nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 23rd April, 2024
वि.स.
1000043965-1707579226.jpg

ठोरीमा नेपालले सीमा क्षेत्रमा काँडेतार लगायो

kkk-1589509745.jpg

लिपुलेक र कालापानी क्षेत्रमा भारतीय पक्षले मिचेको सीमाको विषयलाई लिएर सडकदेखि सदनसम्म सीमा क्षेत्रमा काँडेतार लगाउनुपर्ने भन्दै विरोधको आवाज उठिरहेको बेला पर्साको पश्चिमी क्षेत्र ठोरी गाउँपालिकाका एक वडाध्यक्षले भारतसँग जोडिएको सीमा क्षेत्रमा काँडेतार नै लगाइदिएका छन् ।

ठोरी गाउँपालिका–३ का वडाध्यक्ष सूर्य लामाले भारतको विहारसँग सीमा जोडिएको वडा–३ अन्तर्गत पर्ने ठुटेखोला नजिकैको पिल्लर नम्बर ४३५र१ देखि ४३१र४ सम्मको करिब ५ किलोमिटरको दूरीमा काँडेतार लगाएका हुन् ।

वडाध्यक्ष लामाले स्थानीय प्रशासन, प्रहरी र गाउँपालिका अध्यक्षको सहयोगमा २०७४ मंसिरबाट तार लगाउन सुरु गरिएको र ठुटे खोलादेखि ब्रह्मनगरसम्म गरी १९ वटा साना ठूला पिल्लर रहेका करिब ५ किलोमिटर क्षेत्रमा अन्तर्राष्ट्रिय कानुनअनुसार दशगजा क्षेत्र छाडेर तार लगाएको जानकारी दिए ।कोरोना संक्रमणको सन्त्रासपछि गत ११ चैतदेखि सरकारले देशभर लगाएको ‘लकडाउन’पछिको हालसम्मको अवधिमा करिब १ हजार ५ सय मिटर काँडेतार लगाइएको छ ।

यो अवधिमा वडाभित्रका भारतसँग सीमा जोडिएका १ हजार ८ सय मिटर क्षेत्रमा तार लगाउन बाँकी रहेकामा भारतीय पक्षको अवरोधपछि ३ सय मिटर तार लगाउने काम रोकिएको छ । सो क्षेत्रमा दुवैतर्फका प्रतिनिधि बसेर नापजाँच गरेर तार लगाइने सहमति रहेको उनले जनाएका छन् ।

‘छिमेकी मुलुकले देशभर सीमा अतिक्रमण गर्दा कताकता दुख्दो रहेछ । मैले आफ्नो वडाअन्तर्गत पर्ने सीमा क्षेत्रबाटै भए पनि भूमि जोगाउन काँडेतार लगाउन सुरु गरें,’ वडाध्यक्ष लामाले राजधानीसँग भने, ‘भारतीय पक्षले विवाद गराएर अवरोध गरेपछि ३ सय मिटर बाँकी काम रोकियो । त्यो पनि सहमतिबाट छिट्टै सुरु हुन्छ ।’

विकास बजेट कटाएर काँडेतार

वडाध्यक्ष लामाले गाउँपालिकाबाट वडाका लागि आएको विकास बजेटबाट छुट्याएर आफूले सीमा क्षेत्रको सुरक्षाका लागि काँडेतार लगाएको जानकारी दिए । २०७४ देखि हालसम्म विकास बजेटबाट तारबारका लागि पहिलो वर्ष १५ लाख, दोस्रो वर्ष १० लाख र गत वर्ष ८ लाख बजेट कटौती गरेर सीमा क्षेत्रमा तार लगाएको उनले बताएका हुन् ।

‘आठ वर्षदेखि भारत गएको छैन’

भारतसँगको सीमा विवादको विषयकै कारण विगतदेखि नै आफू सीमा क्षेत्र कटेर भारततर्फ नगएको उनी बताउँछन् । भरतीय पक्षसँगको विवादका कारण पटक–पटक ठोरीमा भएका झडपका घटनामा अग्रपंक्तिमा रहेका कारण आफू भारततर्फ जाने वातावरण नरहेको उनले जनाए ।
‘धेरै पहिलेदेखिका सीमा विवादका घटनामा उनीहरूको नजरमा म बाधक छु । कहिले सीमा, कहिले कुलो र कहिले पुलका विषयमा विवाद हुन्छ । म त्यता नगएको आठ वर्ष भयो,’ लामाले भने ।

सबै स्थानीय तह ताते विवाद रहँदैन

देशभरका सबै सीमा नाकामा पर्ने स्थानीय तहका जनप्रतिनिधिले आफ्नो क्षेत्रमा पर्ने सीमा क्षेत्रमा तार लगाए वर्षैपिच्छे विवादको विषयमा अल्झिन नपर्ने उनी बताउँछन् ।
‘देशभरका सीमा क्षेत्रमा पर्ने स्थानीय तहका जनप्रतिनिधि ताते सधैंका लागि सीमा विवाद टुंग्याउन सकिन्छ । सरकारबाट हुने सहयोग रहे असम्भव छैन,’ लामाले भने ।

‘खेतीबाली पनि बच्यो’

ठोरी गाउँपालिकाका अध्यक्ष पीएल श्रेष्ठले तारबारपछि एकातिर सीमा क्षेत्रमा हुने अवैध गतिविधि बन्द भएको र अर्कातिर भारततर्फको जंगलबाट आउने जंगली जनावरबाट आजित भएका स्थानीयहरु खुसी भएको बताए । 

‘तारबार हुँदा दुवैतर्फ हुन सक्ने अवैध गतिविधि रोकिएको छ, अर्कातिर भारततर्फको जंगलबाट आउने जंगली जनाबरबाट खेतीबाली पनि जोगिएको छ,’ गाउँपालिका अध्यक्ष श्रेष्ठ भन्छन् ।

स्थानीय युवा छतेन्द्र आचार्यले भने ठोरी–३ का वडाअध्यक्षबाट देशले नै सिक्नुपर्ने बताए ।
‘वडा अध्यक्षज्यूले देशलाई नै सिकाउने गरी उदाहरणीय काम गर्नुभयो । सरकार र सबै स्थानीय तहले चाहे असम्भव केही छैन भन्ने देखियो,’ आचार्यले भने । राजधानी दैनिकमा खवर छ ।