Saturday, 27th July, 2024
वि.स.

प्राकृतिक सुन्दरताले भरिपूर्ण (विर फाखेलमैत्री पार्क) सलेमले (फोटो फिचर)

63BC7A22-D58F-438B-AAA7-B-1625103803.jpg

मकवानपुर । बागमती प्रदेश सरकारको प्रमुख पर्यटकीय गन्तव्य इन्द्रसरोवरको एउटा महत्वपूर्ण गन्तव्य हो विर फाखेल मैत्री पार्क । इन्द्रसरोवर गाउँपालिका वडा नं. ४ फाखेलको मछिन्द्र वनमा अवस्थित पार्कलाई सलेमले डाँडाको नामले बढी चिनिन्छ । इन्द्रसरोवरका विभिन्न स्थानहरु सँगै काठमाडौँ र सुन्दर हिम श्रृङ्खलाहरुको दृश्यावलोकन गर्न यो डाँडा अतिउपयोगी रहेको छ ।  

बिहानीको समयमा चियाको चुस्की सँगै सुर्योदय र साँझपख सुर्यास्तको मनमोहक दृश्यावलोकन गर्ने सपना देख्नेहरुका लागि एकदमै उपयुक्त गन्तव्य हो विर फाखेल मैत्री पार्क । भेडाफार्म जस्तै हरियाली चउर रहेको सलेमले डाँडालाई तनाव व्यवस्थापन गर्न, शान्त वातावरणमा घुमफिर र पिकनिकका लागि उपयुक्त स्थानका रुपमा लिन सकिन्छ । प्राकृतिक सुन्दरता सँगै यो डाँडाले एतिहाँसिक महत्व पनि बोकेको छ । 


तत्कालिन निरङ्कुस पञ्चायती शासन व्यवस्थाको विरुद्धमा लागेबापत जेल सजाय भोगीरहेका राजनेताहरुले सुरुङ खनेर नख्खु जेल तोडी फरार भएका अग्रज कम्युनिस्टहरुले सेल्टर लिइ (लुकेर बसेका) बसेको स्थान र तत्कालिन कम्युनिस्ट पार्टीको ऐतिहासिक केन्द्रीय कमिटिको बैठक बसेको स्थलको रुपमा पनि सलेमले डाँडा परिचित रहेको छ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल स्थापनाको संवाहक २०३३ चैत्र १२ गते रातीको ऐतिहासिक नक्खु जेल बिद्रोह÷ब्रेकको इतिहाँस बोकेको ऐतिहाँसिक स्थान भएकाले सलेमले डाँडाललाई विर फाखेल मैत्री पार्कको नाम दिइएको छ । 


जहाँ नक्खु जेल ब्रेकपछि राजनेताहरु सिपी मैनाली, प्रदीप नेपाल, वीर बहादुर लामा, माधव पौडेल लगायतले पहिलो रात कटाएर महिनौ महिना भूमिगत जीवन बिताएका थिए भने उक्त क्षेत्रका जनसमुदायहरुले आफ्नो जीवनको बाजी लगाएर खाना खुवाउँदै राजनेताहरुको संरक्षण गरेको जानकारहरुले बताउँदै आएका छन् ।


प्राकृतिक सुन्दरताले भरिपूर्ण र ऐतिहाँसिक सलेमले डाँडालाई संरक्षण र प्रवद्र्धन गर्न इन्द्रसरोवर गाउँपालिकाले उक्त डाँडालाई विर फाखेल मैत्री पार्कको रुपमा विकास गर्न बजेट व्यवस्था गरी डिपीआर समेत निर्माण गरिसकेको छ । डिपीआर बनेसँगै बोलपत्र आव्हान गरी पार्क निर्माणको कार्य अगाडी बढाउने प्रक्रियामा रहेको गाउँपालिकाका अध्यक्ष जीवन लामाले जानकारी दिए ।


सलेमले डाँडालाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न जंगल सफारी, पिकनिक सुविधा, प्याराग्लाइडिङ, भाले बास्ने स्थान अवलोकन, पैदल मार्ग, सरकारी गाई गोठको इतिहास, घोडचढी, साइक्लिङ्ग, चरा तथा वन्य जन्तु अवलोकन, अर्गानिक तरकारी तथा फलफूल, तामाङ संस्कृति, सलेमलेबाट दृश्यावलोकन लगायतका गतिविधिका लागि सलेमले डाँडालाई पर्यटकीय आकर्षणको विन्दुको रुपमा विकास गर्न सकिन्छ ।

तस्विरः– सुरज पाख्रिन (फोटो पत्रकार)

हेर्नुहोस् विर फाखेल मैत्री पार्कको डिपीआरः–



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।