nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

महिला हिंसाको कुरा धेरै भयो, एकछिन पुरूष हिंसाको कुरा गरौं
देवी काफ्ले

देवी काफ्ले 

सबैभन्दा बढी पुरूष हिंसामा ती परेका छन्, जो घरखर्च, सुरक्षित भविष्य, आर्थिक सम्पन्नताको सपना बोकेर खाडी मुलुक भासिएका छन् । विदेशिएका लोग्ने ठगेर अर्कै लोग्नेसँग रंगरेलिया मनाउँदै घर, छोराछोरी, लोग्नेको सम्पत्ति लथालिङ्ग पारेर हिँडेका महिलाहरुले अधिकांश पुरूषहरुलाई बिचल्ली पारेका छन् ।

समाजमा देखिएका ताजा घटना हुन् यस्ता । अष्ट्रेलिया जाने लोभले नक्कली विवाह गर्ने, सारा खर्च बेहोर्न लगाउने, अष्ट्रेलिया पुगेपछि डिभोर्स माग्ने, पढाई खर्च र पालनपोषण खर्च उक्त केटाबाटै भराउने, सकेसम्म नेपालमा रहेको पैतृक सम्पत्तिको समेत अंश दाबी गर्ने जस्ता साहसिक काम गर्न आजका युवतीहरू सहज ठान्न थालेका छन् । यसैमा उनीहरू गर्व गर्छन् । विवाह गर्दा दश लाख खर्चेर विवाहपछि फेरि लाख, दुई लाख खर्चेर साउदी, कतार हानिन्छन् । बिवाहको केही महिनापछि श्रीमती घरमा बाआमासँग बस्न कठिन भएको, पढाइलाई अगाडि बढाउनुपर्ने, बच्चा पढाउनुपर्ने आदि समस्या देखाउँदै शहरबजारतिर बसाइँ सर्ने प्रपन्च मिलाउँछन् । उनलाई परिवारको जुठो भाँडो, घरको सरसफाई, खेतबारीको काम गर्न पटक्कै मन लाग्दैन । लागोस् पनि कसरी ? सँगै पढेकी साथी शहरमा बस्छे । मनखुशी डुल्छे, घुम्छे ।

आखिर मनै त हो । ऊभन्दा म के कम भन्ने भावनाले ग्रस्त भएपछि... । घरमा बृद्ध बाआमा, बिहेको ऋणले अत्तालिएको छोरो, नौली स्वास्नीबाट टाढा रहनु बाध्यता हुन्छ । तर, के गरोस् उसले ? फोनमै भएका मायाप्रेमका कुराले लट्ठिएपछि श्रीमतीले भनेको कसरी नमानोस् । घरतिर कमाई पठाउनुभन्दा भविष्य बनाउनु पर्छ भन्दै श्रीमतीकै झोलीमा सरसापट गरेर पैसा पठाउँछ । यता श्रीमती के कम ? जवानीको जोश, होटलमा खाना, रेष्टुरेण्टको खाजा, साथीसँग डुलघुम र मस्ती हुँदाहुँदै नयाँ साथीको बाहुपाशमा लट्ठिएर ‘म बाँचेको हेर्ने भए खुरूक्क पैसा पठाऊ’ भन्ने आदेश गर्छे । आदेश पाउनासाथ इमान्दारीसाथ आइएमई गरिहाल्छ । सोंचेको हुन्छ– अब घर जाँदा शहरको छेउँछाउँमा भए पछि एउटा घडेरी जोडिन् होला प्रियाले । सानो परिवारलाई ६ महिना पुग्ने खेतबारी पो किनिन् कि ? यस्तै यस्तै सोंचेर मख्खिन्छ ऊ । लोग्ने विदेश । राम्रो लाउने, मिठो खाने रहर कसलाई हुँदैन र ? गहना जोड्नु पर्यो, पैसा पठाऊ ।

घरभाडा, लत्ताकपडा, बच्चाको शुल्क, घरखर्च भन्दाभन्दै उता कमाएको पैसाले कसरी थेग्नु ? तैपनि येनकेन गरेर पठाएको पैसो कुटुरी पारेर नयाँ साथीसँग भाग्ने गरेका घटना अति विकराल रूपमा बढेका छन् । लगभग दिनहुँजसो घट्ने यस्ता घटनाले सबैको विश्वासमाथि शंका उत्पन्न गराएको देखिन्छ । यस्ता घटनाले धेरै युवाको घर तहसनहस भएको छ । विदेशमा काम गर्दागर्दै कति युवाले ज्यान गुमाएका छन् । कति अंगभंग भएर घर फर्किन बाध्य छन् । तर कतिपयले कमाएर पठाएको कमाईमा अर्कैले मोजमस्ती गरेर घरवारविहीन बनेका छन् । कतिपय युवा त जीवनभर निको नहुने रोग बोकेर घर फर्केका छन् । उनीहरू आर्थिक, मानसिक र शारीरिकरूपमा अशक्त बन्नुको कारण उनका पत्नीहरू देखिएका छन् । बच्चाहरू घर न घाटका भएका छन् । न कमाएको धन छ, न स्वस्थ ज्यान छ, न घरमा श्रीमती छ । फलतः अत्यन्त पीडादायी जीवन बिताउन बाध्य छन् दाजुभाइहरू ।

आखिर यस्तो प्रवृति कसरी बढ्यो ? यस्ता घटनाहरू न्यूनिकरण कसरी गर्ने ?

देशमा बेरोजगारीको चरम अवस्था हुनु सबैभन्दा ठूलो कारण देखिन्छ । अधिकांश नेपाली गरीबीको मारमा च्यापिएका छन् । बिहानको खाना जुटाए पनि बेलुका के खाऊँ ? भन्ने अवस्था जस्ताको तस्तै छ । यस्तो अबस्थामा बैदेशिक रोजगारमा जानु, केही कमाई गरेर ल्याएपछि परिवार पाल्न सहज हुन्छ भन्ने आशाले युवाहरु विदेश पलायन भइरहेका छन् ।

भर्खरको खाऊँ खाउँ र लाऊँ लाऊँको उमेरमा बिहे गरेर श्रीमती छोडेर बिदेशिनु पर्दा यस्ता घटनाबाट धेरै युवाहरू पीडित बनेका छन् । कृषिमा निर्भर हुन नसक्नु अथवा राज्यले त्यसतर्फ उचित ध्यान नदिनुले पनि यस्ता घटना दोहोरिएका छन् । देशको सम्पूर्ण भूभागको ६८ प्रतिशत जमिन पहाडी भूभागमा पर्छ । जहाँ खेतीयोग्य जमिनको उपयोग हुन सकेको छैन । बाली लगाउँदा उत्पादनभन्दा खर्च धेरै हुन्छ । समयमा मल, बीउ पाइँदैन । सिंचाईको ब्यबस्था छैन । जब उत्पादन हुँदैन, घरको जोहो टार्न, त्यसमा भविष्य नदेखेपछि युवा बिदेसिन्छन् र यस्ता समस्याका शिकार हुन पुग्छन् ।

आजकल मानिसहरू संयुक्त परिवारमा बस्न मन पराउँदैनन् । यसकारण पनि उल्लिखित घटनामा बृद्धि भइरहेको पाइन्छ । पारिवारिक झमेला बेहोर्न मन गर्दैनन् । आफुखुशी डुल्न, घुम्न नपाइने, कामको जिम्मेवारी हुने हुनाले पनि बाहिर एकल परिवारमा बस्न रूचाउने हुनाले पनि यस्ता घटनाहरूले व्यापकता पाएको छ । यसको अर्को प्रमुख कारणको रूपमा त सामाजिक सञ्जाल नै देखिन्छ । जब मान्छे फुर्सदमा हुन्छ, दिमागमा अनेक कुराहरू खेल्छ । त्यसपछि सामाजिक सञ्जालमा कुरा गर्दै जाँदा सम्बन्ध नजिकिन्छ । भेटघाट बाक्लिन्छ र यसबाट भावनात्मक सम्बन्ध बढ्न थाल्छ ।  माथि उल्लिखित यावत कारणले गर्दा आज केही पुरूषहरू पीडित नभएका होइनन् तर यसको पूरा दोषी महिला मात्रै भने अबश्य होइनन् ।

मान्छे कुनै न कुनै काममा ब्यस्त हुनुपर्छ । ‘खाली दिमाग शैतानका घर’ भन्ने त नेपालमा प्रख्यात उखानै छ । खाली हुनासाथ अनेक तर्कबितर्क गर्न थाल्छ र गलत बाटो अपनाउन थाल्छ । देशमा रोजगारीको ब्यवस्था भयो भने परिवार छोडेर बिदेशिनु पर्दैन युवालाई । फलतः घटना न्यूनीकरण हुन्छ । छोराछोरीलाई सानैदेखि जिम्मेवार बनाउनु पर्छ । संयुक्त परिवारको महत्व बुझाउनु पर्छ । नैतिक शिक्षा सिकाउनु पर्छ । यसले पनि घटना न्यूनिकरण हुन्छ । सरकारले पहाडबाट बसाइ सर्ने प्रवृत्तिलाई निरूत्साहन गर्ने योजना ल्याउनु पर्छ । कृषिमा निर्भर हुने आधार जुटाइदिनु पर्छ । यसो गर्दा युवा परिवारसँगै बस्न सकून् । आफ्नो उत्पादनमा रमाउन सकून् । सपरिवार एकै ठाउँमा भएपछि यस्ता घटना स्वतः घटेर जान्छ । यहाँ हरेक गलत कामको जिम्मा पुरूषलाई नै दिइने भएर पनि हो कि ? कानूनले दिएको अधिकारको दुरुपयोग पनि भएको देखिन्छ । दोषी दुबै पक्ष हुन्छन् ।

(काफ्ले साहित्य र महिला अधिकारका विषयमा कलम चलाउनुहुन्छ ।)