Monday, 17th August, 2026
वि.स.

वैदेशिक रोजगार व्यवसायी संघले आन्दोलन फिर्ता लियो

592069360_173653568766720-1786951866.jpg

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले १५ बुँदे माग राख्दै सञ्चालन गर्दै आएको दबावमूलक आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ।

संघले २२ साउनदेखि वैदेशिक रोजगार क्षेत्रसँग सम्बन्धित विभिन्न माग राख्दै ध्यानाकर्षण कार्यक्रम सञ्चालन गर्दै आएको थियो। संघले १ भदौदेखि गन्तव्य मुलुकमा नेपाली श्रमिक पठाउन बन्द गर्ने घोषणा समेत गरेको थियो।

सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा मन्त्री र सचिवसहित संघका अध्यक्ष, सल्लाहकार तथा पदाधिकारीबीच भएको छलफलपछि आन्दोलनका कार्यक्रम फिर्ता लिने सहमति भएको हो।

छलफलका क्रममा संघले उठाएका अधिकांश माग नीतिगत विषयसँग सम्बन्धित रहेको र ती विषय वैदेशिक रोजगार ऐन तथा नियमावली संशोधनको प्रक्रियामा समेटिएको मन्त्रालयले जनाएको छ।

वैदेशिक रोजगारीको क्षेत्रलाई पारदर्शी, सुरक्षित र मर्यादित बनाउन ऐन तथा नियमावली संशोधन प्रक्रिया यथाशीघ्र टुंग्याउन मन्त्रालय र संघले अधिकतम प्रयास गर्ने सहमति भएको छ।

व्यवसायीका अन्य माग तथा समस्याका सम्बन्धमा आवश्यक प्रमाण तथा कागजातसहित वैदेशिक रोजगार विभागमा निवेदन दिन सकिने र विभागबाट आवश्यक प्रशासनिक सहजीकरण गरिने मन्त्रालयले जनाएको छ। विभागबाट समाधान हुन नसकेका विषयमा प्रचलित कानुनअनुसार मन्त्रालयमा पुनरावेदन गर्न सकिने व्यवस्था रहेको पनि छलफलमा स्पष्ट पारिएको छ।

छलफलपछि संघले सोमबारदेखि नै आफ्ना सम्पूर्ण दबावमूलक कार्यक्रम अन्त्य गर्ने प्रतिबद्धता जनाएको मन्त्रालयले जनाएको छ। यससँगै १ भदौदेखि गन्तव्य मुलुकमा श्रमिक पठाउन बन्द गर्ने संघको घोषणा पनि तत्काल कार्यान्वयन नहुने भएको छ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif