nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

हेटौंडा–धरान सडक अन्तिम चरणमा

Dharan-chatara-1618388312.jpg

सरकारी लगानीमा बनिरहेको धरान–चतरा–सिन्धुली–हेटौंडा सडक निर्माण अन्तिम चरणमा पुगेको छ । ३ सय ११ किमि लामो यो सडकलाई दुई खण्डमा विभाजन गरेर निर्माण जारी छ ।

आयोजनाअन्तर्गत ९५ प्रतिशत काम सम्पन्न भइसकेको छ । पछिल्लो चरणमा टेन्डर निकालेर निर्माण सुरु गरिएका साना खालका १८ पुलको पनि निर्माण तीव्र गतिमा भइरहेको छ । आगामी भदौसम्म ती साना खालका पुल निर्माण सकिने आयोजनाको पश्चिमी खण्डका इन्जिनियर निरन्जन थापाले जानकारी दिए ।

पश्चिमी क्षेत्रमा ठूला खालका ३३ वटा पुल पर्छन् । त्यसमध्ये ३२ वटा बनिसकेका छन् । उदयपुरको बसाहादेखि सिन्धुलीको कमलामाई नगरपालिका–९ भिमानसम्म १३५ किलोमिटरलाई पूर्वीखण्ड र भिमानदेखि हेटौंडा उपमहानगरपालिका–६ चौघडासम्मको ११५ किलोमिटरलाई पश्चिम खण्डमा विभाजन गरेर काम गरिँदै छ । ‘पूर्वी खण्डको सडक निर्माण ९८ प्रतिशतभन्दा बढी सकिइसकेको छ,’ पूर्वी खण्डका इन्जिनियर मनीष पोखरेलले भने, ‘४६ वटा पुल बनिसकेका छन् । साना ६ वटा भने निर्माणाधीन छन् ।’ जेठ अन्तिमसम्म धरान–चतराको पूर्वी खण्डको सबै काम सकिने आयोजनाको दाबी छ ।

पश्चिमी खण्डमा सिन्धुलीदेखि चौघडासम्मको १ सय १५ किलोमिटर सडक छ । यसमा करिब १४ किलोमिटर पुलले ओगटेको छ । १०१ किमि सडकमध्ये ८८ किमिमा कालोपत्र भइसकेको छ । आगामी भदौसम्ममा अवरोध रहेका क्षेत्रबाहेकका काम सकिने इन्जिनियर थापाले बताए । आयोजनाको पश्चिमी क्षेत्रमा नै पर्ने सिन्धुलीको कमलामाई नगरपालिकाको खट्टारदेखि धुरा बजारको संरचना भत्काएर सडक निर्माण हुन सकेको छैन । यो ६ किलोमिटर लामो छ । सडकअन्तर्गत तीन सय घरगोठलगायत संरचना पर्छन् ।

पश्चिमी खण्डको मकवानपुरको बकैया गाउँपालिकाको फुर्केचौर क्षेत्रमा पर्ने डेढ किमि सडक निर्माण गर्न नेपाली सेनालाई जिम्मा दिइएको छ । उक्त क्षेत्रमा फास्ट ट्र्याकको पुल बन्ने भएकाले सेनालाई नै पुल क्षेत्रको सडक बनाउने जिम्मा दिइएको आयोजनाले जनाएको छ । सुनकोसी मरिन बहुउद्देश्यीय अयोजनालाई पनि ८ सय मिटर सडक निर्माण गर्ने जिम्मा दिइएको छ । हेटौंडादेखि सिन्धुलीसम्मको सडक, पुलपुलेसा र कल्भर्ट निर्माण गर्न हेटौंडामा आयोजनाको कार्यालय स्थापना गरिएको छ । पूर्वी क्षेत्रका लागि भने गाईघाटमा आयोजनाको कार्यालय छ । 

-इकान्तिपुरबाट ।