nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

नेपाली महिला टोलीले जित्यो एसियन सेन्ट्रल जोन भलिबलको उपाधि

Nepali-Valleyball-team-1-1640682049.jpg

साविक विजेता नेपालले उज्वेकिस्तानमाथि रोमाञ्चक जित हात पार्दै एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको उपाधि रक्षा गरेको छ ।

ढाकामा शहीद सुह्रवर्दी नेशनल इन्डोर स्टेडियममा मंगलबार भएको प्रतिस्पर्धात्मक तथा रोमाञ्चक फाइनल खेलमा नेपालले उज्वेकिस्तानलाई ३-२ को सेटमा हरायो । निकै नै प्रतिस्पर्धात्मक पहिलो सेट ट्राइब्रेकरमा २६-२४ ले नेपालले अग्रता बनाएको थियो ।

सुरुवातदेखि नै उज्वेकिस्तानले खेलमा अग्रता बनाएपनि नेपालले १८-१८ मा अंक बराबरी गरेको थियो । त्यसपछि पनि निकै प्रतिस्पर्धात्मक खेल २४-२४ मा पुग्दा नेपालले ट्राइब्रेकरमा बाजी मारेको हो ।

दोस्रो सेटमा पनि उज्वेकिस्तानले सुरुवातदेखि नै अग्रता बनायो । नेपाल १९-२३ ले पछि रहेको अवस्थामा उज्वेकिस्तानका प्रशिक्षकले खेल भावना विपरीत निर्णायकको निर्णयलाई नमान्दा रेफ्रीले रातो कार्ड देखाए । जसले गर्दा नेपालले अंक जोड्दै सर्भिस पनि पाएको थियो । नेपालले खेल २४-२४ मा पुर्‍याउन सफल भएपनि दोस्रो सेट टाई ब्रेकमै २४-२६ ले गुमाएपछि उज्वेकिस्तानले खेलमा पुनरागमन गरेको थियो ।

तेस्रो सेटमा भने नेपालले २५-१५ ले सहजै जित्दै खेलमा २-१ को अग्रता बनायो । १०-११ ले पछि परेको नेपालले लगातार ८ अंक जोड्दै १८-११ को अग्रता बनाउँदै खेल २५-१५ ले सहजै जित्यो ।

तर चौथो सेटमा उज्वेकिस्तानले फेरि कमब्याक गर्दै २५-२२ ले सेट आफ्नो पक्षमा पार्दै खेल २-२ को अवस्थामा पुर्‍यायो । त्यसपछि पाँचौ तथा निर्णायक सेट १५-११ ले जित्दै नेपालले उपाधि जित्यो ।