nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 6th May, 2024
वि.स.
1000043965-1707579226.jpg

घुमफिरका लागि भरतपुर महानगरको तीन करोड बढी बजेट

bharatpur-1540776809.jpg

भरतपुर महानगरपालिकाले आर्थिक वर्ष ०७५/०७६ मा भ्रमणमा मात्रै ३ करोड बढी रकम खर्च गर्ने भएको छ । भ्रमण शीर्षकमा छुट्याएको यो रकम महानगरको आन्तरिक आयको झन्डै ५ प्रतिशत हुन जान्छ ।

महानगरपालिका कार्यालयको सिको गर्दै महानगरका वडाहरुले पनि आफ्नो वडाको बजेट भ्रमण खर्चमा छुट्याएका छन् । भरतपुर महानगरपालिकाले महानगरवासीबाट राजस्व संकलन गर्ने ५५ करोडको आन्तरिक स्रोतको आम्दानीको करिब ५ प्रतिशत (२ करोड ८४ लाख) भ्रमणमा खर्च गर्न लागेको हो । संघीय सरकारबाट प्राप्त रकममा १७ लाख र प्रदेश सरकारबाट प्राप्त रकममध्ये ६ लाख खर्च भइरहेको छ ।
यसरी महानगरले आफ्नो कुल बजेटको ठूलो रकम भ्रमण खर्चका लागि छुट्याएपछि विकास बजेट प्रभावित हुने खतरा बढेको सरोकारवालाहरुले बताएका छन् ।

उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सहन प्रधान महानगरको भ्रमण बजेट अत्यधिक भएको र आन्तरिक आयको यति ठूलो रकम भ्रमणमा खर्च गर्नु उपयुक्त नहुने बताउँछन् । प्रधानले भने, ‘संस्थागत विकासका लागि खर्च गर्ने भनेको भए हुन्थ्यो, तर भ्रमणमा खर्च गर्नु त ठीक भएन ।’ 

वाम बुद्धिजीवी प्रेम रिमालले भ्रमण खर्चहरु उपलब्धिमूलक हुनुपर्ने बताएका छन् । ‘३ करोडको भ्रमण खर्चअनुसार महानगरको ३ अर्बको उपलब्धि हुनुपर्छ’, रिमालको भनाइ छ । स्थानीय निकायले उपलब्धि शून्य भ्रमणहरु गर्न नहुने र उत्पादनशील कार्यमा बजेट केन्द्रित गर्नुपर्ने रिमालले बताए ।
नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडा भन्छन्, ‘आन्तरिक आयको ५ प्रतिशत रकम भ्रमणमा खर्च गर्नु ठीक भएन, स्थानीय निकायले नागरिकको आवश्यकतामा खर्च गर्ने हो भ्रमणमा होइन ।’ अहिले स्थानीय निकाय जवाफदेही हुन नसकेको उनले बताए ।

नेपाली कांग्रेस चितवनका उपसभापति कैलाश कोइरालाले महानगरपालिकाले करको दायरा बढाएर भ्रमण खर्च गर्नु राम्रो नभएको बताए ।
महानगरले भ्रमण खर्चको सबैभन्दा बढी अनुगमन, मूल्यांकन र भ्रमण शीर्षकअन्तर्गत १ करोड ४० लाख छुट्याएको छ । संस्थागत विकास खर्चअन्तर्गत भ्रमण खर्च शीर्षकमा ५० लाख, विशिष्ट व्यक्ति तथा प्रतिनिधिमण्डलको भ्रमण खर्चमा ३० लाख, अन्य भ्रमण खर्चमा ३० लाख र कर्मचारी तथा जनप्रतिनिधिहरुलाई अध्ययन अवलोकन शीर्षकमा १२ लाख विनियोजन गरिएको छ ।

राजस्व महाशाखाअन्तर्गतको बजेटमा ४ लाख कर्मचारी र जनप्रतिनिधिको भ्रमणमा छुट्याइएको छ । कृषि विकास कार्यक्रमअन्तर्गत कर्मचारी, जनप्रतिनिधि, कृषक, कृषक समूह अवलोकनमा २ लाख ५० हजार राखिएको छ । यस्तै, सहकारी क्षेत्रको बजेटअन्तर्गत फेरि कृषक, कर्मचारी, पदाधिकारी भ्रमण शीर्षकमा २ लाख छुट्याइएको छ ।

यस्तै, वातावरण तथा विपद् व्यवस्थापनअन्तर्गत वातावरणमैत्री वडा घोषणा भएका वडाका अभियन्तालगायतलाई अवलोकन भ्रमणमा रु.१० लाख र वातावरण समिति र सरोकारहरुको अध्ययन अवलोकन भ्रमण तथा क्षमता वृद्धि तालिममा रु.१० लाख छुट्टाइएको छ । यसैगरी सामाजिक विकास महाशाखाअन्तर्गत बालमैत्री स्थानीय शासन समिति र बाल सञ्जालका पदाधिकारीहरुको अध्ययन अवलोकन भ्रमणका लागि रु. १ लाख ५० हजार तथा महिला स्वास्थ्यसेवा दिवस तथा उत्कृष्ट महिला स्वास्थ्य स्वयम्सेविकाहरुका लागि अध्ययन भ्रमण तथा प्रोत्साहनमा रु ५ लाख बजेट छुट्टाइएको छ ।

यस्तै, वडा कार्यालयहरुले पनि वडाको बजेटअन्तर्गत भ्रमण खर्चमा बजेट छुट्याएका छन् । महानगरको वडा नम्बर २९ ले अवलोकन भ्रमण शीर्षकमा २ लाख विनियोजन गरेको छ । वडा अध्यक्ष मनबहादुर मगरले उक्त बजेटबाट वडाका जनप्रतिनिधि र कर्मचारीको १० जनाको टोली पूर्वी नेपालको विराटनगर, दार्जलिङ्ग लगायतका स्थानहरुको भ्रमण गरेको र ती स्थानहरुको विकास हेरेको बताए ।

यस्तै, वडा नम्बर २० ले पदाधिकारी, कर्मचारीको भ्रमणमा १ लाख ५० हजार र ज्येष्ठ नागरिकहरुलाई तीर्थ भ्रमण तथा न्यानो कपडा वितरण शीर्षकमा १ लाख विनियोजन गरेको छ । वडा नम्बर २० का वडा अध्यक्ष मनिलाल तामाङले भ्रमणमा रकम विनियोजन भए पनि कहाँ जाने भन्ने विषयमा टुंगो लागिनसकेको बताए । यसैगरी, वडा नम्बर ४ ले सञ्चार प्रविधि तथा अध्ययन अवलोकन भ्रमणमा १ लाख र वडा नम्बर १४ ले वृद्धवृद्धा धार्मिक भ्रमण तथा सम्मानका लागि १ लाख विनियोजन गरेका छन् ।

भरतपुर महानगरपालिकाका प्रवक्ता अरुण पीडित भण्डारीले विभिन्न देशमा अनुभव आदान–प्रदान, जनप्रतिनिधि र कर्मचारीहरुको वृत्ति विकासको लागि भ्रमणको कार्ययोजना रहेको बताए । त्यस प्रकारका भ्रमणहरुले जनप्रतिनिधि र कर्मचारीहरुको कार्यक्षमता वृद्धि हुने र स्मार्ट सिटीको अवधारणा कार्यन्वयनको लागि सहयोग पुग्ने जनाए ।

-चितवनपोष्टबाट



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)