nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

आज एमाले एकता घोषणा

oli-nepal-2-1068x684-1625970232.jpg

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) विवाद समाधानार्थ गठित कार्यदल सदस्यले आज आइतबार एकता घोषणा हुने बताएका छन् । सिंहदरबारमा शनिबार लामो छलफलमा बसेका कार्यदल सदस्यले प्रायः सबै विषयमा सहमति भइसकेकाले आजै अन्तिम रूप दिइने बताएका हुन् ।

एमाले सचिव तथा कार्यदल सदस्य गोकर्ण विष्ट कार्यदलले प्रायः विषयमा सहमति जुटाइसकेकाले आइतबार एकता घोषणा हुने बताउँछन् । ‘आइतबार एमाले एकता घोषणा गरेर आमकार्यकर्तालाई सुखद अनुभूति दिने छौं,’ एमाले सचिव विष्टले सञ्चारकर्मीसँग भने, ‘हाम्रो लामो समयसम्मको छलफल र संवादका कारण एमाले अब एकजुट हुने विश्वास गरेका छौं ।’ कार्यदलले शनिबार नै एकता घोषणा गर्ने तयारी गरेको थियो । तर, केही प्राविधिक विषयमा छलफल गर्नुपर्ने भएकाले एकता घोषणा सहमतिसहित कार्यदल बैठक सकिएको हो । कार्यदलतर्फ माधवकुमार नेपाल पक्ष संयोजक तथा एमाले उपाध्यक्ष भीम रावलले अब एमाले एकजुट हुने दाबी गरे । धेरै विषयमा सहमति भइसकेको बताउँदै उनले त्यसलाई छिट्टै मूर्त रूप दिइने प्रस्ट पारे । ‘अब आमकार्यकर्ताको भावनाअनुसार एमाले एकजुट भएर अघि बढ्छ,’ रावलले भने ।

स्रोतका अनुसार कार्यदलले शनिबार नै पूर्ण रूपमा सहमति खोजेर एकता घोषणा तयारी गरे पनि अन्तिम अवस्थामा आएर त्यसो हुन सकेन । यद्यपि, कार्यदल सदस्य तथा एमाले सचिव विष्टले आज आइतबार घोषणा भई सुखद समाचार प्रसारण हुने बताएपछि आमकार्यकर्ता विश्वस्त देखिएका छन् । ‘औपचारिक र अनौपचारिक रूपमा हामीले धेरै विषय मिलाइसकेका छौं, केही मिल्न बाँकी विषयमा समेत सहमतिनजिक नै छौं,’ विष्टले भने, ‘समाधान खोज्ने बिन्दुमा पुगेका छौं । आजै सुखद समाचार घोषणा गर्न सकेनौं । तर, आइतबार एकताको सुखद समाचार सुन्नुहुनेछ ।’ एमाले नेता एवं अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट कार्यदल संयोजक सुवासचन्द्र नेम्वाङले आज आइतबार एमाले एकता टुंगोमा पुग्ने दावी गरे ।

सबै विवादबारे छलफल गरेर सहमति जुटाइसकेको दावी गर्दै उनले केही मिल्न बाँकी विषयमा सहमति गरेर अन्तिम रूप दिने जानकारी दिए । ‘तीन वर्षदेखिको विवाद समाधान गर्दै सहमति नजिक पुगेका छौं, अधिकांश विषयमा सहमति जुटाइसकेका छौं,’ नेम्वाङले भने, ‘केही मिल्न बाँकी विषयमा सहमति गरेर आइतबार टुंगोमा पुग्ने सहमति भएको छ ।’ प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल आ–आफ्नै रणनीतिअनुसार अघि बढ्न खोजेपछि विवाद समाधान गरेर एकता जोगाउन ढिलाई भइरहेको दावी एमाले स्रोतको छ । कार्यदलमा लामो समय छलफल गरेर सहमतिनजिक पुगेको बताइए पनि ओली र नेपाल आ–आफ्नै अडानमा रहनपुग्दा कार्यदलमा समेत पूर्ण सहमति हुन नसकेको नेताहरूले बताएका छन् ।

ओली र नेपाल अदालतको फैसलाअनुसार अघि बढ्ने, २ जेठ २०७५ कै अवस्थाबाट पार्टी र जनवर्गीय संगठन सञ्चालन, एमाले प्रवेश गरेका पूर्वमाओवादी केन्द्रका नेतालाई पार्टीमा सम्मानसाथ जिम्मेवारी दिइने विषयमा सहमत छन् । तर, केन्द्रीय कमिटी संख्यामा अझै विवाद मिल्न सकेको छैन । मुख्य विवादित विषयमा दुबै नेता सहमत भए पनि जारी हुने भनिएको संयुक्त विज्ञप्तिको भाषाबारे मतभेद कायमै रहेको एक कार्यदल सदस्यले बताए । कार्यदल सदस्यले बैठक बस्नुअघि ओली र नेपाललाई भेटेका थिए ।

आ–आफ्नो समूहमा छलफल गरेर उनीहरू कार्यदल बैठक बसेका हुन् । यसैबीच, वरिष्ठ नेता नेपाल र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच शनिबार नेपाल निवास कोटेश्वरमा भेटघाट भएको छ । दुई नेताबीच भेटघाट भए पनि राजनीतिक विषयमा छलफल नभएको नेपालका स्वकीय सचिव मोहन गौतमले बताए । उनका अनुसार नेता नेपाल केही दिनयता स्वास्थ्यमा समस्या (जनै खटिरा) आई चिकित्सकको सल्लाहअनुसार घरमै आराम गरिरहेका छन् । एमाले एकताका लागि पहल भइरहेको अवस्थामा नेपाल र दाहालबीचको भेटलाई भने अर्थपूर्ण रूपमा हेरिएको छ । राजधानीबाट