nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 2nd May, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरको शैक्षिक सुदृढीकरणबारे अन्तरक्रिया
 एकजुट भएर लाग्ने सबैको प्रतिवद्धता 

antarkriya-1521372694.jpg

मकवानपुरकै तेस्रो जेठो विद्यालय जनकल्याण मावि तथा थाहा नगरको शैक्षिक सुदृढीकरणबारे काठमाण्डौंमा अन्तरक्रिया भएको छ । कलंकीस्थित कोजी फुड ल्याण्डमा थाहानगरका करिब सय जनाको सहभागितामा अन्तरक्रिया भएको हो । कार्यक्रममा सहभागीहरुले जनकल्याण मावि र समग्र थाहाको शैक्षिक विकासमा एकजुट हुने प्रतिवद्धता व्यक्त गरेका छन् । 
थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जनकल्याण माविका प्रधानाध्यापक सानोभाइ कार्कीले विद्यालयको आगामी कार्यक्रमको बारेमा लिखित योजना पेश गरेका थिए । अँग्रेजी माध्यममा अध्यापन, एक कक्षा एक प्रोजेक्टर, प्राविधिक शिक्षा, विज्ञान संकाय संचालन लगायतको योजना प्रस्तुत गरेका कार्कीले पाँच वर्षमा उक्त योजना सम्पन्न गर्न करिब ७६ लाख रुपैया लाग्ने बताए । जनकल्याण मावि पूर्व विद्यार्थी समूह, २०५२ व्याचले कार्यक्रमको आयोजना गरेको थियो । 
कार्यक्रमकै अवसरमा पूर्व विद्यार्थी एवम् समाजसेवी अच्युत्तमप्रसाद ढकालले ‘पूर्व विद्यार्थीहरुको अग्रता, जनकल्याणको सफलता’ शीर्षकमा अवधारणापत्र प्रस्तुत गर्दै थाहानगरको शैक्षिक विकासका लागि गर्नुपर्ने कामहरु र श्रोतहरुको बारेमा अवधारणा राखेका थिए । 
कार्यक्रममा बोल्दै प्रमुख अतिथि विष्टले स्थानीय तह आफैमा स्वायत्त भएकाले संविधानले दिएको अधिकार प्रयोग गरी नगरको शैक्षिक विकासका लागि उपयुक्त शिक्षा ऐन, नीति तथा कार्यक्रमहरु ल्याउने बताए । ‘तपाईंहरुसँग अन्तरक्रिया गर्न पाउँदा ज्यादै खुशी लाग्यो, अब शिक्षासम्बन्धी ऐन, नीति र गुरुयोजना बनाउँदा तपाईंहरुलाई पनि बोलाउँछु, सुझाव लिन्छु’ प्रमुख विष्टले भने । 
त्यस्तै, थाहा नगरका उपप्रमुख खड्ग गोपालीले २०५२ सालको व्याचले शुरु गरेको  पहल सकारात्मक रहेको भन्दै जनकल्याणका सबै पूर्व विद्यार्थीहरुले आफू पढेको विद्यालयको लागि थोरै मात्र सोच्ने हो भने पनि विद्यालयको उन्नति हुन बेर नलाग्ने बताए । जनकल्याणका सबै पूर्व विद्यार्थीहरुको सहभागितामा विद्यालय प्राङ्गणमा वृहद भेला आयोजना गरी अन्तरक्रिया गर्नुपर्ने उनको धारणा थियो । 
कार्यक्रममा भुवनप्रकाश विष्ट, कुमार थापा, अर्जुन कार्की, उमेश ढकाल, विष्णुहरि ढकाल, जीवन केसी, लक्ष्मण विष्ट, दीपक कार्की, ओमबहादुर विष्ट, कविराज खत्री, शिबकुमार खत्री, यदुकुमार बस्नेत लगायतले आआफ्नो धारणा राखेका थिए । कार्यक्रममा व्यक्त प्रस्तुती, अवधारणा, विचार र सुझावहरुलाई टिप्पणी गर्दै जनकल्याण माविका पूर्व विद्यार्थी एवम् महेन्द्ररत्न क्याम्पसका सहप्राध्यापक बद्रिप्रसाद बिडारीले शिक्षामा लगानी र उत्पादनमा विशेष जोड दिएर अघि बढ्नु पर्ने बताए । उनले जनकल्याणको विकासमा लक्ष्यसहितको आवधिक योजना बनाएर अघि बढ्न प्रअ कार्कीलाई सुझाव दिए । 
जनकल्याण माविमा अध्ययन गरेका पूर्व विद्यार्थीहरुको काठमाण्डौं भेला पछि हेटौंडा र पालुङमा छुट्टा छुट्टै भेला गरी अन्त्यमा जनकल्याण माविमा पूर्व विद्यार्थी सम्मेलनको आयोजना गर्ने २०५२ व्याचका अध्यक्ष कुमार नेगीले बताए । ‘पूर्व विद्यार्थीहरुको तर्फबाट विद्यालयका लागि केही गरौं भन्ने भन्ने उद्धेश्यले अघि बढेका छौ, पूर्व विद्यार्थीहरु जो जहाँ भए पनि सम्पर्कमा आइरहनु भएको छ र सम्पर्कमा नरहेका पूर्व विद्यार्थीहरुलाई पनि सम्पर्कमा ल्याउने प्रयास भइरहेको छ,’ नेगीले भने ।
पूर्व विद्यार्थी अच्युत्तमप्रसाद ढकालको विशेष सहयोग रहेको कार्यक्रममा २०५२ व्याचका विद्यार्थीहरु कपिल थापा, प्रमोद ढकाल, दीपक कार्की, रामहरि कार्की, लक्ष्मण विष्ट, राजकुमार कार्की लगायतले व्यवस्थापनमा सहयोग गरेका थिए । कुमार नेगीले संचालन गरेको कार्यक्रम जनकल्याण एल्मुनाई एसोसिएसन काठमाण्डौं सम्पर्क मञ्चका संयोजक राजाराम अधिकारीको अध्यक्षतामा भएको थियो । कार्यक्रमलाई फेसबुकबाट लाइभ प्रसारण गरिएको थियो । मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती, गढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीम परियार, एमाले जिल्ला कमिटी सचिवालय सदस्य रामचन्द्र बल, एमाले थाहा नगर अध्यक्ष विष्णुप्रसाद ढकाल, माओवादी थाहा नगरअध्यक्ष अरुण रायमाझी, थाहानगर पालिकाका शिक्षा शाखा प्रमुख लक्ष्मण दाहाल, जनकल्याण माविका अध्यक्ष राजिव स्याङ्तान, लेकाली बसिफाँट माविका प्रअ एलएल मण्डल, अध्यक्ष विनोद लामा, मत्स्य नारायण माविमा प्रअ विष्णुहरि ढकाल, २०५२ व्याचसहित पूर्व विद्यार्थीहरु लगायत सय बढी व्यक्तिहरुले फेसबुक लाइभमार्फत कार्यक्रममा सहभागिता जनाएका थिए । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)