DO-1618544727.jpg
Saturday, 17th April, 2021
वि.स.

विशेष परिस्थितिमा सार्वजनिक खरिद

अहिले विश्व नै ‘कोभिड १९’ को प्रकोपका कारण सङ्कटमा छ । नेपालमा पनि यसले खतराको घण्टी बजाइसकेको छ । सरकारले लकडाउनको घोषणा गरी सबै नागरिक आआफ्नो घरमा राखी आवतजावत र प्रत्यक्ष सम्पर्क हुनबाट रोकेको छ । हाल नेपालमा स्वास्थ्य उपकरण तथा सामग्रीको कमीका कारण पर्याप्त मात्रामा जाँच गर्न नसकिएको र स्वास्थ्यकर्मीलाई पर्याप्त सुरक्षा सामग्री दिई परिचालन गर्न कठिनाइ परिरहेको जस्ता कुरा सार्वजनिक भइरहेका छन् । यसमा सरकारले तदारुकताका साथ पहल गरिरहेको छ । यो सन्दर्भमा राज्यका हरेक क्रियाकलाप सार्वजनिक हितका लागि हुने र यसका लागि सार्वजनिक स्रोतको परिचालन हुने भएकाले त्यस्तो स्रोतको परिचालन गर्दाको व्यवस्थापनमा अनावश्यक सवालहरू सिर्जना हुन नदिने गरी काम गर्नुपर्ने हुन्छ । अहिलेको अवस्था विषम अवस्था हो । यस्तो अवस्थामा सामान्य अवस्थाका नियमहरू लागू गर्न कठिन हुन्छ । राज्य कोषको परिचालन गरी कार्य गर्दा जहिले पनि विधिको पालन र अवलम्बन गर्नुपर्छ । सार्वजनिक खरिदमा पनि यही कुरा लागू हुन्छ ।

विपद्का बेलामा मानवीय हित र मानव जीवनको व्यापक संरक्षण गर्नु नै मुख्य कुरा हो। यस्तो अवस्थामा लामो प्रक्रिया र कागजी घोडालाई दौडाएर समस्यासँग जुध्न सकिँदैन । तत्कालका समस्या तत्कालै समाधान गर्न सकिएन भने यसले व्यापक क्षति गराउँदै लैजान्छ । यस्तो विपद्का बेलामा धेरै प्रक्रिया पूरा गर्न समय पनि हुन्न र विकल्प पनि धेरै उपलब्ध हुन्न । तर सार्वजनिक हितका लागि तत्काल राज्यका साधनस्रोतको परिचालन गर्नुपर्ने हुन्छ ।

सामान्य अवस्थामा सार्वजनिक खरिद गर्दा बोलपत्रका प्रक्रिया पूरा गर्नुपर्छ जसले पारदर्शिता, मितव्ययिता, प्रतिस्पर्धात्मकता, गुणस्तरीयता, जवाफदेहिता जस्ता कुरालाई सुव्यवस्थित गराउन सघाउँछ । तर विपद्का अवस्थामा सार्वजनिक खरिद के कसरी हुन्छ वा गर्ने हो भनी फरक तवरबाट हेर्नुपर्ने हुन्छ । सबै प्रकारका खरिदलाई सार्वजनिक खरिद ऐनको छाताबाटै हेर्नुपर्ने र अभ्यास गर्नुपर्ने हुन्छ । खरिद ऐनले विशेष परिस्थिति उत्पन्न भई तत्काल खरिद नगर्दा सार्वजनिक निकायलाई थप हानि नोक्सानी हुने अवस्था आइपरेमा सार्वजनिक निकायले तत्काल खरिद गर्न वा गराउन सक्छ भनी मार्गप्रशस्त गरिदिएको छ । यस्तो परिस्थितिमा खरिद गर्नुपर्दा सार्वजनिक निकायका प्रमुखले सो परिस्थिति र तत्काल गर्नुपर्ने खरिदसम्बन्धी विस्तृत विवरणको जानकारी एक तह माथिको अधिकारीलाई दिई खरिद गर्नुपर्ने व्यवस्था गरिएको छ । यसरी खरिद गर्दा सार्वजनिक निकायले खरिदको आवश्यकताको लिखित विवरण, गुणस्तर, परिमाण, शर्त र कार्य सम्पन्न गर्ने अवधि जस्ता विवरण तयार गरी आकस्मिक परिस्थितिको सामना गर्न आवश्यक परिमाण र समयावधिका लागि मात्र यथासम्भव प्रतिस्पर्धा गराई वा एउटा मात्र निर्माण व्यवसायी, आपूर्तिकर्ता, परामर्शदाता वा सेवा प्रदायकसँग लिखित दरभाउ वा प्रस्ताव लिई स्वच्छ र उचित मूल्यका लागि वार्ता गरी खरिद गर्नुपर्ने हुन्छ । विशेष अवस्थामा हुने यी खरिद कार्यका बारेमा विस्तृत विवरण खुल्ने गरी कागजात राख्नुपर्छ । त्यस्तो विवरणमा खरिद कारबाहीका अन्य कुराका अतिरिक्त विशेष परिस्थितिसम्बन्धी विवरण, तत्काल खरिद नगर्दा सार्वजनिक सुरक्षा, हित तथा सामुदायिक स्वास्थ्यमा पर्ने सङ्कट र खरिदका अन्य विधि अपनाउन नसकिने कारण र आधार स्पष्टसँग खुलाउनुपर्छ ।

सङ्कटका बेलामा मौकामा चौका हान्ने व्यापारिक संस्कार हावी भएको समाजमा विश्वसनीय खरिदका लागि शङ्का गर्नु स्वाभाविक नै हो । दशैँ तिहार जस्ता नियमित रूपमा आउने चाडपर्वमा त कालोबजारी र ठगीमा उद्यत रहने व्यावसायिक क्षेत्रले सङ्कटका बेला ठगी गरेकै महसुस आम जनमानसले गरिरहेको अवस्थामा सार्वजनिक पदाधिकारीहरू यसबाट सचेत भई विशेष परिस्थितिमा गरिने खरिदलाई पारदर्शी र मितव्ययी बनाउन लाग्नुपर्छ । खरिद नगरी चुप लागेर बस्ने होइन, काम गर्नु नै पर्छ । यो समयले दिएको जिम्मेवारी हो । सबै परिस्थिति विशेष हुन्न । पर्याप्त समय बाँकी भएका पूर्वानुमान गरिएका कामहरू नगरी बस्ने र अन्तिम घडीमा विशेष परिस्थितिको अपव्याख्या गरी विगतमा भएका थुप्रै खरिद प्रक्रियाका कारणले नै हो शङ्का उपशङ्का भएको । व्यापारिक क्षेत्रले पनि सङ्कटका बेलामा मनपरी मूल्य बढाएका कारण हो विश्वस्त हुन कठिनाइ भएको । तर नियत सफा राखी यो सार्वजनिक हितका लागि गरिने काम हो भनी कार्यान्वयनमा लाग्दा कहीँ कतै समस्या हुन्न । यसर्थ के कस्ता कार्य गर्दा सेवा पनि सहज हुन्छ र खरिदमा संलग्न पदाधिकारी पनि आफ्नो जिम्मेवारी वहनमा सुरक्षित रहिरहन्छन् भन्नेमा ध्यान दिनुपर्ने हुन्छ । यसका लागि केही उपाय यहाँ उल्लेख गरिएको छ ।

पर्याप्त सूचना, पुष्ट्याइँ, पारदर्शिता, बढीभन्दा बढी सहभागिता र आचरणयुक्त इमानदारी सबैभन्दा बढी अपेक्षित हुन्छ  । यसमा आफूलाई उभ्याइराख्न सकिन्छ । विशेष परिस्थितिमा सार्वजनिक निकायले गरेका खरिदहरू दशलाख रुपियाँभन्दा बढी रकमको भएमा सोसम्बन्धी विवरणको सार्वजनिक सूचना प्रकाशन गर्नुपर्ने र सोको जानकारी सार्वजनिक खरिद अनुगमन कार्यालयलाई पनि पठाउनुपर्ने कानुनी व्यवस्था छ । यसको पालन गरी अधिकतम सार्वजनीकरण गर्न गराउन सकिन्छ ।

खरिदको आवश्यकताको लिखित विवरण, गुणस्तर, परिमाण, शर्त र कार्य सम्पन्न गर्ने अवधि जस्ता विवरण अनिवार्य रूपमा तयार गर्नुपर्छ ।
हाम्रो विधिले नै आकस्मिक परिस्थितिको अवस्थामा खरिद प्रक्रियालाई सरलीकरण गरेको छ । यस उद्देश्यमा रही ‘स्वच्छ र उचित मूल्य’ का लागि तयारीका साथ लेखाजोखा गर्न र वार्ता गर्न सकिन्छ  ।
खरिदका लागि तयारी गर्दा र वार्ता गर्दा सरकारी निकायबाट स्वीकृत भएको नम्र्स भएमा सो नम्र्स एवं दररेट, एवं त्यो उपलब्ध नभएकोमा अन्य सार्वजनिक निकाय वा कुनै संस्थाले खरिद गरेको दररेट, आफ्नै निकाय वा अन्य सार्वजनिक निकायले विगतमा (चालू वा अघिल्ला वर्षहरूमा) प्रतिस्पर्धाको माध्यमबाट सोही प्रकृतिको खरिद गर्दा लागेको वास्तविक लागत, स्थानीय बजारमा प्रचलित दरभाउको सूचना लिएको विवरण जस्ता कुराको विवरण राख्न सकिन्छ  । यसले मितव्ययितासहित खरिदको प्रभावकारिता र वार्ता प्रक्रियालाई सहज गराउनुका साथै स्वच्छ खरिद अभ्यासको सुनिश्चितता दिलाउन सहयोगी हुन्छ ।

सार्वजनिक निकायका प्रमुखले सम्बन्धित विषयमा ज्ञानसीप भएका प्राविधिकहरूको एक समिति बनाई त्यस्तो समितिको सुझाव लिन सकिन्छ ।
कुन हदसम्मको प्रतिस्पर्धा गराउन सम्भव हुन्छ सोको व्यहोरा खोली निर्णय गरी खरिद प्रक्रिया अवलम्बन गर्न सकिन्छ । विशेष परिस्थितिसम्बन्धी विवरण, तत्काल खरिद नगर्दा सार्वजनिक सुरक्षा, हित तथा सामुदायिक स्वास्थ्यमा पर्ने सङ्कट र खरिदका अन्य विधि अपनाउन नसकिने कारण र आधार स्पष्टसँग खुलाएर राख्नुपर्छ ।

आचरणयुक्त व्यवसाय गर्ने संस्कार भएको अवस्थामा सङ्कटका बेलामा व्यवसायीको आचरणप्रति शङ्का उपशङ्का गर्नुपर्ने हुन्थेन । अनि सार्वजनिक पदाधिकारीले पनि आचरणको पालनमा उत्कृष्टता देखाएको पुष्ट्याइँ व्यवहारमा स्थापित भएको भए जनविश्वास सोही अनुसार कायम हुने थियो । सङ्कटलाई पार पनि लगाउनु छ र खरिदमा संलग्न पदाधिकारी पनि सुरक्षित खरिद अभ्यासमा रहनु छ । खरिदमा संलग्न जिम्मेवार पदाधिकारीले बुझ्नुपर्छ कि खोलो त¥यो लौरी बिस्र्यो को संस्कार देखा पर्न सक्छ । त्यसैले माथि उल्लेख गरिएका कानुनी आधार र पारदर्शिता एवं जवाफदेहिताका प्रयास गर्दा नै आफू पनि सुरक्षित होइन्छ, सङ्कटको घडीमा नागरिक सेवा पनि सहज हुन्छ । यसबाहेक पदाधिकारीहरूले कानुनको परिधि वा विधिभन्दा बाहिर नगई थप सिर्जनात्मक उपायको अवलम्बन गर्न सकिन्छ, जसले आफूले गरेका कामको पुष्ट्याइँमा सकारात्मक योगदान दिन्छ ।

विशेष परिस्थितिमा हुने खरिदका सम्बन्धमा विगतका निम्न कमीकमजोरीमा सुधार आवश्यक भएको कुरा पनि अहिलेको सङ्कटको सिकाइ होः
घाम रहुञ्जेल उपरखुट्टी लगाएर बस्ने छेपारोको कहानी झंै समयमा काम नगर्ने र घाम डुबेपछि विशेष परिस्थिति भनी उपल्लो निकायबाट निर्णय गराई खरिद भएका विगतका अभ्यासमा नियन्त्रण गरी ‘विशेष परिस्थिति हुन्छ’, ‘तिनका चरित्र पूर्वानुमान नगरिएका कुरासँग सम्बन्धित हुन्छन्’ भनी अभ्यास र आचरणमा सुधार गर्ने ।

अहिलेको स्वास्थ्य सामग्रीको अभाव भएको सङ्कटको अवस्थालाई आँकलन गरी खरिदको “संरचनात्मक सम्झौता (फ्रेमवर्क कन्ट्रयाक्ट) जस्ता सम्झौताका विधिहरूको अभ्यासलाई प्रयोगमा ल्याउन सक्दा विशेष परिस्थितिका कतिपय खरिद छिटो, छरितो र प्रभावकारी हुन्छन् । यसमा सार्वजनिक खरिद अनुगमन कार्यालय र मुख्य खरिदकर्ता सार्वजनिक निकायको सक्रियताका साथै सक्षमताको बारेमा ध्यान दिने ।
सङ्कटलाई व्यावसायिक अवसरका रूपमा मात्र नलिई मानवीय सहयोगको समय पनि हो भनी व्यापारिक क्षेत्र र सार्वजनिक क्षेत्रलाई सचेत गराउन आचरणमा यस्ता कुरा समावेश गर्नुपर्ने ।

विशेष परिस्थितिमा हुने खरिदका लागि कानुन अवरोधक छैन । कमीकमजोरी हाम्रो कार्यशैलीमा हो । सुधारका क्षेत्र प्रशस्त छन् नै, यी कुरा सिकाइका रूपमा लिई अर्को विशेष परिस्थिति आइपर्दाका लागि खरिद प्रणाली के कस्तो हुने भनी राम्ररी व्यवस्थापन गर्नुपर्छ । विशेष परिस्थितिको नाममा सार्वजनिक खरिदलाई विकृत बनाउनु हुँदैन ।

(लेखक सार्वजनिक खरिद अनुगमन कार्यालयका निर्देशक हुनुहुन्छ ।) -गोरखापत्रबाट साभार