nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

स्थानीय तह पुर्नसंरचनाः नगर प्रमुख तोक्न किन भयो ढिलाई ?

नगरपालिकाको कार्यकारी प्रमुख तोक्ने विषयमा स्थानीय विकास मन्त्रालयमा विवाद चर्किएको छ । मन्त्रालयले गाउँपालिका प्रमुख तोकेको भएपनि नगर प्रमुख तोक्न नसकेको हो । निर्वाचन आयोगले चैत ३ गतेभित्र कर्मचारी सरुवा गरिसक्न निर्देशन दिए पनि उपप्रधानमन्त्री थापाका प्रमुख राजनीतिक सल्लाहकार बर्तौलाको हस्तक्षेपका कारण अहिलेसम्म सुची मिलाउन नसकेको मन्त्रालय स्रोतको गुनासो छ । बर्तौलाले केही महिनाअघि मात्रै सरुवा भएर गएका उपसचिवलाई समेत सरुवा गर्न रुची राखेको र सचिवले अस्वीकार गर्दा समस्या बढेको स्रोतको गुनासो छ । आन्तरिक कर्मचारी प्रशासन महाशाखा प्रमुख चक्रबहादुर बुढा नेतृत्वको कार्यदलले तयार पारेको उपसचिवको सूचिलाई मन्त्रीको सचिवालयले अस्वीकृत गरेको कर्मचारीहरुले गुनासो गरेका हुन् ।

कार्यदलले २ फागुनमा नै २४६ नगरपालिका प्रमुखका रुपमा खटाउने उपसचिवहरुको सुची तयार पारी सचिवलाई बुझाएको थियो । उक्त सुची सचिव केदारबहादुर अधिकारीले उपप्रधानमन्त्री तथा स्थानीय विकास मन्त्री कमल थापालाई बुझाएका थिए । सचिवले बुझाएको सूची कार्यान्वयनमा स्थानीय विकासमन्त्री कमल थापाको सचिवालयले हस्तक्षेप गरेको आरोप कर्मचारीहरुको छ । तर, उपप्रधानमन्त्री कमल थापाका निजी सचिव विरेन्द्र भारतीले भने आफूहरुबाट हस्तक्षेप भएको अस्वीकार गरे । उनले भने, ठूलो सरुवा भएकाले कति प्रगति भइरहेको छ भनेर समय(समयमा बुझ्न जाने गरेको हो, तर हस्तक्षेप गरेको छैन ।

स्थानीय विकास मन्त्रालयले ४ फागुनमा सार्वजनिक गरेको ४८१ गाउँपालिका प्रमुखहरुमध्ये केहीको नाम दोहोरो परेको छ । मन्त्रीका निजी सचिव भारतीका अनुसार एकै व्यक्तिका नाम दुईवटा गाउँपालिका प्रमुखको रुपमा पर्न गएको छ ।

तोकिएको समयसम्म पनि कर्मचारी खटाउन नसकेपछि मन्त्रालयका सचिव केदारबहादुर अधिकारी आफैं कार्यदलसँगै गृहकार्यमा खटिएका छन् । यसअघि गत असोजमा स्थानीय विकास अधिकारीको सरुवामा पनि बाहिरी हस्तक्षेप भएपछि सचिव अधिकारीले हस्तक्षेप गरेर सुची टुंग्याएका थिए ।