nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

भारतमा कोरोना संक्रमित नेपाली निको भए 

भारतको अम्बालामा रहेका एक जना कोभिड १९ संक्रमित नेपाली निको भएका छन् । ६६ वर्षीय नेपाली पुरुषलाई अम्बालाकै सिटी अस्पतालमा १० दिनको उपचारपछि शनिबार साँझ अस्पतालबाट डिस्चार्ज गरिएको हो । 

पछिल्ला दुई रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको अम्बलाका प्रमुख स्वास्थ्य अधिकृत डा. कुलदिप सिंहले कान्तिपुरलाई जानकारी दिएका छन् । ‘लगातार दुई वटा परीक्षण गऱ्यौं, ती दुवै रिपोर्ट नेगेटिभ आयो त्यसपछि डिस्चार्ज गरिएको हो ’ डा. सिंहले भने । अस्पतालबाट डिस्चार्ज भएपछि उनलाई अम्बालाकै एक स्कुलमा बनाइएको क्‍वारेन्टाइन सेन्टरमा राखिएको डा. सिंहले जानकारी दिएका छन् ।


नयाँदिल्लीको इस्लामिक भेलामा सहभागी भएर अम्बाला पुगेका पर्सा निवासी ती नेपालीलाई २ अप्रिलमा कोरोना भाइरसको संक्रमण देखिएको थियो । त्यसपछि उनलाई तत्कालै अम्बालाकै सिटी अस्पतालमा राखिएको थियो । त्यतिबेला नै चिकित्सकहरुले संक्रमण देखिए पनि अन्य कुनै रोगहरु नभएको हुँदा उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताएका थिए ।


संक्रमित बिरामी इस्लामिक भेलाकै सहभागी अन्य सात जना नेपालीसहित करिब तीन साताअघि अम्बला पुगेका थिए । उनीहरु अम्बलाको महेशनगरस्थित मस्जिदमा बस्दै आएका थिए । दुईसाता अघि भारतमा पहिचान भएका कोरोनाका बिरामीहरुमध्ये अधिकांश ईस्लामिक भेलाका सहभागी भएको खुलेपछि भारत सरकारले भेलाका सबै सहभागीहरुको खोजीलाई तीव्रता दिएको थियो । त्यही क्रममा प्रहरीले महेशनगरको मस्जिदमा छापा मारेपछि त्यहाँ नेपाली आठ, श्रीलंकाका एक र बाँकी दुई जना भारतकै राजस्थान र आसामका नागरिक बस्दै आएको खुलेको थियो । त्यसपछि उनीहरु सबैलाई प्रहरीले नियन्त्रणमा लिएर क्‍वारेन्टाइनमा पठाएको थियो । क्‍वारेन्टाइनमा पठाइएका नेपालीहरुमध्ये एक जनामा मात्र संक्रमण देखिएको थियो । अन्य सात सात जना नेपाली पनि पर्साकै निवासी हुन् ।


भारतमा हालसम्म १२ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ । जसमध्ये दुईजना दिल्लीको इस्लामिक भेलाका सहभागी हुन् भने १० जना भारतमा बस्दै आएका नेपाली कामदारहरु हुन् ।