nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

हेटौंडा सिमेन्ट दुई वर्षदेखि घाटामा

ttttyyy-1599446598.jpg

 सरकारी स्वामित्वमा रहेको हेटौंडा सिमेन्ट उद्योग दुई वर्षदेखि लगातार घाटामा गइरहेको छ  । आर्थिक वर्ष २०७५/०७६ मा १ करोड ५ लाख रुपैयाँ घाटा बेहोरेको उद्योगले पछिल्लो वर्ष करिब ५ करोड रुपैयाँ घाटा बेहोरेको लेखा परीक्षणले देखाएको छ ।

२०७२/७३ देखि निरन्तर नाफामा गइरहेको उद्योग २०७५/०७६ मा मेसिनमा खराबीका कारण लामो समय बन्द हुँदा घाटामा गएको उद्योगका महाप्रबन्धक प्रेमशंकर सिंहले बताए । कोरोनाको प्रभावका कारण सिमेन्ट बिक्री हुन नसकेको र उत्पादनमा पनि ह्रास आएकाले गत वर्ष पनि घाटा बेहोर्नुपरेको उनको भनाइ छ । ‘गत वर्षको घाटाको यकिन तथ्यांक लेखा परीक्षण सकिएपछि आउला तर उत्पादन र बिक्रीको अवस्था हेर्दा उद्योग करिब पाँच करोड रुपैयाँ घाटामै रहेको देखिन्छ,’ उनले भने ।

२०७६/०७७ मा १९ लाख बोरा सिमेन्ट र क्लिंकर उत्पादन भएकोमा १४ लाख ५५ हजार ९ सय ६ बोरा मात्रै बिक्री भएको उद्योगको बिक्री महाशाखाले जनाएको छ । मुख्य सिजन चैत–असारमै सिमेन्ट बिक्री नहुँदा आर्थिक वर्षको अन्त्यसम्म उद्योगमा झन्डै ४ लाख बोरा सिमेन्ट स्टक रहेको महाशाखा प्रमुख सर्जु अर्यालले जानकारी दिए ।

उद्योगमा सिमेन्ट स्टक धेरै भएका कारण क्लिङ्कर उत्पादन दुई सातादेखि रोकिएको छ । ‘कोरोनाका कारण कोइला आयातमा समेत समस्या भइरहेको छ । सिमेन्टको स्टक घटेसँगै भदौ १ बाट पुनः क्लिङ्कर उत्पादन सुरु गर्ने तयारीमा छौं,’ उद्योगका महाप्रबन्धक सिंहले भने ।

उद्योगले २०७५/०७६ मा करिब २३ लाख बोरा सिमेन्ट उत्पादन गरेकोमा २० लाख ८६ हजार ६ सय ८ बोरा बिक्री भएको थियो । त्यस वर्ष उद्योगले १ करोडको हाराहारीमा मात्र घाटा बेहोरेकोमा बितेको वर्ष उत्पादन र बिक्रीमा झनै कमी आएको हो । ‘कोरोनाको प्रभाव हटेपछि पनि उद्योगको क्षमता विस्तारबिना नाफामा लैजान कठिन हुने देखिन्छ । हामीले उद्योगको क्षमता विकासका लागि संघीय सरकारको उद्योग मन्त्रालयलाई आवश्यक प्रस्तावपत्र र खर्चको अनुमानसहितको प्रतिवेदन बुझाइसकेका छौं,’ सिंहले भने ।

संघीय सरकारका उद्योगमन्त्री लेखराज भट्टले केही समयअघि उद्योगको भ्रमण गरेर आवश्यक मेसिन खरिदका लागि बजेट उपलब्ध गराउने आश्वासन दिएको उनले बताए । ‘उद्योगमा स्थापनाको समयदेखिकै मेसिनहरू छन् जसले गर्दा समस्या सिर्जना भइरहेको छ’, सिंहले भने, ‘उद्योगले सिमेन्टको प्याकिङ गर्ने नयाँ मेसिन जडान गरिरहेको छ ।’ २०३३ सालमा स्थापित उद्योगले २०४८ सालबाट व्यावसायिक उत्पादन सुरु गरेको थियो ।

-इकान्तिपुरबाट



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)