nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 28th April, 2024
वि.स.
1000043965-1707579226.jpg

लहैलहैमा खाडी पुग्छन् महिला

–रुपा गुरुङ

मकवानपुरको हेटौंडा उपमहानगरपालिका १९, की शान्तिमाया घलान २३ वर्षकी भइन् । उनको श्रीमान वैदेशिक रोजगारिको लागि कतारमा छन् ।

केही दिनअघि काखमा ४ वर्षका छोरो च्यापेर राहदानी बनाउन जिल्ला प्रशासन कार्यालय पुगिन् । राहदानी बनाउने कागजात मिलाउँदै जिल्ला प्रशासनको कोठा चहारिरहेकी थिईन् ।

प्रशासनका एक कर्मचारीले चिट दिएर जिल्ला प्रशासनको गेटैमा बनाईएको सुरक्षित वैदेशिक रोजगार सम्बन्धि परामर्श केन्द्र मा उनलाई पठाए ।

उनले १५ मिनेटसम्म सुरक्षित वैदेशिक रोजगारका विषयमा परामर्श लिईन् । परामर्शको क्रममा भेटिएकी शान्तिमायाले भनिन्, ‘कुवेतमा रहेकी आफ्नी साथीको राम्रो कमाई र लवाई देखेर विदेश जान मन लाग्यो ।’

कुबेत जानका लागि शान्तिमायाले परिवारको समेत अनुमति लिईसकेको बताईन् । उनी साधारण लेखपढ मात्रै गर्न जान्ने उनले श्रीमान नेपाल आएपछि उनी कुवेत जाने तयारी गरेकी रहिछन् ।

साथीको सिफारिसमा कुवेत जान तयार भएकी उनलाई कुन म्यानपावर कम्पनीबाट जाने हो पत्तै छैन । न त काम गर्ने कम्पनी थाहा छ न तलब र सेवा सुविधा नै ।

राहदानी बनाउने हतारोमा रहेकी शान्तिमायालाई परामर्श केन्द्रमा सम्झाईएका कुराहरुमा पनि उति चासो थिएन । शान्तिमायासंगै परामर्श लिन पुगेकी राक्सिराङ गाउँपालिका ६ की रामकुमारी लोप्चन ओमन जाने तयारीमा रहिछन् । आफन्तको सिफारिसमा ओमन जान लागेकी उनले द्रुत सेवा मार्फत राहदानी बनाउन आवेदन दिएकी छिन् ।

दुई छोरी र एक छोरा रहेकी रामकुमारी बाध्यताले विदेश जान लागेको बताउँछिन् । मलेसियामा रहेका श्रीमानले दोस्रो विहे गरेको खबर आएपछि छोराछोरी पढाउनकै लागिउनी ओमन जान लागेको बताईन् ।

शान्तिमायालाई झैं रामकुमारीलाई पनि के काम गर्ने ? काम गर्ने कम्पनी कुन हो ? कति तलब पाइन्छ र कुन म्यानपावर कम्पनीबाट जान लागेको पत्तै थिएन ।

परामर्श केन्द्रमा पुगेर परामर्श लिएता पनि उनले विदेश गएपछि दुःख पो पाइएला कि भन्नेतर्फ सचेत भएको थिइनन् । छोराछोरी हुर्काउन रकम चाहिएकोले जस्तोसुकै काम गर्नुपरेपनि तयार भएको उनले बताएकी थिईन् ।

रामकुमारीलाई श्रीमानसँग आफ्नो अधिकारका लागि लड्नुपर्छ केन्द्रकी परामर्शदाता सरिता लामाले सम्झाईन् । रामकुमारीलाई भने विदेश जानु मात्रै समस्याको समाधान भन्ने लागेको छ । उनले घरायसी कुरामा अल्झिन मन नलाग्ने बताईन् ।

भनिन् – मुद्दा गर्दिन् । अब आ–आफ्नो लाईफ जिउने, ऊ (श्रीमान) आफ्नो काम गरेर खाओस् । म आफ्नो काम गरेर खान्छु ।’ सरकारले घरेलु कामदारको रुपमा महिलालाई खाडी मुलुक पठाउन रोक लगाएको छ । तर, ‘राम्रो’ कमाउने सपनाले महिलाहरु हतारिएर वैदेशिक रोजगारीमा जाने गरेका छन् ।

त्यसरी जानेमध्ये कति बेचबिखनमा परेका छन् त कति हिंसामा । सुरक्षित बैदेशिक रोजगार सम्बन्धि परामर्श केन्द्रकी लामाका अनुसार गैरकानुनी रुपमा खाडी मुलुकजाने अधिकांश महिलाहरु समस्यामा पर्ने गरेका छन् ।

केन्द्रका अनुसार वैदेशिक रोजगारीमा जाने महिलाहरुको संख्या बढ्दै गएको छ । चालु आर्थिक वर्षको फागुनसम्म २ हजार ५ सय २९ जना महिलाले वैदेशिक रोजगारीमा जान परामर्श लिएका परामर्शदाता लामाले बताईन् ।

उनका अनुसार जिल्ला प्रशासन कार्यालय मकवानपुरमा दैनिक दश जना महिला राहदानी बनाउन पुग्छन् ।  कति महिलाहरुलाई एजेन्टले नै घरेलु कामको सट्टा कम्पनीको नाम र काम भन्नु भनेर सिकाएर खाडी मुलुक लाने गरेको केन्द्रकी प्रभा बिडारीले बताईन् । तिमध्ये अधिकांश ग्रामीण क्षेत्रका महिलाहरु रहने गरेका छन् ।

‘दैनिक जसो धेरै महिलाहरु असुरक्षित रुपमा खाडी मुलुक धाईरहेका छन् ।’ बिडारीले भनिन्, ‘रोजगारीको अभाब, गरिबीका कारण दुई चार पैसा कमाउनकै लागि आफ्नो ज्यान जोखिममै राखेर महिलाहरु गैरकानुनी रुपबाट विदेशिन्छन् ।’

महिलाखबरबाट



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)