Wednesday, 26th August, 2026
वि.स.

गृहमन्त्री थापाले ब्युँताए वाईसीएल

Badal-1612234681.png

पूर्वजनमुक्ति सेनालाई आफूतिर तान्न बल गरिरहेका गृहमन्त्री रामबहादुर थापाले योङ कम्युनिस्ट लिग (वाईसीएल) ब्युँताएका छन्।

तत्कालीन माओवादीको युवा संगठन वाईसीएल र एमालेको युवा संघलाई पार्टी एकतापछि मिलाएर राष्ट्रिय युवा संघ नेपाल बनाइएको थियो। तर, युवा संघमा आवद्ध केही पूर्ववाईसीएलका सदस्यलाई लिएर गृहमन्त्री थापाले वाईसीएल ब्युँताएका हुन्। जसको नेतृत्व थापाकै सचिवालमा रहेका वीरु तामाङले गरिरहेका छन्।

एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएपछि बनेको राष्ट्रिय युवा संघको संयोजक अहिले रामप्रसाद सापकोटा छन्। उनी प्रचण्ड–नेपाल पक्षमा छन्।

तामाङले माघ ८ गते ९९ सदस्यीय केन्द्रीय समिति नै घोषणा गरी औपचारिक रुपमै वाईसीएल ब्युँताएका हुन्। तामाङका अनुसार वाईसीएलको ९९ सदस्यीय केन्द्रीय समितिले नौ सदस्यीय कार्यालय र सातै प्रदेशमा संयोजक समेत चयन गरेको छ।

कार्यालयमा गंगा कार्की, ज्ञानबहादुर ढुङ्गाना, सुमन लामा, कुमार हुमागाईं, पुष्पराज श्रेष्ठ, योगेन्द्र लामा, विष्णुप्रसाद घिमिरे, विष्णुराज बीसी र बलदेव राईलाई चयन गरिएको तामाङले बताए।

यस्तै, प्रदेश १ मा विजय डाँगी, प्रदेश २ मा विमल पौडेल, बागमती प्रदेशमा मानबहादुर तामाङ, गण्डकीमा नवीन गुरुङ, लुम्बिनीमा गोविन्द भुसाल, कर्णालीमा टेकबहादुर बोगटी र सुदूरपश्चिममा योगेश साउदलाई संयोजक तोकिएको छ। यसैगरी विशेष प्रदेश भनेर अरुणकुमार क्षेत्रीलाई संयोजक तोकिएको छ।

वीरु तामाङ तत्कालीन वाईसीएलका उपाध्यक्ष थिए।

‘बादललाई समर्थन गर्ने पूर्ववाईसीएलका साथीहरु मिलेर वाईसीएल नै बनाउने निर्णय गरेका हौं,’ कार्यालय टिमका एक सदस्यले नेपालखबरसँग भने, ‘साविक वाईसीएललाई एक बनाउने प्रयासस्वरुप यो गरिएको हो।’

गृहमन्त्री थापाकै निर्देशनमा यो काम गरिएको उनले बताए।

‘यो बादल दाइकै योजना हो। उहाँले भनेपछि हामीले वाईसीएलमा रहेका साथीहरु खोजी गर्‍यौँ, अहिले सबैलाई समेट्ने प्रयास भइरहेको छ। सायद २४ र २५ गते राखिएको युवा संघको भेलामा हामी उपस्थित हुन्छौँ होला,’ उनले थपे।

राष्ट्रिय युवा संघ नेपालका सहसंयोजक रमेश पौडेलले नेतृत्व गरेको समूह भने ओली पक्षमा लागेको छ। जसले काठमाडौंमा २४ र २५ गते भेला आयोजना गरेको छ।

पुस ५ गते प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभा विघटन गरेपछि नेकपा विभाजित अवस्थामा छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल लगायतका बहुमत नेताहरुले ओलीलाई साधारण सदस्य समेत नरहने गरी कारबाहीको निर्णय गरिसकेका छन्।

त्यसयता ओली समूहले पूर्व जनमुक्ति सेनालाई आफूतिर तान्ने प्रयास तीव्र पारेको छ।

कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्यामा संलग्नताको आरोप लागेर फरार रहेका तत्कालीन तेस्रो डिभिजनका कमान्डर कालीबहादुर खामसहितलाई ओलीले जनमुक्ति सेना जम्मा गर्ने जिम्मा दिएका थिए। तर, लडाकुहरुले साथ नदिएपछि खाम ओलीतिर खुलेर लागिसकेका छैनन्।

यसबीचमा माघ १० गते ओलीले बहिगर्मित जनमुक्ति सेनाका केहीलाई बालुवाटारमा बोलाएर आफ्नो पार्टीमा स्वागत गरेका थिए।

ब्युँताइएको वाईसीएलले ओलीको पार्टीमा एकीकृत भएको घोषणा गर्ने तयारी गरेको छ।

‘अहिलेसम्म थुप्रै साथीहरुलाई समेट्ने प्रयास भइरहेको छ,’ उनले भने, ‘सबै साथीहरु आएभने बृहत् कार्यक्रम राखेर ओलीको पार्टीमा समाहित भएको घोषणा गर्छौँ।’

तत्कालीन माओवादीले युद्धको बेला गठन गरेको जनमिलिसिया र शिविरबाहिर रहेका लडाकुहरुलाई समेटेर २०६३ सालमा गणेशमान पुनको नेतृत्वमा वाईसीएल बनाएको थियो।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

Thaha-002-1774415222.gif