Sunday, 11th April, 2021
वि.स.

पत्रकार महासंघ मकवानपुरको निर्णय: मृत्यु पत्रमा हस्ताक्षर या सुद्धीकरणको प्रतिवद्धता ?
कुमार नेगी

नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको पछिल्लो बैठक गत २०७३ साल साउन ३१ गते सोमबार हेटौंडामा बसेको थियो । उक्त बैठकले विविध प्रस्तावअन्तर्गत गरिएको एउटा तालिमसम्बन्धी निर्णय बाहेक मूल प्रस्तावमा एउटै निर्णय गरेको छ –‘महासंघको सदस्यता प्राप्तिका लागि निवेदन परेका मध्ये २४ जनाको सदस्यता स्वीकृत गरी अनुमोदनका लागि केन्द्रीय समितिसमक्ष पेश गर्ने ।’ बैठकले सदस्यता स्वीकृत गर्दा दुईवटा शर्त र आधार लिएको छ । उसकै भाषामा – १) पूर्णकालीन पत्रकारिता गर्नेलाई सदस्यता सिफारिश गर्ने २)हाल पत्रकारितामा क्रियाशील रहेको र व्यवस्थापन पक्षमा रही काम नगरेको । 
यसरी पत्रकार महासंघको मकवानपुर शाखाले गरेको निर्णयपछि अहिले मकवानपुरको पत्रकारिता क्षेत्रमा व्यापक टिप्पणीहरु सुनिएका छन् । प्रथमतः सदस्यता सिफारिश पाउने २४ जना निर्विवाद छन् र उनीहरुप्रति अग्रिम बधाई र शुभकामना पनि । शाखाले निर्धारण गरेको शर्त र आधारका कारण पत्रकारितामा क्रियाशील भएर पनि सदस्यताबाट बन्चित बनाइएका कैयौं पत्रकारहरुलाई हेरेर एकातिर आश्चर्य प्रकट भैरहेको छ भने अर्कातिर उक्त निर्णयको कार्यान्वयनले भविष्यमा सदस्यता नवीकरण हुन नसक्दा शाखाको वर्तमान कार्यसमिति नै अल्पमतमा परेर विघटन हुने स्थिति आउन सक्नेमा चिन्ता व्यक्त भइरहेको छ । वास्तवमा यो निर्णयको कार्यान्वयनले तत्काल सतहमा देखिएको र भविष्यमा देखिने असरहरुलाई विश्लेषण गर्न जरुरी त छ नै, मकवानपुर शाखाले सदस्यता सिफारिशका शर्त र आधारहरुको निर्णय गरिरहँदा त्यस्तो निर्णय गर्ने शर्त र आधारहरुचाहिँ के हुन् भन्नेतर्फ ध्यान दिनु पहिलो जड सवाल हो । 
नेपाल पत्रकार महासंघको विधानको दफा ४ मा सदस्यताको प्रकार र योग्यतासम्बन्धी व्यवस्थामा भनिएको छ, –‘महासंघमा सदस्य, संस्थागत सदस्य, अतिथि सदस्य र मानार्थ सदस्य गरी चार प्रकारका सदस्य हुनेछन् ।’ सदस्यको योग्यता सम्बन्धमा सोही दफाको उपदफा १ मा भनिएको छ– ‘(क) पत्रकारिता वा अरु कुनै विषयमा स्नातक उत्तीर्ण गरी एक वर्षदेखि पत्रकारितामा लागेका व्यक्ति, (ख) पत्रकारिता वा अरु कुनै विषयमा प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरी दुई वर्षदेखि पत्रकारिता पेशामा लागेका व्यक्ति, (ग) प्रवेशिका परीक्षा उत्तीर्ण गरी तीन वर्षदेखि पत्रकारिता पेशामा लागेका व्यक्ति, तर महिला, आदिवासी जनजाति, दलित, मधेशी, शारीरिकरुपमा अशक्त, अल्पसंख्यक र पछाडि पारिएको क्षेत्र कर्णालीका हकमा एक वर्षदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील भए पुग्नेछ । (घ) यो संशोधित विधान लागू हुनुभन्दा अगाडि महासंघको सदस्य रहेका व्यक्ति, (ङ) महासंघको सदस्य हुन १८ वर्ष पुगेको नेपाली नागरिक हुनुपर्नेछ ।’
यसरी विधान अनुसार महासंघको सदस्यता लिन चाहने पत्रकारले आफू क्रियाशील रहेको शाखामा योग्यताको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, पत्रकारितामा निरन्तरता र क्रियाशीलताको प्रमाण र आफू कार्यरत संस्थाको नियुक्तिपत्रसहित आवेदन दिएपछि प्रक्रिया अघि बढ्छ । शाखामा आवेदन आएपछि छानबिन गरी योग्यता पुगेका आवेदकको सदस्यता स्वीकृत गरी अनुमोदनका लागि केन्द्रीय समितिमा सिफारिश गर्नु शाखाको काम हो । शाखाले आवेदनको छानविन गर्दा माथि उल्लेखित विधानको दफा ४ अनुसार सदस्य हुन चाहिने योग्यताका आधारहरुलाई सूचकको रुपमा लिनुपर्दछ । 
महासंघको विधानले कतै पनि शाखालाई कुनै पत्रकारलाई सदस्यता प्रदान गर्नु अघि उल्लेखित योग्यताका अतिरिक्त शाखाले आफै अन्य शर्त र आधारहरु तोक्न सक्नेछ भनी उल्लेख गरेको छैन । मकवानपुर शाखाले निर्णय गरी जुन दुईवटा शर्त र आधारहरु तय गरेको छ, विधानको कुन दफाको आधारमा शर्त र आधारहरु तय गरिएका हुन् भन्ने स्पष्ट छैन ।  प्रत्येक शाखाका लागि महासंघको सर्वोच्च निकाय साधारणसभाले पारित गरेको एउटै विधान लागू हुन्छ । कुनै पत्रकारलाई महासंघको सदस्यता दिँदा विधानमा जुनसुकै कुरा लेखिएको भएपनि कुनै शाखाले शाखाको पत्रकारिताको खास विशेषताको आधारमा योग्यताको छुट्टै आधार तय गर्नसक्ने व्यवस्था विधानले गरेको देखिँदैन । यस अर्थमा मकवानपुर शाखा विधानभन्दा माथि पुगेको देखिन्छ र त्यो उचाइबाट तल हेर्दा उसले कैयौं क्रियाशील पत्रकारलाई महासंघको सदस्य बन्न योग्य नदेखेको अवस्था हो । 
शाखाले मकवानपुरका सदस्यता स्वीकृति गर्न लिएको पहिलो शर्त र आधार पूर्णकालीन पत्रकारिता गर्नेलाई  सदस्यता सिफारिश गर्ने भन्ने छ । महासंघको विधानमा पत्रकारलाई पूर्णकालीन वा आंशिक भनेर कतै छुट्याइएको छैन । पत्रकारको परिभाषा गर्दै विधानले भनेको छ – “पत्रकार” भन्नाले यस विधानबमोजिम तोकिएको योग्यता पुगेको छापा, प्रसारण तथा अनलाइनजस्ता कुनै पनि प्रकृतिका आमसञ्चारका माध्यमसँग आवद्ध समाचार संकलन, उत्पादन, सम्पादन, सम्प्रेषण, समाचार लेखन÷पुनर्लेखन गर्ने कार्यका साथै नियमित स्तम्भ लेखक, कार्टुनिष्ट, फोटो पत्रकार, प्रेस क्यामरापर्सन, समाचार तथा समाचारमूलक कार्यक्रम निर्माता तथा सञ्चालक, समीक्षक, साजसज्जा, भाषा सम्पादक एवं स्वतन्त्र पत्रकारसमेतलाई जनाउँछ ।’ विधान अनुसार पूर्णकालीन वा आंशिक आधारमा पत्रकार हो, होइन भनेर छुट्याउन सकिँदैन । कुनै रेडियोले उसको आवश्यकताका आधारमा कुनै पत्रकारलाई कुनै एउटा समाचार बुलेटिन वाचनका लागि मात्र नियुक्त गरेको रहेछ भने उसलाई पनि पत्रकार भन्नुपर्ने विधानको मुख्य आसय हो । कुनै एउटा साप्ताहिकले कार्टुनिष्ट नियुक्त गरेको रहेछ र उसले हप्तामा एउटा कार्टुन बनाउनु पर्ने जिम्मेवारी रहेछ भने उसलाई पनि विधानबमोजिम पत्रकार भन्नु पर्ने हुन्छ र योग्यताको आधारमा महासंघको सदस्यता प्राप्तिको हकवाला हुन्छ । पूर्णकालीन होइन भनेर उनीहरुलाई अयोग्य ठहराएर सदस्यता दिनबाट बन्चित गरिनुहुँदैन । 
आमसंचार माध्यमको प्रकार, प्रकृति र विशेषताको आधारमा पत्रकारले कुनै पूर्णकालीन रुपमा गर्नुपर्ने काम हुन्छन्, कुनै आंशिक रुपमा गर्नु पर्ने काम हुन्छन् । पूर्णकालीन वा आंशिक जे भए पनि उसको क्रियाशीलता र निरन्तरताको विषयचाहिँ महासंघको सदस्यताको एउटा योग्यताको आधार हो । महासंघमा सदस्यताका लागि आवेदन गर्दा पूर्णकालीन वा आंशिक के हो भन्ने कुनै कागज पेश गर्नु पर्दैन, तर क्रियाशीलता र निरन्तरताको प्रमाण भने पेश गर्नुपर्दछ । उदाहरणका लागि कुनै छापा माध्यममा सम्बाददाताको रुपमा काम गर्ने पत्रकारले सदस्यताका लागि आवेदन गर्दा अन्य कागजातको साथमा आफूले लेखेको समाचारको ‘कटिङ’ पनि पेश गर्नुपर्दछ । यो भनेको उसको निरन्तरता र क्रियाशीलताकोे प्रमाण हो ।  मकवानपुरमा पत्रकारले महासंघको सदस्यता प्रांप्तिका लागि दिएको आवेदनमा संलग्न कागजहरुमध्ये २४ जनाबाहेक अन्य पत्रकार आंशिक हुन् भन्ने कुन कागजले प्रमाणित गरेको हो, यसको जवाफ शाखाले दिनुपर्दछ । र, पत्रकार आंशिक हुन्छ कि हुँदैन र उसलाई महासंघको सदस्यता प्राप्त गर्नबाट त्यही कारणले बन्चित हुनुपर्ने विधानको कुन दफामा छ भन्ने पनि शाखाले देखाउन सक्नुपर्दछ । 
महासंघ मकवानपुर शाखाको कार्यसमितिले सदस्यता प्राप्तिको अर्को आधार तय गरेको छ –हाल पत्रकारितामा क्रियाशील रहेको र व्यवस्थापन पक्षमा रही काम नगरेको । यसको अर्थ पत्रकारितामा क्रियाशील भएर पनि व्यवस्थापन पक्षमा रही  काम गरेको रहेछ भने त्यस्तो पत्रकारलाई सदस्यता नदिने भन्ने हो । माथि नै भनियो कि सदस्यता प्राप्तिका लागि आवेदन दिँदा क्रियाशीलताको प्रमाण त अवश्यै पेश गर्नुपर्दछ । यसलाई कुनै शाखाले छुट्टै शर्त बनाइराख्नु आवश्यक छैन । जहाँसम्म पत्रकारको क्रियाशीलतासँगै जोडिएको व्यवस्थापकीय भूमिकाको सवाल छ, विधान बमोजिम पत्रकार भएको हकमा उसलाई पत्रकार महासंघको सदस्यता प्रदान गर्ने हो । पत्रकार महासंघको सदस्यताको आवेदनसंगै संलग्न कागजातहरु छानविन गर्ने क्रममा उसको नियुक्ती पत्र हेर्दा त्यसमा उल्लेखित पद र कार्यविवरण विधान बमोजिम पत्रकारको परिभाषा भित्र नपर्ने रहेछ भने अन्य जुनसकै पक्षमा काम गरेको भएपनि सदस्यका लागि योग्य हुँदैन । सदस्यताको लागि दिएको आवेदनमा कागजपत्रहरु तेकिएबमोजिम छन् तर पत्रकार नभएर त्यही संचार गृह वा अन्यमा व्यवस्थापकीय भूमिकामा छ भन्ने कार्यसमितिलाई लागेको छ भने त्यस्तो अवस्थामा शाखाले छानविन तथा यथार्थ जाँचबुझ समिति बनाएर काम गर्नुपर्ने हुनसक्छ । उक्त समितिको प्रतिवेदनको आधारमा सदस्यता स्वकृति सम्बन्धी निर्णय लिनुपर्ने हुन्छ । तर स्पष्ट के हुनुपर्दछ भने कुनै व्यवस्थापकीय भूमिकामा रहेको व्यक्ति क्रियाशील पत्रकार हो भने क्रियाशील पत्रकारको आधारमा उसले महासंघको सदस्यता प्राप्त गर्न विधानको कुनै दफाले छेक्दैन । 
पत्रकार महासंघको प्रत्येक शाखाको एउटा काम आफूसमक्ष आएको आवेदनको छानबिन गरी योग्यता पुगेका आवेदकको सदस्यता स्वीकृत गरी अनुमोदनका लागि केन्द्रीय समितिमा सिफारिश गर्नु र योग्यता नपुगेका आवेदकहरुको कुन कुन कारणले योग्यता नपुगेको भन्ने करा स्पष्टरुपमा खुलाएर सम्बन्धित आवेदकलाई जानकारी दिनु पनि हो । शाखाको माइन्युटमै कुनकुन आवेदनको छानविन गरियो र त्यसमध्ये स्वीकृत र अस्वीकृत छुट्याई अस्वीकृत हुनुको कारणसमेत उल्लेख गर्नुपर्दछ । कुनै आवेदकले बुझ्न चाहेमा सोही माइन्युटको आधारमा निजलाई त्यस्तो सूचना दिनुपर्दछ । सूचनाको हकसम्बन्धी ऐन, २०६४ ले यो अधिकारलाई अझ सुरक्षित गरिदिएको छ ।  
वास्तवमा झण्डै दुई सय सदस्यको नेतृत्व गर्ने पत्रकार महासंघ मकवानपुर शाखाले यसप्रकारको विवादित विषय सिर्जना गर्नु परिपक्वताको प्रदर्शन होइन । यसलाई निर्णय गर्नुपूर्व उसले विभिन्न चरणमा अग्रज, बुद्धिजीवी र पत्रकारहरुसँग छलफल र अन्तरक्रिया गर्न सक्दथ्यो । अहिले शाखा सदस्यता प्रदान गर्ने सन्दर्भमा एउटा निर्णयमा पुगिसकेको अवस्थामा यो विषय केन्द्रीय समितिको छानबिनको विषय बन्न सक्नेछ । स्मरण रहोस्, विधानमा भनिएको छ, ‘यसरी छानबिन गर्दा योग्यताबमोजिम सदस्य नहुनेलाई सदस्य बनाएको वा योग्यता हुँदाहुँदै सदस्य बन्नबाट वञ्चित गरिएको पाइएमा त्यस्तो शाखा वा त्यस कार्यमा संलग्न जिम्मेवार पदाधिकारी वा सदस्यउपर छानबिन गर्न सकिनेछ । यस्तो कारबाहीमा त्यस्तो शाखाको समितिलाई सचेत, निलम्बन, भंग वा कुनै सदस्यको सदस्यता निलम्बन वा समाप्त गर्न सकिनेछ ।’ 
तर, अन्य कुरा यथावत रहेको अवस्थामा यो निर्णय कार्यान्वयन हुन सक्छ । सबैले बुझुनु पर्ने कुरा के छ भने मकवानपुर शाखाको यो निर्णय मुलतः ग्रामीण पत्रकारिता र समावेशी संचार नीतिको विरुद्ध उभिएको छ । हेटौंडाबाहिर थाहानगर र अन्य ग्रामीण क्षेत्रमा बसेर पत्रकारिता गरिरहेका र सदस्यताको लागि आवेदन दिएका मध्ये एकजना पनि सदस्य योग्य नदेख्नुुले यसको पुष्टि गरेको छ । साथै आगामी दिनमा यसले पूर्णकालीन हुन नसक्ने पत्रकारहरुलाई सदस्यताबाट रोक्ने छ र यसको सबैभन्दा बढी समस्या महिला, आदिवासी जनजाति, दलित र सीमान्तकृत समुदायका पत्रकारले भोग्नुपर्नेछ । जनजाति, दलित र सीमान्तकृत समदायका पत्रकार अहिले पनि पूर्णकालीन बनेर पत्रकारिताको मूल प्रवाहमा आउने वातावरण नभइरहेको सन्दर्भमा मकवानपुर शाखाको उक्त निर्णयले उनीहरुलाई सदस्यताबाट ‘ब्रेक’ लगाउनेछ । उदाहरणका लागि कुनै रेडियोमा हप्ताको आधा घण्टा तामाङ भाषाको कार्यक्रम चलाउने संचारकर्मीलाई मकवानपुर शाखाले पत्रकार मान्ने छैन र सदस्यता दिने छैन । यसले अन्ततः मकवानपुर शाखा समावेशी मुलकको असमावेशी चरित्रमा बदलिनेछ जसले यहाँको आर्थिक, सामाजिक तथा साँस्कृतिक क्षेत्रमा दुरगामी नकारात्मक असर पार्नेछ । 
अन्ततः पत्रकार महासंघ मकवानपुर शाखाको सदस्यतासम्बन्धी निर्णय स्वयम् कार्यसमिति सदस्यहरुका लागि कि आफ्नै सदस्यताको मृत्युपत्रमाथिको हस्ताक्षर हो कि कम्तिमा निर्णयकर्ताको हैसियतले आफ्ना अन्य पेसा भए परित्याग गरेर पत्रकारिताको आंशिक जीवनबाट पूर्णकालीन हुने प्रतिवद्धता हो । उनीहरुले दुई मध्ये एक रोज्नुपर्दछ । तिनै सदस्यहरुबाट निर्वाचित भएर तिनै सदस्यहरुलाई अयोग्य ठहराउँदै  आंशिक पत्रकार भए पनि  निर्वाचित भएको कारणले अर्को निर्वाचनसम्म म्याद छ भनेर बस्न नैतिक रुपमा सुहाउने कुरा होइन । कार्यसमितिमा स्वयं उनीहरुको निर्णयले अयोग्य ठहरिने व्यक्ति पदाधिकारी छन् भने उनीहरुले आजसम्म नैतिक रुपमा पदबाट राजीनामा दिन ढिला भैसकेको छ किन कि उनीहरुकै परिभाषा अनुसार कार्यसमितिका आंशिकहरुले पूर्णकालीन सदस्यहरुको नेतृत्व गर्नु नैतिक पक्षसँग जोडिएको सवाल हो । अथवा उनीहरुका लागि अर्को अवसर पनि छ कि आजकै मितिबाट आफू पूर्णकालीन भएको र अर्को कुनै मुख्य पेसा नभएको घोषणा गर्ने र नैतिकरुपमा गर्वका साथ पूर्णकालीन सदस्यहरुको व्यवसायिक नेतृत्व प्रदान गर्ने । 
दुबै बिकल्पमा प्रगति हुन नसकेको अवस्थामा शाखाको अर्को बैठकमा यसप्रकारको नैतिक प्रस्तावमाथि छलफल चलाउन जरुरी छ र अघिल्लो निर्णयको कार्यान्वयन आफ्नै समितिका सदस्यहरुको छानविन र प्रक्रियाबाट गर्न उचित हुनेछ । यदि यसो पनि हुन सकेन भने यो साधारण सभामा गम्भीर छलफलको विषय बन्नुपर्दछ । 
वास्तवमा मकवानपुर शाखाले सदस्यतासम्बन्धी जुनसुकै शर्त र आधार तोकेको भए पनि विधानसँग बाझिएकोमा बाझिएको हदसम्म निष्क्रिय बनाइनुपर्दछ र विधानबमोजिम योग्यता पुगेका क्रियाशील पत्रकारलाई सदस्यता स्वीकृत गर्नुपर्दछ । यो नै उत्तम र विधानसम्मत विकल्प हुनेछ ।
(लेखक नेपाल पत्रकार महासंघका केन्द्रीय पार्षद हुन् ।)