Sunday, 19th May, 2024
वि.स.
1000043965-1707579226.jpg

मकवानपुरमा नौ वटा स्थानीय तह प्रस्ताव गरियो
कुन स्थानीय तहको संभावना के ?

मकवानपुर जिल्लाको स्थानीय तह पुर्नसंरचना प्राविधिक सहयोग समितिले जिल्लालाई ९ वटा स्थानीय तह गठन गर्नुपर्ने प्रस्ताव सहितको प्रतिवेदन स्थानीय तहको संख्या र सीमांकन निर्धारण आयोगलाई बुझाएको छ । मकवानपुरमा गठन भएको प्राविधिक समितिले ९ वटा स्थानीय तहको सीमांकन, नामाकंन र सम्भावित विशेष तथा संरक्षित क्षेत्र समेत निर्धारण गरेर प्रतिवेदन बुझाएको हो ।
प्रतिवेदन अनुसार एक उपहानगरपालिका, एक नगरपालिका र सातवटा गाउँपालिका रहने प्रस्ताव गरिएको छ । 

थाहा नगरपालिका

मकवानपुरको उत्तरी पर्यटकीय क्षेत्रमा रहेको थाहा नगरपालिकामा अरु तीन वटा आग्रा, टिष्टुङ, र चित्लाङ गाविस गाभ्ने प्रस्ताव गरिएको छ । तीनवटा गाविस गाभिएपछि थाहा नगरपालिकाको जनसंख्या ४० हजार हुनेछ । यस नगरपालिका पर्यटकीय क्षेत्र रहेको र त्यसको विकास गर्न सकिने प्रस्तावपत्रमा लेखिएको छ । 
अरु गाविस गाभेर अब प्रस्ताव गरिएको थाहा नगरपालिकामा कम्तिमा ८० प्रतिशत विद्युतीकरण भइसकेको प्रतिवेदनमा उल्लेख गरिएको छ । पर्यटीकय नगरपालिका संगै कृषिको पकेट क्षेत्रको रुपमा समेत थाहालाई प्रतिवेदनमा प्रष्ट पारिएको छ । 

इन्द्रसरोवर गाउँपालिका

मकवानपुर जिल्ला प्राविधिक समितिले साविकका कुलेखानी, मार्खु, सिस्नेरी, फाखेल, इमापञ्चकन्या, कोगटे गाविसहरुलाई गाभेर एउटा गाउँपालिका गठन गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्तावित गाउँपालिकामा १७ हजार ५ सय ८५ जनसंख्या रहनेछन् ।
कुलेखानी बाहेक यस गाउँपालिकामा पक्की सडकको दुरी निकै कम छ । प्रस्तावित गाउँपालिका पर्यटकीय क्षेत्र तथा तरकारी खेतीको उच्च सम्भावना रहेको प्रतिवेदनमा उल्लेख छ ।

बैकुण्ठ वा मेन्दोलिङ गाउँपालिका

मकवानपुरको साविकका कालिकाटार, भार्ता, गोगने, डाँडाखर्क र नामटार गाविसलाई गाभेर बन्ने गाउँपालिकालाई बैकुण्ठ वा मेन्दोलिङ गाउँपालिका प्रस्ताव गरेको छ । यो गाउँपालिकामा अति विपन्न, जनजाति बाहुल्यता र भौगोलिक विकटता भएको क्षेत्र भएकाले बिशेष क्षेत्रका रुपमा घोषणा गर्नुपर्ने पनि प्रस्ताव छ ।

भीमफेदी गाउँपालिका

मकवानपुर आमभञ्ज्याङ, सुकौरा, भैंसे र निबुवाटार गाविसलाई मिलाएर भीमफेदी गाउँपालिका गठनको प्रस्ताव गरिएको छ । यस गाउँपालिका विकासका अन्य पूर्वाधारको राम्रो विकास हुन नसकेको प्रतिवेदनमा उल्लेख छ । यस क्षेत्रमा वन संरक्षरण निकै राम्रो रहेको, तर आर्थिक स्रोतको सदुपयोग हुन नसकेको प्रतिवेदनमा लेखिएको छ ।

बकैया गाउँपालिका

यस गाउँपालिकामा  मन्थली, छतिवन, शिखरपुर र धियाँल गाविसलाई मिलाएर एउटा गाउँपालिका बनाउने प्रस्ताव गरिएको हो । यस गाउँपालिकाको आम्दानीको स्रोतमा कृषि र पर्यटकीय क्षेत्र देखाइएको छ । यस गाउँपालिकामा एउटा पनि पिच भएको सडक छैन ।

हेटौंडा उपमहानगरपालिका

प्राविधिक समितिले मकवानपुरमा एउटा उपमहानरपालिका समेत गठन गर्ने प्रस्ताव गरेको छ । प्राविधिक समितिले तयार पारेको प्रतिवेदनमा साविकको हेटौंडा उपमहानगरपालिकामा मकवानपुरगढी गाविसलाई गाभिने प्रस्ताव छ ।

बाग्मती गाउँपालिका

बाग्मती गाउँपालिकामा साविकका तीन गाविसहरु राईगाउँ, फापरबारी र बेतिनिलाई मिलाउने प्रस्ताव छ । प्रस्तावित गाविसको जनसंख्या ३० हजार रहेको छ । त्यस क्षेत्रमा १२ वटा पर्यटकीय क्षेत्र छन् । बेतिनी गाविसमा एउटा घरमा पनि विद्युतीकरण हुन सकेको छैन ।  

राप्तीदुन गाउँपालिका

मकवानपुरको मनहरी र हाँडिखोला गाविसलाई मिलाएर राप्तीदुन गाउँपालिका गठनको प्रस्ताव गरेको छ । यसको जनसंख्या करिब ३८ हजार ३ सय ९९ रहेको छ । हेटौडा उपनगरपालिकासँग सीमाना जोडिएको प्रस्तावित गाउँपालिका सडक सञ्चालको पहुँचबाट पनि सम्पन्न छ ।
राक्सिराङ गाउँपालिका
राक्सिराङ, काँकडा, सरिखेत र खैराङ गाविसलाई मिलाएर राक्सिराङ गाउँपालिका बनाउने उल्लेख छ । उक्त गाउँपालिकामा एउटा विशेष संरक्षित क्षेत्र घोषणा गर्नुपर्ने प्रस्ताव गरिएको छ । अति विपन्न, सीमान्तकृत चेपाङ र जनजाति वाहुल्यता क्षेत्र भएकाले विशेष संरक्षित क्षेत्र घोषणाको प्रस्ताव गरिएको हो ।

-फोटो तथा नक्सा सौजन्य : जिल्ला विकास समितिको कार्यालय, मकवानपुर