nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

राक्सिराङले जिल्लामै पहिलो पटक स्थानीय पाठ्यक्रम लागू गर्दै

raksirang-photo-696x522-1604720051.jpg

मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाले मकवानपुरमै पहिलोपटक स्थानीय पाठ्यक्रम निर्माण गरी लागू गर्ने तयारी गरेको छ । नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा उल्लेख भएबमोजिम आफैंले पाठ्यक्रम तयार गरी आगामी शैक्षिक सत्रदेखि लागू गर्नेगरी तयारी पूरा गरेको हो ।

आगामी शैक्षिक सत्रदेखि राक्सिराङमा कक्षा १ देखि ८ सम्मको पाठ्यक्रम लागू गर्ने जनाइएको छ । आगामी वर्षदेखि राक्सिराङमा ५३ वटा सामुदायिक विद्यालयका करिब ५ हजार विद्यार्थीले कक्षा १ देखि ५ सम्मको ऐक्षिक अंग्रेजी र कक्षा ६ देखि ८ सम्मकाले ऐक्षिक कम्प्युटर विषयको साटो स्थानीय तहमा बनेको स्थानीय पाठ्यक्रमको अध्ययन गर्नेछन् । स्थानीय पाठ्यक्रमको पूर्णाङ्क एक सयको हुनेछ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा दफा ११ को ज (४) मा मातृ भाषामा शिक्षा दिने विद्यालयको अनुमति, अनुगमन तथा नियमनसम्बन्धी व्यवस्था गरी स्थानीय पाठ्यक्रम कार्यान्वयन गर्न सकिने उल्लेख छ । त्यस्तै दफा ११ (ज) १८ मा स्थानीय स्तरको शैक्षिक ज्ञान, सीप र प्रविधिको संरक्षण, प्रवद्र्धन र स्तरीकरणको कुरा उल्लेख गरिएको छ ।

सोही ऐनलाई टेकेर गाउँपालिकाले स्थानीय पाठ्यक्रम तयार गरी लागू गर्ने तयारी गरिएको गाउँपालिकाका शिक्षा शाखाका अधिकृत प्रदिप पराजुलीले जानकारी दिए । ‘हामीले गत जेठदेखि स्थानीय पाठ्यक्रम निर्माणको काम सुरु गरेका थियौं । अहिले सबै प्रक्रिया पूरा गरी पाठ्यपुस्तक छपाईको काम सुरु भएको छ । अबको केही दिनमा नै स्थानीय पाठ्यक्रम गाउँ कार्यपालिकाले स्वीकृत गर्दैछ । त्यसपछि कार्यान्वयनमा जानेछ ।’ शिक्षा अधिकृत पराजुलीले भने । आगामी माघ फागुनसम्ममा पाठ्यपुस्तक पनि छपाई सकिनेछ र आगामी शैक्षिक सत्रदेखि कार्यान्वयनमा जानेछ ।’

गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माण समिति गठन गरी काम थालेको थियो । सुरुको चरणमा पाठ्य पुस्तकमा के कस्ता सामाग्री राख्ने भन्नेबारे गाउँपालिकाको चैनपुर, सरिखेत, सिलिङे र खैराङमा छुट्टाछुट्टै कार्यशलाको आयोजना गरेको थियो । उक्त कार्यशालामा वडाअध्यक्ष, सदस्य, शिक्षक, विद्यार्थी, अभिभावmक, बाल क्लवका प्रतिनिधिलगायत सरोकारवालाको सहभागिता रहेको थियो । दोस्रो चरणमा गाउँका सबै सरोकारवालाको सहभागितामा चितवनको सौराहामा ५ दिनसम्म स्थानीय पाठ्यक्रम विकास तथा पाठ्यपुस्तक लेखन कार्यशालाको समेत आयोजना गरिएको थियो । समुन्नत नेपाल र शान्ति भोलेन्टियर एशोसिएसनको आर्थिक तथा प्राविधिक सहयोगमा गाउँपालिकाले सथानीय पाठ्यक्रमको तयारी थालेको थियो ।

सौराहामा भएको पाँच दिने कार्यशालामा पाठ्यक्रम विकास केन्द्रका अधिकृत हेमराज खतिवडा र विज्ञ उद्दवप्रसाद पोखरेललगायतले पाठ्यक्रम निर्माणमा सहजीकरण गरेका थिए । उक्त कार्यशालामा स्थानीय पाठ्यक्रमको तहगत तथा क्षेत्रगत उद्देश्य निर्धारण गरिनुका साथै परीक्षा प्रणाली, पूर्णाङ्कलगायतको विषय टुङ्ग्याइएको थियो । स्थानीय पाठ्यक्रममा गाउँका पर्यटकीय स्थल, गाउँपालिकाको भौगोलिक, आर्थिक, सामाजिक, राजनीतिक अवस्थिति, ऐतिहासिक स्थलबारे जानकारी, हावापानी, कृषि तथा त्यसको सम्भावनालगायतको बारेका ज्ञान समेटिएको छ । गाउँपालिकामा चेपाङ जातिको बाहुल्यता रहेकोमा चेपाङ समुदायको बारेमा करिब ३५ प्रतिशतभन्दा बढी ज्ञानवद्र्धक सामाग्री छनौट गरिएको गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ ।

गाउँपालिकाको सार्वजनिक महत्वको क्षेत्र, चट्याङ, बाढी पहिरो जस्ता प्राकृतिक प्रकोपको सम्भाव्य क्षेत्र र त्यसकोकारण, चेपाङ जातिले मनाउने चाढपर्व, उनीहरुका रहनसहन, भेषभुषा, भाषा, संस्कृति, गाउँपालिका भित्र रहेका खोला नालालगायतको बारेमा प्रष्ट उल्लेख गरिएको गाउँपालिकाका शिक्षा शाखाका अधिकृत पराजुलीले बताए । उनका अनुसार विद्यार्थीले कक्षा ८ सम्म उत्तिर्ण गर्दा आफ्नो गाउँपालिकाको बारेमा सबै प्रकारका ज्ञान हासिल गरिसक्नेछन् । मकवानपुरमा पहिलो पटक राक्सिराङ गाउँपालिकाले स्थानीय पाठ्यक्रम लागू गर्न लागेको भन्दै पराजुलीले पाठ्यक्रम लागू भएपछि गाउँको समग्र विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।

-प्रदेश सञ्चारबाट लिइएकाे खबर ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)