nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

शिवालय पूजनको शास्त्रीय विधि : शिवभन्दा पहिले क‍-कसको दर्शन गर्ने ?

next-suva-1615426788.jpg

 विभिन्न मन्दिर एवं देवालयहरूमा दर्शन गर्ने आ–आफ्नै विधि र परम्पराहरू हुन्छन् । हिन्दु धर्मको शास्त्रीय विश्वास अनुसार केही नियमहरू छन् जुन पूरा नगर्दा फल प्राप्तिमा कमी आउँछ भन्ने मान्यता छ । त्यसैमध्येको एक हो शिवालयमा दर्शन गर्दा भुल्न नहुने शास्त्रीय नियम ।

शिवरात्रिमा दर्शन गर्न पुग्ने जो कोहीले पनि पशुपतिको मूल मन्दिरमा रहेको शिवलिंगको दर्शनको लागि घण्टौंसम्म लाइन बसेर सिधै पशुपति मन्दिरमा पूजा गर्ने गर्छन् । तर सिधै पशुपति मन्दिरमा पूजा गर्नुशास्त्र सम्मत छ त ?

संस्कृतिविद् एवं त्रिभुवन विश्वविद्यालयकी प्राध्यापक निर्मला पोखरेल शास्त्रीय सिद्धान्तलाई मान्ने हो भने कुनै पनि शिवालयमा दर्शन गर्न जाँदा शक्तिको दर्शन नगरी सिधै शिवको दर्शन गर्नुले फल प्राप्त नहुने बताउँछिन् । ‘शास्त्रले मूलदेवी वा देवताको पूजा गर्नुअघि आवरण देवीदेवताको पूजा गर्न सुझाउँछ,’ पोखरेल भन्छिन्, ‘पशुपतिको हकमा सकेसम्म त नौ वटै आवरण देवीलाई पूजा गर्नुपर्ने हो, नभएपनि वत्सलेश्वरी देवीलाई भने पूजा गरेर मात्रै पशुपति छिर्नुपर्छ ।’

शिवालयमा दर्शन गर्ने विधि र वैष्णव मन्दिरमा पूजा गर्ने विधि फरक-फरक हुने गर्छ । तर सबै मन्दिरमा पूजा गर्ने एउटै विधि के हो भने मन्दिरमा मुख्य देवताको रूपमा रहेका भगवानलाई सबैभन्दा अन्तिममा पूजा गर्ने र सहायक देवीदेवताको रूपमा रहेका अरू देवदेवीलाई पहिले पूजा गर्नु, जुन शास्त्रीय विधि हो । उक्त विधि अनुसार मूल मन्दिर यदि पुरुष देवताको छन् भने सबैभन्दा पहिले शक्तिको पूजा गर्नुपर्छ र यदि शक्तिको मन्दिर छ भने त्यसअघि पुरुष देवताको दर्शन गर्नुपर्छ भन्ने शास्त्रीय मान्यता रहेको छ ।

जस्तो पशुपतिको आवरण देवीको रूपमा रहेको वत्सलेश्वरी देवीको पूजा गर्नुअघि त्यसको छेवैमा क्षेत्रपाल भैरवको दर्शन गर्नुपर्ने हुन्छ । यसबाहेक पञ्चगणेश, यमराज आदिलाई पूजा गरिसकेर, त्यसपछि मन्दिरमा रहेको टुँडाल र तोरणहरुको दर्शन गरी अन्तिममा मात्रै मूल देवताको पूजा गर्ने गरिन्छ ।

पशुपति मन्दिरको पूजा गर्नुअघि दर्शन गर्नैपर्ने मन्दिरहरू

संस्कृतिविद् पोखरेल पशुपति मन्दिरको पूजा गर्नुअघि नौ वटा आवरण देवीहरूको दर्शन गरेर मात्रै पशुपतिमा प्रवेश गर्नु शास्त्रसम्मत हुने बताउँछिन् । पशुपतिनाथको मन्दिरलाई नौ वटा आवरण देवीहरूले घेरेर बसेका छन् । जुन सबै देवी पार्वतीको अनेक स्वरुपहरू हुन् ।

वत्सलेश्वरी, गुह्वेश्वरी, कोटेश्वरी, झम्केश्वरी, जयवागेश्वरी, बज्रेश्वरी, मंगलागौरी/मंगलेश्वरी, भुवनेश्वरी र राजराजेश्वरी (नवदुर्गा–जुन नौ दुर्गाको सामूहिक स्वरूपभन्दा भिन्न छ) । यी आवरण देवीहरूले पशुपतिलाई ढाकेर बसेका छन् । अतः सबैभन्दा पहिले यी आवरण देवीहरूको दर्शन गरेर मात्रै पशुपतिको दर्शन गरे यसले पूर्ण फल प्राप्त हुन्छ भन्ने मान्यता रहेको छ । यी नौ देवीको दर्शन गर्न आफैँमा निकै समय लाग्ने गर्छ ।

सबै मन्दिर दर्शन गर्न नभ्याउँदा के गर्ने ?

पोखरेल टाढाबाट आउने दर्शनार्थीहरूले सकेसम्म नौवटै देवीको पीठ दर्शन गर्नु उपयुक्त हुने बताउँछिन् । यदि सबै देवीको पीठ दर्शन गर्न सकिँदैन भने पहिले वागमतीमा गएर वागमतीको दर्शन गरी वत्सलेश्वरी देवीको पीठमा मात्रै दर्शन गरेर पनि पशुपति भित्र जान सकिन्छ ।

वत्सलेश्वरी पार्वतीको शिवप्रिय स्वरूप वा प्रेमिका स्वरूपको हो । त्यसैले अरू स्वरूपको दर्शन गर्न नभ्याउँदा यही एउटा स्वरूपको मात्रै दर्शन गरे पनि हुन्छ भन्ने मान्यता रहेको छ ।

शिवरात्रिमा शिवमन्दिर छिर्न सकिएन, के गर्ने ?

शिवरात्रिमा देशभरका शिवालयहरूमा भिड हुने गर्छ । यो भिडका कारण सबैले शिवको दर्शन गर्न सक्दैनन् । तर यस्तो अवस्थामा के गर्न सकिन्छ ?

फेरि पोखरेल भन्छिन्, ‘मन्दिरको मूल भगवानलाई दर्शन गर्न नसकेको खण्डमा मन्दिरको ढोकामाथि रहेको तोरणलाई दर्शन गरेर फर्किन सकिन्छ । तोरणमा भित्र गर्भगृहमा जुन मूर्ति छ त्यही मूर्तिलाई राखिएको हुन्छ । तोरणको पनि बीच भागमा उक्त मूर्ति रहने भएकाले तोरणको दर्शन गर्नु पनि मूल भगवानको दर्शन गर्नुबराबर हुने शास्त्रीय मान्यता छ ।

कहिलेकाहीँ तोरणसम्म पनि पुग्न नसकिने अवस्था हुन सक्छ । त्यस्तो अवस्थामा मन्दिरको गजुरको दर्शन गर्नु पनि मन्दिरको दर्शन गरेसरह हुने मान्यता छ । गजुरको शास्त्रीय महत्वमध्ये यो पनि एक हो ।

यदि गजुरलाई पनि देख्न सकिएन भने मन्दिरमा आउने व्रतालुहरूको दर्शनले पनि मन्दिर दर्शन गरेको फल प्राप्त हुन्छ भन्ने शास्त्रीय मान्यता रहेको पोखरेल बताउँछिन् । तर यसरी दर्शन गर्दा पहिले शक्तिको, त्यसपछि टुँडालहरूको र त्यसपछि तोरणको दर्शन गरेर मात्रै मूल मन्दिरको दर्शनमा जानुपर्ने शास्त्रीय मान्यता रहेको छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)