nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

अमेरिकी अध्ययनले भन्छ : कोभिड– १९ फ्लूभन्दा ५ गुना खतरनाक

Chasma-1603329483.jpg

‘कोभिड– १९ तथा कोरोनाभाइरस संक्रमणका बारेमा कुरा गर्न ‘भाइरोलोजिस्ट’ नै हुनुपर्छ भन्ने कुनै जरुरी छैन’ भनी (कू)तर्क गर्ने केही नेपाली ‘अभियन्ता’हरुको भनाइमा ‘कोरोनाभाइरस’ रुघाखोकी (फ्लू) जस्तै सामान्य भाइरस हो । तर केही अनुसन्धानहरुले देखाएको तथ्यले चिच्याइचिच्याइ भनिरहेको छ– कोरोनाभाइरसको संक्रमण रुघाखोकी वा फ्लूभन्दा निक्कै घातक स्वास्थ्य समस्या हो । यो अस्पतालमा भर्ना गरिएका विरामीहरुको हकमा त ५ गुना बढी घातक स्वास्थ्य समस्या हो । फ्लूका विरामीहरुको तुलनामा कोभिड–१९ का विरामीहरुमा १७ वटा गम्भीर स्वास्थ्य समस्या देखापर्ने सम्भावना बढी हुने गर्छ ।

अमेरिकाको सेन्टरर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन –सिडिसी) ले गरेको पछिल्लो अध्ययनले पनि उक्त कुरा देखाएको हो ।

सामान्यतः रुघाखोकी वा फ्लूका विरामीहरुमा गम्भीर खालका स्वास्थ्य समस्याहरु देखापर्ने सम्भावना अत्यन्तै कम हुन्छ । तर कोभिड–१९ का विरामीहरुमा निमोनिया, श्वासप्रश्वास प्रणाली फेल खाने, रगत जम्ने जस्ता घातक समस्याहरु देखापर्ने सम्भावना अत्यधिक बढी हुने गर्छ ।

जनवरीको शुरुवातताका कोरोनाभाइरस संक्रमण देखापर्दा धेरैले यसका लक्षणका आधारमा रुघाखोकी वा फ्लूसँग यसको तुलना गर्ने गरेका थिए । तर कालान्तरमा अध्ययनहरुले देखायो, कोभिड–१९ रुघाखोकी÷फ्लूभन्दा निक्कै घातक छ, ज्यानमारा छ । तर विज्ञानले स्थापित गरेको यो तथ्यलाई स्वीकार्न र मान्न अझै पनि संसारभरि एउटा ठूलो जमात तयार छैन । यो वर्गमा विश्वकै शक्तिशाली कहलिएका देश अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प समेत छन् । केही समयअघि मात्रै पनि उनले ट्वीटरमा कोरोनाभाइरस संक्रमणलाई ‘फ्लू’ भन्दा अत्यन्तै कम घातक’ भनी लेखेपछि चर्को आलोचना खेप्नु परेको थियो । उनको त्यो ट्वीटलाई ‘भ्रम फैलाउने खालको’ भनी ट्वीटरले हटाएको थियो । यता हाम्रै देश नेपालमा समेत ‘ट्रम्प पथ’ लाई पछ्याउँदै अझै पनि कोरोनाभाइरसलाई सामान्य रुघाखोकीसँग तुलना गर्ने र हलुका रुपमा लिने ‘पढेलेखेका बुद्धिजीविहरु’ को आवाज यदाकदा सुन्न पढ्न पाइन्छ ।

सिडिसीको मोर्बिडिटी एण्ड मोर्टालिटी विक्ली रिपोर्टमा गत अक्टोबर २० मा प्रकाशित एक अध्ययन रिपोर्टले पनि यो कुरालाई सोझै खारेज गरिदिन्छ ।

अनुसन्धानकर्ताहरुले मुलुकभरिका भेट्रान्स हेल्थ एड्मिनिस्ट्रेसन हस्पिटल्सबाट संकलित कोभिड–१९ र फ्लूका तथ्यांकहरुको तुलनात्मक अध्ययन एवं विश्लेषण गरेका थिए । त्यसका लागि मार्च १ देखि मे ३१, २०२० सम्म भर्ना भएका, औसत उमेर ७० वर्ष रहेका करिब ४००० जना कोभिडका विरामीहरुबाट तथ्यांकहरु संकलन गरिएका थिए । त्यसैगरी, अक्टोबर १, २०१८ देखि फेबु्रअरी १, २०२० सम्म भर्ना भएका, औसत उमेर ६९ रहेका करिब ५४०० जना फ्लूका विरामीहरुबाट पनि तथ्यांकहरु संकलन गरिएका थिए ।

ती तथ्यांकहरुको विश्लेषण गर्दा अनुसन्धानकर्ताहरुले के पाए भने, अस्पताल भर्ना गरिएका कोभिड–१९ का विरामीहरु २१ प्रतिशतको मृत्यु भएको थियो भने त्यसको तुलनामा मर्ने फ्लूका विरामीहरु ४ प्रतिशत मात्रै थिए । यो भनेको ५ गुना फरक हो । त्यसबाहेक, कोभिड–१९ का विरामीहरुलाई आइसीयूमा भर्ना गर्नुपर्ने खतरा दोब्बर थियो भने बाँचेकाहरुको पनि अस्पताल बसाइको अवधि फ्लूका विरामीको तुलनामा तीन गुना बढी लामो थियो ।

विभिन्न प्रमाणहरुले के देखाएको छ भने कोरोनाभाइरसबाट संक्रमित विरामीहरु फ्लूका विरामीको तुलनामा ठूलो संख्यामा अस्पतालमा भर्ना गर्नुपर्ने हुन्छ । ती प्रमाणहरुका आधारमा भन्दा, फ्लूको तुलनामा कोभिड–१९ पाँच गुना बढी घातक हुने गरेको पाइएको छ । सिडिसीले गरेको एक अनुमानमा २०१९–२० को सिजनमा फ्लूका शिकार बनेको विरामीहरुमध्ये १ प्रतिशत अस्पताल भर्ना भएका थिए । त्यसको विपरीत कोरोनाभाइरसको संक्रमणले भेटाएका २० प्रतिशत जति मानिसहरुलाई अस्पतालमा भर्ना गरेर उपचार गर्नुपर्ने प्रारम्भिक आँकलन विश्व स्वास्थ्य संगठनको रहेको थियो ।

त्यसैगरी, सो अध्ययनका रिपोर्टले देखाएअनुसार, कोरोनाभाइरसका विरामीहरुमा दर्जनौं स्वास्थ्य समस्याहरु देखापर्ने उच्च जोखिम हुने गर्छ । उदाहरणको लागि, फ्लूका विरामीहरुको तुलनामा कोभिड–१९ का विरामीहरुमा एक्युट रेस्पिरेटोरी डिस्ट्रेस सिन्ड्रोम (एआरडीएस) हुने सम्भावना १९ गुना बेसी हुने गर्छ । यो भनेको फोक्साको त्यस्तो गम्भीर समस्या हो, जसले रगतमा अक्सिजनको मात्रा न्यून गराउँछ । त्यसैगरी, फ्लूका रोगीको तुलनामा कोभिड–१९ का विरामीहरुमा मुटुको मांसपेशीहरुमा इन्फ्लेमेसन हुने, फोक्सोमा रगत जम्ने तथा मस्तिष्कमा रक्तस्राब हुने समस्या दोब्बर हुने गर्छ ।

सोही अध्ययनले कोभिड– १९ का शिकार बनेका गोरा जातिका तुलनामा काला जाति तथा हिस्पानिक विरामीहरुमा श्वासप्रश्वास, स्नायुसम्बन्धी, मृगौला लगायतका जटीलताहरु हुने सम्भावना बढी रहेको देखाएको थियो ।

अनुसन्धानकर्ताहरुले फ्लूको तुलनामा कोभिड–१९ का विरामीहरुमा विभिन्न अंगहरुमा जटीलता देखापर्ने सम्भावना बढी रहेको तथ्यलाई उल्लेख गर्दै ‘उपचारकर्ताले कोभिड–१९ का कारण अस्पतालमा भर्ना भएका विराहीहरुमा देखापरेको संकेत र लक्षणहरुलाई विशेष सावधानीका साथ निगरानी गर्नुपर्ने कुरा औंल्याएका छन् । यसो गरिएको खण्डमा मात्रै नतिजालाई परिणामुखी बनाउने तथा दीर्घकालीन अपाङ्गतालाइ घटाउने गरी उपचारलाई अघि बढाउन सकिने तथ्य पनि उनीहरुले उल्लेख गरेका छन् ।

स्रोतः लाइभसाइन्स



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)