nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

हचुवामा योजना बनाई संस्थालाई नोक्सान नपार्ने नेतृत्व आवश्यक
सन्दर्भ: पालुङ बहुउद्धेश्यीय सहकारी संस्थाको नयाँ नेतृत्व

हाम्रो परिकल्पनाको समृद्ध थाहानगर निर्माण पूरा गर्नका लागि स्थानीय सरकार र प्रतिनिधिहरुको भूमिकाले मात्र पूरा हुन सक्दैन । थाहा नगर भित्रका क्रियाशील संघसंस्थाहरुको भूमिका महत्वपूर्ण हुने भएकाले यो परिकल्पना साकार बनाउने हो भने हरेक संघसंस्थाको नेतृत्व चयन गर्दा दृढ विचार, दूरदर्शी, जिम्मेवारीबोध, आर्थिक अनुशासनयुक्त व्यक्तित्व, व्यक्तिगत स्वार्थमा लिप्त भन्दा संस्था र सामाजिक मर्यादामा रहने नेतृत्व छनोट गर्न सकियो र स्थानीय सरकार र जनप्रतिनिधिलाई  उचित सहयोग गर्दै संघसंस्थाको भूमिका पनि स्थानीय सरकारमैत्री बनाउन सकियो भने मात्रै हाम्रो परिकल्पनाको समृद्ध थाहानगर निर्माण गर्न सकिन्छ । प्रसङ्ग नजिकिँदै गरेको थाहानगरकै महत्वपूर्ण संस्था जुन संस्थाको भूमिकाले समृद्ध थाहा नगरको निर्माणमा मेरुदण्डको भूमिका निर्वाह गर्न सक्दछ, जसको क्रियाकलापले सो संस्थाको सेयर सदस्य र संस्थाको मात्र आर्थिक समृद्धि नभई समग्र थाहा नगरकै कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन क्षेत्रमा आमूल परिवर्तन गर्न सक्दछ ।

यी क्षेत्रमा साँचो अर्थमा परिवर्तनको संवाहक  पालुङ बहुउद्धेश्यीय सहकारी संस्था त्यतिखेर बन्न सक्दछ, जतिखेर नजिकिँदै गरेको साधारण सभामा माथि उल्लेखित गुण र आचरणयुक्त व्यक्तिहरु नेतृत्वमा ल्याउन सकिन्छ । यसरीमात्र संस्थाका सेयर सदस्यहरु र आम नागरिकको भावनाअनुरुप समृद्ध थाहा नगर र सुखी थाहा नगरवासीको सपना साकार हुन सक्दछ । यदि हामी नेतृत्व चयनमा फेरि चुक्यौं भने यो गौरवशाली संस्थाको भूमिका आफ्नै परिवारको सदस्य, आसेपासेलाई रोजगारी, कर्जा प्रवाह र नेतृत्वलाई आर्थिक लाभको योजनाबाहेक अन्य क्रियाकलाप रहँदैन । विगतको कार्यहरुबाट यो पाठ सिक्नुपर्दछ ।  त्यसैले यो गौरबशाली संस्थाको मर्यादालाई उच्च राख्नका लागि आगामी नेतृत्व चयनको विषयमा चिन्तनशील भई बहश, छलफल चलाउन  जरुरी देखिन्छ । 

गौरवशाली संस्था पालुङ बहुउद्धेश्यीय सहकारी संस्थाको आगामी नेतृत्व यस्तो हुनु पर्दछ  ः
१. राज्यको तीन खम्बे अर्थनीति अनुसार सहकारी एक खम्बा भएको हुँदा थाहा नगरको समृद्धिको मेरुदण्डको रुपमा पालुङ बहुउद्धेश्यीय सहकारी संस्थालाई विकास गर्न सक्ने सक्षम नेतृत्व,
२. आर्थिक अनुशासन, मितव्ययितामा प्रतिवद्ध रहँदै व्यक्तिगत आर्थिक प्रलोभनमा योजना तयार गरी आर्थिक अनुशासन उल्लङ्घन गरी योजना कार्यान्वयनमा प्रतिस्पर्धामा नलगी संस्थालाई हानी नोक्सानी पु¥याउने परिपाटीको अन्त्य  गर्ने नेतृत्व,
३.अध्ययन अनुसन्धानविना हचुवाको भरमा योजना तयार पारी संस्था र समुदायलाई नोक्सान नपार्ने नेतृत्व, 
उदाहरणका लागि–

  • अघिल्ला दिनहरुमा विनाअध्ययन दुध डेरी सञ्चालन गर्न गरिएको खर्चबाट संस्थालाई पर्न गएको नोक्सानी
  • किसानहरुलाई ठूलो सपना देखाई बजार व्यवस्थापनको अध्ययनविना हचुवाको भरमा रोजमेरी खेती गर्न लगाई त्यसको साँवा र व्याज असुली गरी÷गर्न लगाई शेयर सदस्य किसानहरुको नोक्सानप्रति व्यवास्ता गर्ने परिपाटीको अन्त्य गर्ने नेतृत्व, 

४. परिवारका सदस्य तथा आसेपासेलाई कर्जा र रोजगारी दिने संस्थाबाट केही आर्थिक लाभको चिन्तनबाट मुक्त भई संस्था तथा शेयर सदस्यहरुलाई समुन्नत कसरी बनाउन सकिन्छ भन्ने चिन्तनशिल व्यक्तित्व भएको नेतृत्व,
५. सहकारी संस्थालाई राज्यले दिएको अधिकारलाई नियम कानूनको परिधिभित्र रही आर्थिक अनुशासन कडाई साथ पालना गरी व्यवसायिक विकास निर्माणको अभियानमा संलग्न भई संस्थाको आर्थिक उन्नतिका साथ समृद्ध थाहा नगर निर्माणमा संस्थालाई मेरुदण्डको रुपमा विकास गर्न सक्ने सफल योजनाकार नेतृत्व 
६. विगतमा संस्थाले लगानी गरेका संस्थाहरुको प्रवद्र्धन सम्बद्र्धन गर्नुपर्ने दायित्वबाट पन्छिने प्रवृत्तिको अन्त्य गर्ने नेतृत्व, जस्तै: संस्थाले १४ वर्षअगाडि अर्थात् २०६१ सालमा ४ लाख शेयर लगानी गरी सञ्चालन गरेको रेडियो पालुङ एफ एम १०७.२ मेगाहर्जको प्रवद्र्धन, सम्वद्र्धन गर्नुपर्ने ठाउँमा नेतृत्वमै रहेका व्यक्तिहरुबाट अर्को रेडियोमा लगानी गरी अर्को संस्था जन्माउने अभियानमा संलग्न देखिएको हुँदा वर्तमान नेतृत्वको स्वचिन्तन प्रति नै प्रश्न चिन्ह खडा भएको छ । 
७. थाहा नगर भित्रका अन्य सहकारीहरुलाई प्रतिस्पर्धीको रुपमा नहेरी भाईचाराको व्यवहार गर्दै ठूलो संस्थाको हैसियतले अभिभावकीय भूमिका निर्वाह गरी सबै सहकारी संस्थाहरुलाई एउटै अभियानमा सामेल गराई थाहा नगर भित्र आएका अवसरहरुलाई समान ढङ्गले उपयोग गराउने सक्षम नेतृत्व,
८. महिला र युवा समूह सञ्चालनमा देखिएको उपलब्धीहिनतालाई परिमार्जन गरी समूहको नाममा थोपरिएको चर्काे व्याजलाई न्यूनीकरण गरी व्यवसायिक युवा र महिला समूह बनाई महिला युवा रोजगारी सिर्जना गर्न सक्ने सक्षम नेतृत्व,
९. संस्थामा उलपब्ध हुने अवसरलाई समान ढङ्गले कार्य समितिका सदस्य, शेयर सदस्य, कर्मचारी सबैलाई समान ढङ्गले उपलब्ध गराउने कामको मूल्याङ्कनको आधारमा कर्मचारी बर्गलाई उच्च मनोवलका साथ काम गराउन सक्ने नेतृत्व,
१०. व्यवसायिक आर्थिक सल्लाहकार भन्दा सामाजिक आर्थिक सल्लाहकार राखी आर्थिक योजना निर्माण गर्न सक्ने नेतृत्व,
११. संस्थाको प्रगतिमा संस्थापक, वर्तमान निवर्तमान कार्यसमिति, साधारण शेयर सदस्यहरु र अन्य समुदायसंग विचार विमर्श गरी सबैको राय सुझाबमा चल्न सक्ने सक्षम नेतृत्व,  
१२. सामाजिक क्षेत्रमा लगाइएको आर्थिक व्ययभार पूर्ति गर्न आर्थिक अनुशासनमा कडाई गर्न सक्ने नेतृत्व,

    अन्तमा सहकारी ऐनले दिएको संस्थापक सदस्य, वर्तमान कार्य समिति, पूर्व कार्यसमिति, साधारण शेयर सदस्यहरुले संस्थाको वृहत्तम् हितका साथै आफू र आफ्नो समुदायको आर्थिक समृद्धिको लागि उल्लेखित बुँदाहरुको कार्यान्वयन गर्न सक्ने सक्षम नेतृत्व चयन गर्न र आफूसँग त्यस्तोे क्षमता छ भने नेतृत्व लिन पनि पछि हट्नु हुदैन ।  

(ढकाल पालुङ बहुउद्धेश्यीय सहकारी संस्था लि.को सेयर सदस्य हुन् ।)