nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 24th April, 2024
वि.स.
1000043965-1707579226.jpg

रुपचन्द्र ब्राण्ड र ट्रक नं. ४७४३ (यात्रा-कथा)
मोती भुजेल

Motee-Dai-1572081220.png
  • मोती भुजेल

उपत्यका भित्रिने सवारी साधनमा जति कडाइका साथ चेकिङ हुन्छ, बाहिरिने सवारी साधनमा उति नै चेकिङ भने हुँदैन । थानकोट चेकपोष्ट नजिकैको चियापसल भन्ने कि, पराग, गुट्खा पसल भन्ने । ज्यादा मात्रामा पराग, गुट्खा र मिठा सुपारीका लरी झुन्डिएका छन् । करिब एक घण्टा म त्यहीँ बाहिर उभिरहेको छु । छन त सानो बेञ्ची पनि छ । तर मन आत्तिएको बेलामा शरीरले आराम पनि नखोज्दो रहेछ ।

भाइलाई केही ? साहुजीले सोधे ।

एकबोटल पानी दिनुस् । दाइ पोखरा जाने बस पाइएला नि है ।

बस त पाइन्न । बरु सामान बोक्ने ट्रकहरु फर्किँदै छन् । पाइए पनि बिचमै बास बस्छन् ।

दाइले भनेजस्तै ट्रकहरु आए, गए । तर रोकेनन् । पछि चेक पोष्टसँगै उभिएँ ।

एउटा ट्रक आइपुग्यो, ना.३ ख. ४७४३ ।

चेकिङ भन्दा नि हल्का सोधपुछ गरे सुरक्षाकर्मीले ।

के छ ट्रकमा ?

खाली गरेर फर्केको ।

जाने इसारा पाउने बित्तिकै सुरु भयो ट्रकको यात्रा ।

झ्यालमा झुन्डिँदै भनँे,दाइ मलाई पनि लग्दिनुन ।

कहाँ लग्दिम हो हजुर ?

उनको बोली मलाई गिज्याएको जस्तो लाग्यो ।

पोखरासम्म हो दाइ ।

ल चढ्नू । बोल्दै जाम्ला ।

एक निमेषमै म ट्रक भित्र पुगेँ ।

दश दश मिनेटमा मोबाइलको घण्टी बजिरहन्थ्यो । म बाबालाई बस पाइनँ भनिरहन्थेँ ।

फेरी मोबाइलको घण्टी बज्यो । राति ३ बजेसम्ममा आइपुग्छु कि भनेँ । बाबाले हुन्छ भनेपछि ,औषधी खान नभुल्नू मात्र भनेँ ।

ट्रक ओरालो झर्दै गर्दा सोधेँ, दाइ तपाईँ कहाँसम्म हो ?

मु्ङलिनसम्म त पक्का । एकछिन रोकिए ,त्यसपछि थाहा छैन ।

ओहो ! नसोधी चढेको बर्बाद । मनले चित्त बुझायो, मुङ्लिनसम्म जाम, पछि जे होला ।

किन हतार गरेर फर्कन लाग्नुभएको ? भोलि बिहानै आरामले फर्केको भए हुने ।

खासगरी म आजै बिहानको आएको,आजै काम सकेर फर्किन खोज्दा ढिला भयो ।

ए तर्पाँईको काम त एकदिनमै बनेछ त । हुन त आफन्त होलान् नि अफिस अफिसमा । नत्र काठमाण्डौँमा एकदिनमा हुने काम तीनदिनमा पनि हुन गाह्रो छ । काठमाण्डौँ खाल्डो हो, खाल्डो । मान्छे यहाँ आएको दिनबाट पुरिन सुरुहुन्छ । खाल्डोमा पुरिँदै गर्दा आफूले माटो फाल्दै जानसक्यो भने पुरिन्न नै त घाँटीसम्म आइन्जेल पुर्छ काठमाण्डुले ।

यो सुनेर म झस्केँ । तीन वर्षपछि काठमाण्डौँ आउने सपना थियो । कसैले झस्काइदियो ।

भाइ के भयो ? मोबाइलको गीत बन्द गरेर कानको एअरफोन झिक्दै बोले ।

एकछिनपछि ।

दाइको घर कहाँ नि ?

मौकानपुर ।

ए, रुपचन्द्र विष्टलाई चिन्नुहुन्छ होला ।

म उहाँकै विद्यार्थी हो । जनकल्याण माविको ।

ट्रकको गति अलि ढिलो भयोे । घुम्ती भएर पनि होला ।

‘थाहा’ आन्दोलन बारे मैले पनि धेरै सुनेको ।

‘राजनीति खराब आचरण भएका व्यक्तिले मात्रै गर्ने होइन’ रुपचन्द्र भन्ने गर्थे । नेपालमा त्यस्ता व्यक्तिको पनि जन्म भएको थियो, जसले साँच्चै जनताका लागि केही गर्न चाहन्थे । ती मध्ये रुपचन्द्र विष्ट एक हुन् । वि.सं. ०२९ र ३० सालतिर रूपचन्द्र विष्टले थाहा आन्दोलन सुरू गरे । यस आन्दोलनको सबभन्दा महत्वपूर्ण विशेषता के थियो भने यसमा कुनै पनि प्रकारको सैद्धान्तिक अस्पष्टता थिएन ।

दामन र हाम्रो पालुङ गाउँ पञ्चायतलाई मिलाएर रूपचन्द्रले गाउँ विकास समिति बनाएका थिए । कार्यालयलाई विकास घर भनिन्थ्यो । रूपचन्द्रले विकास करको नियम चलाएका थिए । दामन र पालुङवासीले एक धार्नी आलु बेच्दा ५ पैसा विकास कर तिर्नुपथ्र्यो । तिरेको कर कहाँ खर्च भइरहेको छ, जानकारी पनि दिन्थे । सरले भन्नुहुन्थ्यो ‘श्रमिकको राजनीति पूँजिपतिले गरेर हुँदैन, छाप्राको राजनीति महलले गरेर हुँदैन, महिलाको राजनीति पुरुषले गरेर हुँदैन, आफ्नो लागि आफैँ जागेर अघि बढ्नुपर्छ । जानेर बुझेर अघि बढ्ने हिम्मत गर्नुपर्छ । होस सहितको जोसले काम गर्नुपर्छ ।’

ट्रक बिस्तारै गुडी रहेको छ । एउटै गतिमा ।

‘हामी कसैका होइनौँ, कोही हाम्रा होइनन् । मात्र हामी सत्य र न्यायका लागि र सत्य र न्याय हाम्रा लागि हुन् ।’ यो भनाइ त मलाई पनि औधि मन परेको हो ।

दाइ तपाईँ कतिपढ्नुभको ? पानीको बोतल हातमा लिदै सोधे ।

एस.एल.सी.सम्म हो ।

यति भन्दा पनि उनको चेहेरामा मुस्कान थियो ।

मोबाइलमा घण्टी बज्यो । मोबाइल हेरे । अलि फराकिलो ठाउँमा पुगेर ट्रक साइड लगाए । ट्रक रोके । घण्टी अफ भैसकेको थियो । फेरी घण्टी बज्यो । रिसिभ गरे । हेल्लो बाबा अघि किन फोन नउठाउनु भको ? लाउड स्पिकरमा छोरी बोलेको सुनेँ ।

म ड्राइभिङ गर्दै थिएँ छोरी ।

बाबा एकै छिनमा मेरो फेसबुक लाइभ हेर्नु त ।

मोबाइलको डाटा अन गरे । फेसबुक पेज खोले । बुद्दि तामाङ रहेछ उनको फेसबुक आइडी । म हेरिरहेछु उनको मोबाइलमा । स्क्रीन तल माथि सार्दै थिए विमला तामाङको आइडीमा रोकिए ।

यो मेरो ठूलो छोरी । अष्ट्रेलियामा छ । आज उसको ग्र्याजुएसन प्रोग्राम छ । त्यही हेर्नको लागि फोन गरेर भनेकी ।

म र बुद्दिदाइ चुपचाप मोबाइल स्क्रिनमा हेरिरहेका छौं । एनाउन्सरले बोलाइरहेको छ । विद्यार्थीको नामसँगै उनीहरुको देशको नाम । मञ्चमा उक्लँदै ह्याट पहिरिँदै छन् । क्रमश ५ ओटा देशका विद्यार्थीको नाम बोलाइसक्यो । हामी आँखा पनि झिमिक्क नगरी हेरेका छौँ ।

‘विमला तामाङ फ्रम नेपाल ।’

हमी दुई एक अर्कालाइ हेरेर बधाई भनिरहेका थियौँ मनमनै । गर्वले छाती ढक्क फुल्यो । बुद्दिदाइले हर्षका आँसु चुहाए । म पनि थामिनै सकिनँ । आफ्नो सिट अगाडि ¥याकमा भएको गोल्डेन कलरको बुद्घको सानो मुर्तीमा मोबाइल अड्याए । ॐमाने पे मे हुँ को मन्त्र जपे बुद्धिदाइले । विमलाले ह्याट लगाइरहेको तस्बिरपछि अरु अपलोड हुन सकेन । नेटवर्क स्लो ।

बधाई छ छोरी । बुद्धिदाइले कमेन्ट गरेर डाटा अफ गरे ।

मैले पनि मनमनै कमेन्ट गरेँ । बधाई छ चेली । तिमीहरु जस्ताको खाँचो छ देशलाई ।

ट्रक स्टार्ट गरे । विस्तारै ओरालो घुम्ती बाटो, छाती ढक्क फुलेकोले हामी दुवै जना केहिबेर बोलेनाँै । बुद्धिदाइ अलि भावुक भइरहे । आधा घण्टाको मौनतापछि बुद्धिदाइले ट्रकको लामोप्रेसर हर्न बजाए । ‘यो गल्छीमा राति ड्राइभ गर्दा कति चोटी वन्यजन्तुहरु एक्कासी सडकमा झरेको भेटेको छु । चाहेको भए त्यतिबेला पनि एक दुइटालाई टायर मुनी पार्न सक्थेँ । तर किन अनाहकमा अरुको ज्यान लिने, पशु हो ।

उसको पनि परिवार छ । ऊ, झ¥यो साँढे । देख्नुभयो आज पनि । हो यसैले मैले नदेखेर पनि वन्यजन्तुहरु टायर मुनी नपरुन् भन्ने मेरो सोच हो ।’
कति राम्रो सोच तपार्इँको । तपार्इँ जस्तै सचेत ड्राइभरहरु भए त दुर्घटना पनि कम हुन्थे होला है ?

दुर्घटना गराउँछु भनेर कुनै चालकले गर्छ भनेर त, म मान्दिनँ । कहिलेकाहीँ हुन जान्छ ।

दाइले यो पेशा गरेको कति भयो ?

भयो भाइ २० वर्षजति ।

अनि दाइले चलाउँदा कुनै दुर्घटना ?

बुद्घको कानमा नपरोस्, अहिलेसम्म मैले चलाएको साधनबाट कुनै कसुर भएको छैन । बुद्घको सानो मुर्तीलाइ तीनपटक ढोग्दै भने ।

दाइ कहाँ आइपुगियो ?

नौबिसे आउन लाग्यो ।

मैले चोर औंला ठड्याएर पिसाब फेर्ने ठाउँ सोधें ।

बुद्धिदाइ हाँसे । ए भाइ, यो रातको बेला के सोधी राखेको, ओर्लेर ट्रक पछाडि छेल परेर दिनु न । ब्याकलाइट बाल्दिन्छु, नडराउनू ।

‘जीवनमा एउटै मात्र गल्ती गरिरहँे, धुलो मेरो अनुहारमा रैछ, तर म चाहिँ ऐना पुछिरहें ।’ ट्रकको पछाडि भागमा लेखेको ।

कति बेर लाको ।

बुद्धिदाइ बोलेको सुनेपनि माथिको हरफले भुलायो । झ्याल खुल्लै थियो । गएर बसें सिटमा ।

एकछिन पछि सोधें । बुद्धिदाइ तपार्इँको घरमा को को हुनुहुन्छ ?

ए, मेरो नाम कसरी था भो भाइ ?

अघि फेसबुकमा हेरेर थाहा पाएको ।

अघि देखाएको ठूलोछोरी हो । माइली दस कक्षामा पढ्दै छ । छोरा आठमा छ । बुढी हेटौंडामा खाजाघर चलाएर बस्छ ।

सुखीपरिवार रहेछ दाइको ।

मैले घडी हेरें । रातको एकबज्नैलाएको रहेछ । बुद्धिदाइले मोबाइलको सेक्युरिटीलग हानेर मेसेज हेरे । मैले पनि हेरें । रोमनमा लेखेको बुद्धिदाइ तपार्इँ पोखरा जानुपर्ने भयो । गण्डकीनुडल्सबाट चाउचाउ लोडगरेर धनगढी जानुहोला । तेलहाल्ने पैसा कंम्पनीले एडभान्स दिन्छ, त्यहीँबाट लिनु ।

मनमनै म ढुक्क भएँ ।

पोखरा जानुपर्ने भयो । ल भाइ, ढुक्कहुनु ।

दाइलाई भोक लागेछैन ?

खै होटलहरु प्नि सबै बन्द भैसके । कस्को होटल खुल्ला होला त, माइलीको होटल संझनामा फोन गर्छु । उनले यसो भन्दा मेरो पनि आधा भोक हटेको थियो ।

नाम सर्च गरे । कालीलाई कन्ट्याक्ट गरे । हेन्ड फ्री स्पीकरमा घण्टी पुरैगइरह्यो । हेलो ।

हेल्लो काली, निदाइसकिस ?

उम्, कस्तो सपना देखिराखेको बेलामा फोन गरेर बिच्काइदिने । बिउँझाइदियौ नि ।

म नजिकै आइपुगेको छु । आउँछु है ?

भो भो आधीरातमा आउनुपर्दैन । तिमी एक्लै कहिल्यै आउँदैनौ । म सक्दिनँ ।

कसम अर्को चोटी एक्लै आउँछु ल । साथीहरु भए आउँदिन । तर आज पनि एकजना भाइ छन् ।

जेसुकै गर । मौनस्वीकृती पाए दाइले ।

के पारा हो बुद्धि दाइको । घरमा त्यति राम्रो परिवार भएर पनि । बाहिर बाहिर छ्या । ड्राइभर न परे । मत ज्यानजाला त्यस्तो केही गर्दिनँ । बरु यिनको ट्रकमै चढ्दिनँ । पातकी पो रहेछन् । मनमनै यस्तै सोचेँ । उनीतिर नहेरी अँध्यारो भए पनि झ्याल बाहिर हेरिरहेँ । जहाँ सुविधा त्यहाँ दुविधा । झरेर पनि कहाँ जाने । बरु भोकको कुरै नगर्नुपर्ने रैछ । उनीतिर हेर्न मन पनि छैन । फोन गरेको पाँच मिनेटमै सम्झना होटल अगाडि बुद्धिदाइले ट्रक रोके । म भन्दा पहिला उनै झरे ट्रकबाट । झरम कि नझरम गर्दै झरँे म पनि । मनकामनामाई रक्षा गर । बन्द सटरको साइडको च्यानल गेट घ्यात्य्राकघ्यात्य्राक गर्यो । भित्रबाट चाबी लगाएको थियो । डहरमा एउटा मधुरो प्रकाश मात्रै थियो । कुर्ता सलवार लगाएकी अधवैंशे आइपुगिन् । निन्द्रामै जस्तो, अनुहार हँसिलो छैन ।

‘समयमै आउन जान्दैनौ ? यत्रो वर्ष यही बाटोमा हिंड्दा पनि यतिबेला यहाँ पुग्छु भन्ने दिमागमै छैन । जैले आधीरातमा ।’
यति सुनिसकेपछि मेरो अड्कलमा झन् भारीप¥यो ।

नरिसानकाली । आज पनि यस्तै भयो ।

अघिभर्खर निस्केको ढोकाको चुकुललगाइन् । साइडको अर्को ढोका खोलिन् चाबीलगाएको थिएन । पहिला दिदी भित्र पसिन् । बुद्धिदाइको पछिपछि म पनि बन्द सटर भित्र पुगेँ ।

फ्रीज खोल्दै बोलिन् दिदीले । दाल र चट्नी छ । भात बसाल्नु पर्छ । प्रेसर कुकरमा टाइम लाग्दैन ।

काउन्टर सँगैको डब्बल बेन्च जत्रै खाटमा पल्टिए बुद्धिदाइ । म चुपचाप कुर्चीमा बसिरहेको छु । दाइ केही पिउने हो ? टाँसीतिर देखाउँदै सोधेँ ।

पन्ध्र वर्ष भयो भाइ, पिएर ड्राइभिङ नगरेको । रात यतै बिताउनेहो भने पिउँला हुन्न र ?

राम्रो बानी रहेछ दाइको ।

कुन बानी ?

नपिउने ।

पिउँछु । घरमा जाँदा मात्रै । ओइ काली बोल्न, के मुखमा छ्याङ हालेछस् र ? तेरो बुढो कहिले आउने रे ?

अझै तीनवर्ष नआउने रे ।

बुद्धिदाइ फेरि मात्तिन आँटे । ओहो खत्तमै रहिछन् । अघिको शङ्का बलियो हुँदैगयो । आज मेरो अगाडि केही नभए हुन्थ्यो । भोलिपर्सी जेसुकै मरुन् । श्रीमान् विदेश जाँदा श्रीमती घरमा यो कस्तो डरलाग्दो रोग फैलिँदैछ ।

छिससस्…..ई….., कुकरले सिठी लगायो ।

भान्जो भान्जी सुते,निदाए होलान् । यति अबेर भइसक्यो । बुद्धि दाइले कुरा गर्ने बहाना बनाए ।

अमम्,भान्जी निदाइरहिछे । विवेक साथीको बर्थडे भनेर रिभर साइड गएको उतै रमाइलो गरेर बस्यो आज । भोलि बिहानै आउँछु भन्दै थियो ।
साँच्चै भान्जो कति लागे ? विवाह गरिदिने होइन ?

भयो नि २४ को । अहिलेसम्म भाडामै बसेको छ । माथि चोकमा घडेरी छ, घर बनाएर छोराको बिहे गर्नी हो भन्थ्यो माइलाले ।

ल,विवेकको र मेरो छोरी विमलाको जोडी मिल्छ । अन्त कुरै नगर ।

के बिहेको कुरो गर्नु । उनले कुरो फिसलिन् ।

खाना खाइसकेर निस्कन लाग्यौं ।

कति भयो दिदी ?

केही त खानुभएन । चारसय मात्र दिनु ।

चारसय दिएपछि म ढुक्क भएँ । एकसासमा निस्केँ । बुद्धिदाइ चढे ट्रकमा र अर्को साइडको झ्याल खोलिदिए । म पनि चढेँ ।

मुग्लीनकोपुल कटेर धेरैनै अगाडि पुगियो । म निदाएँ भने,बुद्धिदाइलाई बोर होला भनेर म बेला बेलामा पानी पिइरहन्थेँ । मेरो ननिदाउने उपाय ।
एकै रफ्तारमा ट्रक गुडिरहेछ । सवारीहरु क्रस भइरहेछन् । दश दश मिनेटको फरकमा । पुआँअ,पुआँअ हर्न बजाए बुद्धिदाइले । उताबाट क्रसभएको ड्राइभरले पनि त्यसैगरी हर्न बजायो ‘पुआँअ,पुआँअ ।’

धेरैबेर पछि ।

भाइ आफू केही नबताउने ।

दाइ, मेरो नाम सन्तोष खाती । मेरो घर बागलुङ,गल्कोट हो ।

बागलुङकालिका थाहा छ । एकचोटी दर्शन पनि गरेकोछु ।

बागलुङकालिका मन्दिरबाट लगभग ५० किलोमिटर होला । ढोरपाटन शिकारआरक्षण जानेबाटो त्यही हो ।

अनि पोखरामा के गर्नुहुन्छ ?
दाइ म बिहान मास्टर्स गर्दैछु । दिउँसो सरकारी स्कुलमा अस्थाइकोटामा शिक्षक छु । बेलुका रेडियोमा कार्यक्रम चलाउँछु । विजयपुरपुल कट्ने बित्तिकैको चाउथेचोक नजिकैको नयाँ वस्तीमा बस्छु ।

केही समय चुपचाप ।

दाइ घाँसीकुवा काटिगो कि । के भो ।

रातमा अलि भरपाइनँ हो । बुद्धिदाइले ट्रक अलि स्लो गरे ।

भाइ, घाँसीले लगभग २०० वर्ष अगाडि कसरी घाँस बेचेर त्यो पैसाले कुवा खनाए ? त्यो बेलामा जनसङ्ख्या कम भएकोले वनजङ्गगल प्रशस्त थियो । घाँस किनबेचको व्यापार हुने कुरै थिएन भने कसरी घाँस बिक्थ्योत ? पाटी, पौवा बनाउने,चौतारा चिन्ने, कुवा खन्ने काम त एउटा धर्मकर्मको पाटो थियो । कुवा त खनाए त्यो मान्छु । तर घाँस बेचेर त्यो पैसाले कुवा खनायो भन्ने म त मान्दिनँ ।
दाइलाई यति धेरै चासो,खोज,ज्ञान कसरी आउँछ ।

फुर्सदमा पत्रपत्रिका र बुकहरु पढ्छु । बेकारको बात गर्र्दिनँ । समयलाई सही सदुपयोग गर्छु । केही वर्ष पढाएको पनि हो । सायद अर्को एक महिनापछि यो पेशा छाड्छु होला भाइ ।

दाइ अब तपार्इँ पढाउन जाने हो ?

रुपचन्द्र गुरुको आस्थामा हिड्ने बिचार गरेको छु । आप्नै गाउँठाउँमा गएर शिक्षामा केही गर्छु । म पढेको स्कुललाई पनि सकेको सहयोग गर्छु । अझै पनि हाम्रोतिर अशिक्षित समुदायहरु छन् तिनीहरुको लागी अबको दश वर्ष बिताउँछु । स्वंयम् सेवकको रुपमा विद्यालयलाई व्यावसायिक शिक्षामा जोड दिँदै कृषि विषयलाई उच्च स्थानमा राखेर अभिभावक,विद्यालय प्रशाशन, विद्यार्थी र शिक्षक सँग मिलेर सुन्दर समाजको निर्माण गर्ने तर्फ लाग्छु । उत्पादनमुखी शिक्षामा जोड दिन्छु । जानेको सिकाउँछु । सकेको गर्छु ।

दाइलाई अग्रीमबधाई छ ।

होटलकी साहुनी तपार्इँको के पर्ने ?

हकवाला हो पहिला । अहिले त मेरो साडुभाइसँग विवाह भएको छ ।

विमलाको विवाह विवेकसँग कसरी हुन्छ त, नातापरेन ?

नाता त पर्यो । हकवालानाता । मामाको छोरासँग । त्यही भएर भनेको ।

ए…। गम खाए, मलाई माफ गरिदिनु दाइ । तपार्इँमाथि मैले नराम्रो सोचेँ । केही नबुझी दोष लगाउने मेरो बानी अब सुधार्छु । पश्चाताप लाग्यो । ठुलो गल्तीगरेको महशुस भैरहेकोले म चुप छु ।

दाइ म यहीँ झर्छु सँगै जाम डेरामा । तीनघण्टा जति सुत्नुहोला ।

हैनभाइ,अलि माथि वर्कसपमा ट्रक राख्छु र ट्रकमै सुत्छु ।

धेरै धन्यबाद ।

झ्याल ढ्याप्प लगाए बुद्धि दाइले । हेरिरहेँ, सानो सानो हुँदै गयो फेरि भेटौंलासँगै ट्रक नं.४७४३ ।

                                                                                                                                                   Motibhujel.30525@gmail.com