Saturday, 31st October, 2026
वि.स.
pustakalay-1792211853.jpg

२०७७ सालमा कहिले–कहिले पर्‍यो सार्वजनिक विदा ?

सरकारले २०७७ सालका सार्वजनिक विदाहरुको सूची सार्वजनिक गरेको छ । सो सूचीअनुसार २०७७ सालमा दशैंको टीका कात्तिक १० गते र भाइटीका मंसिर १ गते परेका छन् ।

सरकारले २०७७ सालको सार्वजनिक विदाहरुको सूची नेपाल राजपत्रमा प्रकाशित गरिसकेको छ । २०७७ सालको वर्षभर ५२ वटा शनिबार परेका छन् । शनिबार देशभरका नेपालीहरुले पाउने साप्ताहिक विदा हो ।

वर्षभर पर्ने ५२ वटा शनिबार, दशैंको पाँच दिन, तिहारको तीन दिन र अन्य विदा सात दिन गरी जम्मा ६७ दिन नेपालभर सार्वजनिक विदा हुनेछ ।

नेपालीहरुको सबैभन्दा ठूलो चाड दशैंमा कात्तिक ७ गते फूलपातीदेखि ११ गते एकादशीसम्म पाँच दिन देशभर सार्वजनिक विदा हुनेछ । नेपालीहरुको दोस्रो ठूलो चाड तिहारमा कात्तिक २९ गते लक्ष्मी पूजादेखि मंसिर १ गते भाइटीकासम्म तीन दिन सार्वजनिक विदा हुनेछ ।

यी हुन् सार्वजनिक विदा हुने दिन

शनिबार बाहेक बैशाख १ गते नयाँ वर्ष, बैशाख १९ गते मजदुर दिवस, असोज ३ गते संविधान दिवस, फागुन २४ गते अन्तर्राष्ट्रिय महिला दिवस, फागुन २५ गते बुद्ध जयन्ती र फागुन २७ गते महाशिवरात्रिको दिन देशभर सार्वजनिक विदा हुनेछ ।

यस्तै, चैत १५ गते आइतबार फागूपूर्णिमाको दिन ५६ जिल्लामा र चैत १६ गते बाँकी २१ जिल्लामा पनि सार्वजनिक विदा हुनेछ । होलीको दिन चैत १६ गते विदा पाउने जिल्लाहरुमा झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी बर्दघाट सुस्ता पूर्व, नवलपरासी बर्दघाट सुस्ता पश्चिम, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्ला छन् ।

सम्वन्धित धर्म, संस्कृति र भौगोलिक आधारमा १६ दिन विदा

सम्वन्धित धर्म, संस्कृति र भौगोलिक क्षेत्रका आधारमा मात्र १६ दिन विदा दिने निर्णय सरकारले गरेको छ । जसअनुसार बैशाख २५ गते बिहीबार उभौली पर्व, भदौ १० गते गौरा पर्व, मुस्लिम समुदायले मनाउने इदुल फित्र र बकर इद तथा मंसिर पाँच गते छठ पर्वको विदा सरकारले दिएको छ ।

यसैगरी, कात्तिक २५ गते मंगलबार परेको फाल्गुनन्द जयन्ती र मंसिर १५ गते सोमबार परेको गुरु नानक जयन्तीको दिन सम्बन्धित धर्मावलम्बीहरुले मात्र विदा पाउने छन् ।

यसैगरी, डिसेम्बर २५ मा मनाइने क्रिसमस डे (पुस १० गते)को दिन सरकारले इसाई धर्मावलम्वीलाई मात्र सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

पुस १५ गते बुधबारको दिन किराँत जातिको उधौली पर्व, नेवार समुदायले मनाउने योमरी पुन्ही–ज्यापु दिवस, तमु ल्होसारको दिन विदा हुनेछ । थारु, मगर र छन्त्याल समुदायले राष्ट्रिय पर्वको रुपमा मनाउने माघ माघी पर्वको अवसरमा माघ १ गते बिहीबार पनि विदा दिइएको छ ।

माघ ३० गते शुक्रबार सोनाम ल्होसार र चैत १ गते आइतबार ग्याल्पो ल्होसारको विदा छ । सिरुवा पर्वको दिन झापा, मोरङ, सुनसरी, सिराहा र सप्तरी जिल्लामा विदा दिइएको छ ।

महिला कर्मचारीहरुलाई हरितालिका तीजको दिन भदौ ५ गते शुक्रबार विदा दिइएको छ । शनिबार पनि सार्वजनिक विदा हुने भएकाले तीजमा ब्रत बस्ने महिला कर्मचारीहरुले राहत पाएका छन् । यस्तै, भदौ २५ गते बिहीबार जितिया पर्व परेको छ । सोदिन जितिया पर्व मनाउने महिला कर्मचारीहरुले विदा पाउने छन् ।

शिक्षण संस्थाहरुको अतिरिक्त विदा भने वसन्त पञ्चमी अर्थात् सरस्वती पूजाको दिन मात्र छ । २०७७ सालको सरस्वती पूजा फागुन ४ गते आइतबार परेको छ ।

काठमाडौं उपत्यका विदा चार दिन

गाईजात्रा, इन्द्रजात्रा, मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा र घोडेजात्राको दिन काठमाडौं उपत्यकामा मात्र सार्वजनिक विदा हुने छ । २०७७ सालको गाईजात्रा साउन २० गते आइतबार, इन्द्रजात्रा भदौ १६ गते मंगलबार र घोडेजात्रा चैत २९ गते आइतबार परेको छ । सार्वजनिक विदाको सूचीमा मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको मिति भने उल्लेख छैन ।

अपाङ्गता भएका कर्मचारीहरुले अन्तर्राष्ट्रिय अपांगता दिवस (डिसेम्बर ३) मा सार्वजनिक विदा पाउने छन्। २०७७ सालमा अन्तर्राष्ट्रिय अपांगता दिवस मंसिर १८ गते बिहीबार परेको छ ।

जेठ १५ गते मनाइने गणतन्त्र दिवस, डिसेम्बर ३ तारिख (मंसिर १८ गते)मनाइने जातीय भेदभाव तथा उन्मुलन दिवस, भदौ २२ गते मनाइने निजामती सेवा दिवस, पुस २७ गते मनाइने राष्ट्रिय एकता दिवस, माघ १६ गते मनाइने शहीद दिवस र फागुन ७ गते मनाइने राष्ट्रिय प्रजातन्त्र दिवसलाई सरकारले राष्ट्रिय रुपमा मनाइने तर कार्यालयहरु खुल्लै रहने दिनको रुपमा उल्लेख गरेको छ ।

-अनलाइनखबरबाट साभार



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

Rabindra-1792211870.jpg
Rajan-Dhakal-1792211893.jpg
Rupesh-Kumar-1792211916.jpg