nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

प्रकाशले भनेको प्रचण्डले मान्दिएकाे भए याे दिन अाउथेन

माओवादी केन्द्रमा पुष्पकमल दाहाल प्रचण्डको प्रतिलिपिका रुपमा नेता नारायणकाजी श्रेष्ठ प्रकाशलाई अर्थाइन्थ्यो कुनै बेला । जनयुद्ध गर्ने कि नगर्ने भन्ने विषयमा विमति भएसँगै दुबै नेता रुदै अलग भएका थिए । प्रचण्डले माओवादी जनयुद्धको नेतृत्व गरे, प्रकाशले माओ विचारधाराको प्रचार । यि दुई नेता भौतिकरुपमा अलग भएपनि भावनात्मकरुपमा एक जस्तै रहे । सम्बन्ध कतिसम्म गहिरो थियो भने प्रचण्डले अधिकांश कारवाही, निर्णय र एक्सनका बारेमा प्रकाशसँग पूर्व छलफल गर्थे । ‘फोनमा सबै नभन्नु ।’ प्रकाश प्रचण्डलाई सम्झाउँथे । ‘ह्या केही हुन्न ।’ प्रचण्ड ‘प्रतिक्रियावादी राज्यसत्ता’सँग हच्किदैनथे ।

प्रचण्डले जनयुद्धका बेला एउटा ठूलो एक्सनका बारेमा प्रकाशलाई कुनै जानकारी दिएनन् । सुटुक्कै बाबुरामलाई कारवाही गरे । प्रकाशले फोन गर्दै कारबाहीलाई ‘बलण्डर’ को संज्ञा थिए । निर्णयमा पुर्नविचार गर्नसमेत पछि नपर्ने प्रचण्डले निर्णय फिर्ता गर्ने जनाए । केही दिनपछि बाबुराममाथिको कारवाही फुकुवा भयो । सँगै, माओवादी र सात दलका बीचमा वार्तापनि अघि बढ्यो ।

प्रचण्डका विशेष दुतका रुपमा गिरिजाप्रसाद कोइरालाको निवासमा धाउन थाले प्रकाश । भुमिगत जीबन जिइरहेका प्रकाशलाई काँग्रेसका नेता कार्यकर्ताले चिन्दैनथे । तर, गिरिजा बाबु उनलाई भिन्दै भावसहित माया गर्थे । शान्ति प्रक्रिया शुरु भएसँगै प्रकाश रेडियोमा छाउन थाले । प्रचण्डपनि सार्वजनिक जीबनमा आए । अभिव्यक्ति शैली उस्तै भएकाले प्रकाश प्रचण्डको प्रतिलिपिका रुपमा चिनिन थाले ।

संविधानसभाको पहिलो निर्वाचन पछि प्रकाश नेतृत्वको एकता केन्द्र माओवादीमा मिसियो । आन्तरिकरुपमा अफ्ठयारोमा पर्दै गएका प्रकाशले प्रचण्डलाई राम्रै प्रथामिकता दिए । प्रकाशको बोली नै प्रचण्डको सन्देश भन्ने रुपमा बुझ्न थालियो ।

परिश्थिति सधैं उस्तै रहेन । प्रकाशले प्रचण्ड सबैको नेता भएपनि सबैको साथ लिन असफल भएको टिप्पणी गरे । बाबुराम भट्टराई, मोहन बैद्य, रामबहादुर थापासँग प्रकाश मिल्न पुगे । धोबीघाट बैठकका रुपमा व्यक्त भएको सो गठजोडले प्रचण्ड पार्टीमा अल्पमतमा परे । सोही बैठकको प्रस्तावना अनुसार बाबुराम भट्टराई प्रधानमन्त्री बन्न पुगे । प्रधानमन्त्री भए लगत्तै भट्टराईले प्रचण्डको साथ लिएर माओवादी सेना रहेको क्यान्टोनमेन्टको साचो सरकारलाई बुझाउने निर्णय गरे । प्रकाशले गल्ती भएको भन्दै सो निर्णयको विरोध गरे । संविधान सभाको विगठन भएसँगै प्रचण्डले पत्रकार सम्मेलन गरी संविधान निर्माणका लागि हतार हतार सेना समायोजन गरिएपनि संसदवादी दलले धोका दिएको दुखेसो गरे ।
त्यसयता कैयौँ यस्ता मुद्धामा प्रकाशले सार्वजनिक रुपमै गम्भीर आपत्ति प्रकट गरेका छन् । उनको अभिव्यक्तिलाई माओवादीमा सुनिदैन । तर, कालान्तरमा उनकै अभिव्यक्ति सही ठहरिन थालेको छ ।

खिलराज रेग्मी नेतृत्वको सरकार बनाउने प्रचण्ड प्रस्तावको विपक्षमा उभिए प्रकाश । दलहरु असफल भएको सन्देश जाने तथा रेग्मी नेतृत्वको सरकार माओवादीका लागि प्रतिकुल ठहरिने उनको मत थियो । उनको मतको सुनुवाइ भएन । निर्वाचन परिणाम आउन थालेसँगै प्रचण्डले रेग्मी नेतृत्वको सरकारका बिरुद्ध सत्तोसराप थालिहाले । उनले मतगणना बहिष्कार गर्ने निर्णयमात्रै गरेनन्, संविधानसभा बहिष्कार गर्ने गम्भीर घोषणा गरे । प्रकाश सो निर्णय र घोषणाको विपक्षमा थिए । उनले जनमतलाई स्विकार नगर्दा प्रचण्ड स्वंयकै व्यक्तित्वको क्षयीकरण हुने धारणा राखे । धेरै पछि माओवादीले मत गणना बहिष्कार र मत परिणामसँगै गरिएको पत्रकार सम्मलेनलाई त्रुटीपूर्ण ठहर गर्यो ।

ओली नेतृत्वको सरकार विस्थापित गर्नु गम्भीर भूल हुने भन्ने प्रकाशको लबिङलाई प्रचण्डले रुचाएनन् । पछिल्लो समय प्रकाश र प्रचण्डको सम्बन्ध औपचारिक प्राय छ । विवादस्पद छोरा प्रकाशलाई सचिवालयमा राख्ने प्रचण्ड कदमदेखि प्रचण्डको भारत भ्रमणका बेला जारी भएको संयुक्त वक्तव्यप्रति प्रकाश असन्तुष्ट देखिन्छन् । उनले आफु निकटका नेतासँग भन्ने गरेका छन्, ‘अन्तर संर्घषलाई तिब्र पार्ने, नेतृत्व नसुध्रिए फरक कदम चाल्ने ।’

माओवादी दर्शन अनुसार सत्ता पार्टीले संचालन गर्दछ । तर, सोको अभ्यास हुन सकिरहेको छैन । तर, गुटगत नै किन नहोस्, प्रकाशले आफ्नो खेमाको मन्त्रालयलाई सामुहिकरुपमा संचालन गर्दै आएका छन् । पछिल्लो समय शिक्षा मन्त्रालय प्रकाश समुहले पाएको छ । माओवादीजन नै भन्ने गर्छन, ‘गिरिराजमणि भएपनि डिआर भएपनि उनीहरुको मन्त्रालय संचालन सामुहिकरुपमा हुन्छ । नीति कार्यान्वयनका सबै टीम लाग्छ । हाम्रोमा जस्तो होइन उनीहरुको ।’

गणतन्त्र दिवसका दिन प्रकाशले आयोजना गरेको पार्टीमा प्रचण्डले कनकमणि दिक्षितलाई कोट्याउँदै सहकार्यका लागि सार्वजनिक अपिल गरे । प्रचण्डसँग कटु सम्बन्ध रहेका दिक्षितले बाहिरीरुपमा सो प्रस्तावलाई आफ्नो विजयको रुपमा अर्थाए, भित्रीरुपमा ठूलै राहतको महशुश गरे । अख्तियार दुरुपयोग अनुसन्धान आयोेगले डाम्न थालेपछि आहतमा परेका दिक्षितले त्यसको केही दिनपछि प्रचण्डसँग गोप्य छलफल गरे । सोही बैठकमा एउटा महत्वपूर्ण सहमति भयोः दिक्षितलाई बचाउन प्रचण्डले भुमिका खेल्ने र द्वन्दकालिन मुद्धालाई अन्तराष्ट्रियकरण नगरी मेलमिलापमा टुंग्याउन दिक्षितले भुमिका निर्वाह गर्ने । पश्चिमा जगतसँग राम्रो सम्बन्ध भएका दिक्षितले प्रचण्डलाई र देशको कार्यकारी बन्दै गरेका प्रचण्डले दिक्षितिलाई सेफल्याण्डिङको तोफा दिएको सो बैठक प्रकाशकै पहलमा भएको थियो ।

लोकमानसिंह कार्की भनिरहनु पर्दैन, अख्तियार प्रमुखका लागि योग्य पात्र थिएनन् । तर, व्यापक जनमतको उपहास गर्दै उनका लागि अख्तियारमा रातो कार्पेट विछ्याइयो । अहिले, उनलाई रेड लाइट देखाइएको छ । तर यसमा पनि जनमत र कार्कीको योग्यता कारक छैन । डाक्टर गोविन्द केसीले सातौ अनसनसम्म कार्कीको राजिनामा मागेका थिएनन् । दिक्षितलाई पेल्न थालेपछि दिक्षित समुहको सल्लाहमा केसीले आठौं अनसनमा कार्की विरुद्ध अभियान थालेका थिए । काँग्रेस बाहेकका दलका नेतालाई टार्गेट गर्ने गरी कार्की नेतृत्वको अख्तियारले पत्राचार गरेपछि एमाले विशेष गरी हच्किएको थियो । संसद र अदालतमा आफु अफ्ठयारोमा पर्ने बुझेपछि कार्कीले प्रचण्ड विरुद्धको फाइलसमेत अघि बढाइदिए । प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले गम्भीर खतरा देखे । कार्की विरुद्ध जान उनले पार्टी पंक्तिलाई ग्रिन सिग्नले दिए । आफुलाई भेट्न आएका कार्कीलाई एक घण्टा कुर्दासमेत भेट नदिने गरी उनी चिढिएका छन् ।

पछिल्लो समय लोकमानसिंह कार्कीका बिरुद्ध प्रचण्ड विरोध सुनिन थालेको छ । आफ्नै दलभित्र व्यापक विरोध हुँदा हुँदै प्रचण्ड, केपी ओली र सुशील कोइरालाको सक्रियतामा कार्की अख्तियार प्रमुख बनेका थिए । राजावादी र दिल्लीलाई खुशी बनाएर निर्वाचनमा राम्रै करामत गर्ने प्रचण्डको सपनाले कार्कीलाई अख्तियार प्रमुख बनाउन भुमिका निर्वाह गरेको थियो । प्रकाशले उति बेलै भनेका थिए, कार्की नियुक्ति प्रतिगामी कदम । सर्पलाई दुध खुवाएर पालेपनि डस्ने आफैंलाई हो भन्ने उनको अभिव्यक्तिले माओवादी पंक्तिलाई उतिबेला चिढाएको थियो । अहिले कार्की माओवादीका लागि काउसो भएका छन् । प्रचण्डका लागि कार्की टाउको माथि झुण्डिएको तरवार दरिएका छन् । प्रकाशका पक्षधरले उतिवेलाको बहश स्मरण गर्दै स्टाटस लेखेका छन् ।

सामुहिक छलफल नगरी निर्णय गर्ने र विरहका गीत गाउने गोलचक्करमा पछिल्लो समय माओवादी फसेको छ । कार्की प्रकरण त्यसको एउटा उदाहरणमात्र हो ।

(माओवादीका विभिन्न नेताहरुसँग छलफल गरी तयार पारिएको समाचार टिप्पणीमा माओवादीका दुई शीर्ष नेता प्रचण्ड र प्रकाशको सम्बन्ध केलाइएको हो । यो टिप्पणीमा प्रकाश केन्द्रमा भएपनि खाशमा सामुहिक निर्णय नगर्दा पार्टी र नेतृत्व कसरी चुक्छ भन्ने तथ्य देखाउन खोजिएको हो ।) नेपाल अाजबाट