nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 28th April, 2024
वि.स.
1000043965-1707579226.jpg

सामाजिक विकास मन्त्रालय वित्तिय प्रगतिमा अगाडि

mukhaya-1574732971.jpg

चालू आर्थिक वर्ष २०७६/ ७७ को पहिलो चौमासिकमा प्रदेश ३ सरकार बजेट खर्च गर्न सकेको छैन । मुख्यमन्त्री डोरमणि पौडेलले परम्परागत रुपमा बजेट खर्च गर्दा विकास नभएको बताउँदै आएपनि प्रदेश सरकारको काम गर्ने शैलीमा फरकपन देखिएको छैन ।

प्रदेश सरकारको चालु आवको चार महिनामा विकासे खर्च २ दशमलव ७० प्रतिशत मात्र गरेको छ । सरकारले तलब भत्तामा भने ५ दशमलव ७० प्रतिशत खर्च गर्न सफल भएको छ । साउनदेखि कात्तिक मसान्तसम्म सरकारले चालु र पूजिगत गरेर जम्मा २ अर्ब १ करोड ७८ लाख ३९ हजार ९ सय ६४ रुपैयाँ अर्थात् जम्मा ४ दशमलव २० प्रतिशतमात्र खर्च गरेको छ ।

प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार प्रथम चौमासिकमा प्रदेश सरकारले चालूतर्फ १ अर्ब ४० करोड ४६ लाख अर्थात् ५ दशमलव ७० प्रतिशत र पुँजीगततर्फ ६१ करोड ३३ लाख अर्थात् २ दशमलव ७० प्रतिशत मात्र खर्च गरेको छ । साउन १ गतेदेखि कार्यान्वयन हुनेगरी प्रदेश सरकारले ४७ अर्ब ६० करोड ७५ लाख ६८ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको थियो । जसमध्ये ५१ दशमलव ३९ प्रतिशत अर्थात् २४ अर्ब ४६ करोड रुपैयाँ चालूगत खर्च छुट्याइएको बजेटमा पुँजीगततर्फ ४७ दशमलव ९८ प्रतिशत अर्थात् २२ अर्ब ८३ करोड ९८ लाख रुपैयाँ विनियोजन गरिएको थियो । प्रदेश सरकारले वित्तीय व्यवस्थापनमा ३० करोड रुपैयाँ छुट्याएको छ ।

प्रथम चौमासिकमा सामाजिक विकास मन्त्रालयले सबैभन्दा बढी खर्च गरेको छ । प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार मन्त्रालयले ६३ करोड ७० लाख अर्थात् १० दशमलव २ प्रतिशत खर्च गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले २ करोड ९६ लाख अर्थात् ४ दशमलव ८ प्रतिशत, आर्थिक मामिला तथा योजना मन्त्रालयले १ करोड ३१ लाख अर्थात् ४ दशमलव २० प्रतिशत, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले २ करोड ५५ लाख अर्थात् ५ दशमलव १० प्रतिशत, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले २४ करोड ५९ लाख अर्थात् ५ प्रतिशत, आन्तरिक मामिला तथा कानुन मन्त्रालयले २ करोड ७ लाख अर्थात् १ दशमलव ४ प्रतिशत र भौतिक पूर्वाधार विकास मन्त्रालयले ४४ करोड २२ लाख अर्थात् ३ दशमलव ६ प्रतिशत खर्च गरेको लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

कार्यालयले प्रदेशसभाले ५ करोड ७७ लाख अर्थात् १३ दशमलव ६ प्रतिशत, प्रदेश नीति तथा योजना आयोगले ५२ लाख अर्थात् ८ प्रतिशत र स्थानीय तह अनुदानतर्फ १० करोड ७५ लाख अर्थात् ५ दशमलव ८ प्रतिशत खर्च भएको उल्लेख गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले चालू आर्थिक वर्षको बजेट कार्यान्वयनको सुरुवातसँगै यो वर्ष शतप्रतिशत खर्चिने दाबी गरेका छन् । ‘दोस्रो चौमासिकमा पुँजीगत खर्च ह्वात्तै बढ्छ,’ उनले भने, ‘गत आर्थिक वर्ष प्रदेश सरकार व्यवस्थापन, कानुन निर्माणमा जुटेकोले बजेट खर्च कम भएको हो ।’

प्रदेश सरकारले गत वर्ष पुँजीगत खर्चतर्फ २१ अर्ब ७५ करोड ३० लाख ९ हजार रुपैयाँ विनियोजन गरेकामा ९ अर्ब ५५ करोड २२ लाख रुपैयाँ अर्थात् ४७ प्रतिशत र चालूतर्फ १३ अर्ब ८६ करोड २५ लाख ९१ हजार विनियोजन भएकामा ११ अर्ब १० करोड रुपैयाँ अर्थात् ८० प्रतिशत बजेट खर्च गरेको थियो ।

-कान्तिपुर दैनिकबाट



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)