nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 29th April, 2024
वि.स.
1000043965-1707579226.jpg

बन्दाबन्दीमा भीमफेदी–कुलेखानी सडक विस्तार धमाधम

Kulekhani-1586263527.jpg

बन्दाबन्दी (लकडाउन) को समय पारेर बागमती प्रदेशले दक्षिणकाली–हेटौंडा सडकखण्ड अन्तर्गत भीमफेदी–कुलेखानी सडक विस्तारको काम अगाडि बढाएको छ।

दैनिक करीब २ हजार ५ सय सवारीसाधन आउजाउ गर्ने यो सडक विस्तारमा अन्योल भइरहेका वेला प्रदेशले बन्दाबन्दीको समयमा काम अगाडि बढाएको हो। ४ मिटर चौडा सडक विस्तार गरी ६ मिटर बनाउने योजना छ।

बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयालले अहिले सवारी साधन बन्द भएको समयलाई सदुपयोग गरी सडक विस्तारको काम गरिएको बताए। “दैनिक सयौं गाडी रोकेर सडक विस्तार कसरी गर्ने भन्ने चिन्ता प्रदेश सरकारलाई थियो” उनले भने, “मुख्यमन्त्री, म र कर्मचारी सहितको बैठक बसेर संक्रमणबाट जोगिन सुरक्षा अपनाएर काम गर्न सकिन्छ भने काम नरोकौं भन्ने सहमति बनेपछि काम गरिएको छ।”

यातायात पूर्वाधार निर्देशनालय हेटौंडाका निमित्त निर्देशक सहदेवबहादुर भण्डारीका अनुसार, भीमफेदीदेखि कुलेखानीसम्म दैनिक ६ वटा डोजरले बाटो विस्तार गरिरहेका छन्। भीमफेदीदेखि देउरालीसम्म ८ किलोमिटर सडक निर्माणका लागि रु.१७ करोड र देउरालीदेखि कुलेखानीसम्म ७ किलोमिटरका लागि रु.१५ करोडमा ठेक्का लागेको छ। गएको १६ माघमा मोतीदाना कन्स्ट्रक्सनसँग सम्झौता भएको थियो।

कुलेखानी विद्युत् गृह निर्माणको सामान ओसारपसार गर्न निर्माण गरिएको यो सडक साँघुरो भएकाले ठूला सवारी साधन ओहोरदोहोर गर्न मिल्दैन। बल्खुदेखि हेटौंडासम्म ७६ किलोमिटर यो सडकमा टाटासुमो लगायत साना सवारी साधन सञ्चालन हुँदै आएका छन्।

संघीय राजधानी काठमाडौं र प्रदेश राजधानी हेटौंडालाई जोड्ने मुख्य सडक भएकाले यो सडक बाग्मती प्रदेशको प्राथमिकतामा रहेको भौतिक पूर्वाधार विकासमन्त्री फुयाँलले बताए।

हेटौंडा, भीमफेदी, कुलेखानी, सिस्नेरी, दक्षिणकाली हुँदै काठमाडौं जोड्ने सडक निर्माणको शुरुआत २०४९ सालदेखि भएको हो। तर, बजेट र अन्य स्रोत साधनको अभावले दक्षिणकालीदेखि कुलेखानीसम्मको निर्माण कार्य २०६३ सालमा मात्र सम्पन्न भएको थियो। दक्षिणकालीदेखि सिस्नेरी हुँदै कुलेखानी र फाखेल हुँदै कुलेखानीसम्म सडक जोडिएपछि बल्खु–हेटौंडा सवारी साधन सञ्चालनमा आएका हुन्।

यो सडक निर्माण हुनुमा फाखेल, सिस्नेरी र कुलेखानीका बासिन्दाहरू मकवानपुर–२ का पूर्व सांसद सुभाषचन्द्र ठकुरी, कुलेखानी गाविसका पूर्व अध्यक्ष राजुमान महर्जन र जिल्ला विकास समिति मकवानपुरका पूर्व सभापति वीरबहादुर लामालाई जस दिन्छन्। यो सडक बनेपछि आफ्नो आर्थिक स्थितिमा परिवर्तन आएको उनीहरूको भनाइ छ।

२०४९ सालमा सिस्नेरी गाविस अध्यक्ष निर्वाचित भएका ठकुरीकै पहलमा सडक निर्माण शुरु भएको थियो। ठकुरी भन्छन्, “वर्षमा तीन महीना अनिवार्य श्रमदान गर्नुपर्ने निर्णय गाउँ परिषद्बाट गराएर सडक निर्माणमा स्थानीयको सहभागिता जुटाइएको थियो।” २०४९ सालमै जिविस मकवानपुरको सभापति बनेका वीरबहादुर लामाले पनि सडक निर्माण अगाडि बढाउन योगदान गरेका थिए।

२०५४ सालको स्थानीय निर्वाचनमा पनि सिस्नेरीवासीले ठकुरीलाई नै गाविस अध्यक्षमा जिताए। त्यही वर्ष कुलेखानी गाविस अध्यक्षमा निर्वाचित राजुमान महर्जनले पनि ठकुरीको पहलमा साथ दिएपछि सडक निर्माणले गति लिएको थियो।

-मुकेश पोखरेल, हिमालखबरबाट साभार



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)