबोलौँ भन्दा भन्दै यत्तिका बिषय चिप्लियो । निर्धा, गरिब, असहायलाई जीवनभर मुद्धा मामिलाको झमेलामा पारेर जीवन नै नर्क जस्तो बनाइएका सयाैं होइन हजाराैं जिउँदा उदाहरण न्यायालयको ढोका बाहिर छन् । पहुँच हुनेहरु धरौटीको तयारी गर्न तिर लाग्छन् ।

यो प्रस्तुती सम्मानित अलदालतको निन्दा मानहानी, अपहेलना होइन, बरु हाम्रो न्यायालयको गरिमा जोगाउन रिस्क लिएर गरिएको खरो टिप्पणी हो । एउटा अन्तिम प्रश्न सम्मानिय प्रधानन्याधीश ज्यूलाई सोध्छु । श्रीमान कुनै दिन एउटा देश द्रोहीले यो देश नै बेचिदियो भने के त्यो देशद्रोही पनि धरौटीमा छुट्छ ?

तुफान न्युजबाट साभार