nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

समतामूलक समाजका सर्जक: रूपचन्द्र
प्रताप विष्ट

Prataaa-1592704635.jpg

समाज परिवर्तनका निम्ति, अन्याय र अत्याचारका विरुद्ध जीवनपर्यन्त जुधिरहेका योद्धा । सत्य र न्यायका पक्षपाती तथा निष्पक्षकर्मी रूपचन्द्र विष्ट ‘थाहा’को निधन २०५६ असार ७ गते काठमाडौंका वीर अस्पतालमा भएको थियो ।

समाज परिवर्तनका निम्ति, अन्याय र अत्याचारका विरुद्ध जीवनपर्यन्त जुधिरहेका योद्धा । सत्य र न्यायका पक्षपाती तथा निष्पक्षकर्मी रूपचन्द्र विष्ट ‘थाहा’को निधन २०५६ असार ७ गते काठमाडौंका वीर अस्पतालमा भएको थियो । 

भोका, नाङ्गा र दबाइएकाहरूलाई जागृत गराउन मकवानपुरवासीका घर/घर पुगेर आफ्नालागि आफैं उठ्नुपर्ने सन्देश छर्दैै हिँड्ने स्व. विष्टलाई सबैले सम्झन थालेका छन् । कथनी र करनी एउटै भएका स्व.विष्ट जसले गरिब, दु:खी र महिलाको जागरणमा निस्वार्थ ढंगले जीवन अर्पेका थिए । मकवानपुरलाई कर्मथलो बनाएका विष्टको भौतिक शरीर हाम्रो सामुबाट हराएको १७ वर्ष बिते पनि उनले छरेका चेतनाका बिउहरू अहिले मौलाइरहेका छन् ।

यो परिवर्तित अवस्थामा मुलुक अर्को रूपचन्द्र विष्टको प्रतीक्षामा छ । शारीरिक रूपमा बलिष्ठ हातपाखुरा र अग्लो कदको रूपचन्द्र नभए पनि इमान र निष्ठा भएको अर्थात कथनी र करनी एउटै भएको रूपचन्द्रको प्रतिक्षारत छ मुलुक । स्व. विष्टका आदर्श, जीवनशैली र व्यवहार अहिलेका किशोर—किशोरी र युवाहरूलाई मिथकजस्तो लाग्ने गरेको छ । किनकि नेता र समाजका अगुवाहरू पनि यस्ता व्यवहारका हुन्छन् र भन्ने उनीहरूलाई परेको छ । जात, नाता, गुट, सम्पत्ति र स्वार्थले मुलुकको राजनीति अपराधीकरणसँंगै व्यापारीकरण भइरहेको अवस्थामा साढे तीन दशकअघि ‘जातभन्दा जनता, नाताभन्दा न्याय र स्वार्थभन्दा सत्य ठूलो हो’ भन्ने स्व. विष्टको भनाइ कालजयी बन्न पुगेको छ । देशभन्दा दल ठूलो, दलभन्दा गुट ठूलो, गुटभन्दा जात ठूलो भन्ने संस्कृति मौलाइरहेको अवस्थामा स्व. विष्टको भनाइले वर्तमानप्रति कटाक्ष गरेको छ । २०३९ सालमा रूपचन्द्र विष्टले प्रकाशित गरेको पर्चाले वर्तमानलाई सुझाएको छ ।

पर्चामा जातबाट जनहित, पैसाबाट सत्य, पदबाट इन्साफ, गुन्डाबाट राजनीति र शासकबाट प्रजातन्त्र कल्पना गर्न नसकिने उल्लेख गरिएको छ । पद र पैसाका निम्ति हुरुक्कै हुने दलका नेता र कार्यकर्ताहरूलाई उल्लेखित पर्चा रामवाण बन्न पुगेको छ । सादा जीवन र उच्च विचारका धनी रूपचन्द्र न्यायका पक्षपाती र समतामूलक समाजका सर्जक थिए ।केही समय विष्टसँंग जेल बसेका नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली यसरी सम्झन्छन् विष्टलाई, ‘उनी महान मान्छे हुन् । जीवनका विशेषता जनशैली र राजनीतिको विशेषता जनमुखी यी रूपचन्द्रका विशेषता हुन् ।‘जो जति शक्तिमा छ, समाज सप्रे—बिग्रेमा, त्यो त्यति जिम्मेदार छ’, तीन दशकअघि रूपचन्द्र विष्टले वितरण गरेको यो पर्चा अहिले पनि शाश्वत छ । शक्तिमा भएकाहरू जिम्मेवार नहुने, दोषजति अरूलाई दिने, राम्रो कामको जश आफूले मात्र लिने प्रवृत्ति मौलाइरहेको अवस्थामा उनको यो भनाइ अहिले पनि सान्दर्भिक छ । समाजमा जो जति शक्तिमा छ, त्यसले त्यति नै जिम्मेवार बन्नुपर्छ भनेर सबैलाई उनले समाजप्रति जिम्मेवार बनाउन खोजेका हुन् ।

हैसियत अनुसारको अधिकार खोज्ने तर कर्तव्य पालन नगर्ने प्रवृत्तिलाई पनि उनले सुझाएका छन् । जुन वर्गको राजनीति रोज्यो, त्यही वर्गको जिन्दगी बाँच्न खोज्ने, धन—मान—मोजको आकर्षणबाट कहिलै विचलित नहुने विष्टको आदर्श चरित्र नेपाली राजनीतिज्ञहरूका निम्ति प्रेरणाको स्रोत बन्नुपर्छ ।रूपचन्द्र विष्टका बारेमा विद्यावारिधि गर्न तयारीमा जुटिरहेका पर्वतका सांसद विकास लम्सालको आँखामा ‘रूपचन्द्र विष्ट कथनी र करनी एउटै भएको समाज परिवर्तनका अथक योद्धा हुन् ।’ अन्तत: उनी दार्शनिक हुन्, उनले भने । राजनीतिका खेतीमात्र गरेनन्, मकवानपुरको दामन–पालुङ क्षेत्रलाई आधुनिक खेतीतर्फ उन्मुख गराउने उनी एउटा किसान नेता पनि हुन् । यस क्षेत्रले बेमौसमी तरकारी उत्पादनका निम्ति कमाएको ख्याति उनको देन हो । त्यही कर्मथलो दामन, पालुङ बज्रबाराही गाविसलाई समेटेर विष्टकै स्मृतिमा सरकारले थाहा नगरपालिका गठन गरेको छ ।गाउँको विकासमा गाउँकै बासिन्दाको श्रम र लगानी हुनुपर्छ भन्ने अवधारणाबाट दामन, पालुङमा २०३१ सालमा उनले सञ्चालन गरेको निर्यातजन्य वस्तुमा कर उठाउने प्रचलनले अहिले संस्थागत विकास गरेको छ । यस क्षेत्रको विकास निर्माणको आधार यही कर बनेको छ । थाहा नगरपालिका बनेपछि पनि निर्यातजन्य वस्तुमा कर उठाउने कार्यलाई निरन्तरता दिएको छ । जनचेतनाका संवाहक र दु:खी गरिबका पहरेदारका रूपमा रहेका स्व.विष्ट श्रमिकको राजनीति पुँजीपतिले गरेर हुँदैन, छाप्रेको राजनीति दरबारले गरेर हुँदैन, मोहीको राजनीति तल्सिङले गरेर हँुदैन, महिलाको राजनीति पुरुषले गरेर हुँदैन, उनीहरू आफ्नालागि आफै जागेर अघि बढ्नुपर्छ भन्दै गाउँबस्तीमा हिँड्थे । माक्र्सवादका शब्दहरूलाई जनबोलीमा उतारेर गाउँलेलाई बुझाउँदै हिँड्थे । अन्याय पनि नगर्ने, अन्याय पनि नसहने हक्की स्वभावका रूपचन्द्र विष्टका सामुन्ने अन्यायीहरू उभिनै सक्दैनथे । ‘हामी कसैका होइनौ, कोही हाम्रा होइनन्, हामी सत्य र न्यायका, सत्य र न्याय हाम्रा’ भन्ने अवधारणा बोकेर जीवनभर बाँचेका थिए– रूपचन्द्र विष्ट ।