nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 3rd May, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगरको चित्लाङमा भौतिक पुर्वाधार मन्त्री फुयाँलले महाकवि देवकोटालाई सम्झे !

महाकवि लक्ष्मीप्रसाद देवकोटाले सिर्जना गरेको यात्री कविता नसुनेकाहरु विरलै होलान् । उनै महाकवि देवकोटालाई यात्री कविता फुरेको ठाउँ हो, मकवानपुर थाहानगरको चित्लाङ । स्थानीय बयोवृद्धहरुको अनुसार चर्चित कविता यात्रीको रचना गर्भ झण्डै सातदशक अघिको समय हो । चित्लाङमा रहेको एउटा ढुङगे धारामा बसेर महाकवि देवकोटाले रचना गरेको जनश्रुति छ ।

महाकवि लक्ष्मी प्रसाद देवकोटाले सन्देश मर्मस्पर्सी कविता फुरेको चित्लाङको गुर्जुधारामा यस वर्ष बागमती प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री रामेश्वर फुयाँल पुगे । त्यही १ सय ११ औ लक्ष्मी जयन्ती कार्यक्रमको आयोजना गरे । काठमाण्डौं प्रवेश गर्ने देशकै मुल बाटैमा पर्ने गुर्जुधारमा पुगेका मन्त्री फुयाँलले महाकवि देवकोटाप्रति श्रद्धासुमन व्यक्त गरे । सम्पदा संरक्षण अभियान नै संचालन गरिरहेका मन्त्री फुयाँलले चित्लाङको गुर्जुधारा पुर्ननिर्माण गर्ने बाचा गरे । नजिकैको सातधारा र राजकुलोका लागि पनि बजेट विनियोजन गर्ने प्रतिवद्धता जनाए । १ सय ११ औ लक्ष्मी जयन्तीको अवसरमा चित्लाङमा आयोजित कार्यक्रममा मन्त्री फुयाँलले महाकवि लक्ष्मी प्रसाद देवकोटालाई स्मरण गरे, देवकोटाको योगदानको चर्चा गरे । चित्लाङ–काठमाण्डौं पुरानो बाटोको यात्रा कल्पना गर्दै भने–‘चित्लाङ भएर कति मान्छे बुटा समाउँदै, पिङ खेल्दै–खेल्दै हिडे होलान्, सम्राट अशोकले छोरी चारुमतीलाई लिएर हिडेको बाटो पनि यहि हो ।’ ‘यो बाटो ऐतिहाँसिक छ, यसको इतिहास मेटिन हुन्न ।’ चित्लाङ–थानकोटको ऐतिहाँसिक बाटोलाई सडकमा परिवर्तन गर्न सक्षम भएको उल्लेख गर्दै अब सम्पदा संरक्षण, राजकुलो, ढुङ्गे धारा संरक्षण र व्यवस्थापनका लागि सहयोग गर्ने मन्त्री फुयाँलले प्रतिवद्धता व्यक्त गरे । 

लक्ष्मी प्रसाद देवकोटाले रचेको यात्री कविताको मर्म हामी कसैले बिर्सन नहुने मन्त्री फुयाँलको भनाइ थियो । ‘गाउँमा पुराना धातु संकलन गरेर भए पनि गुर्जुधारा छेवैमा देवकोटाको प्रतिमा बनाऔं’–उनले कार्यक्रममै प्रस्ताव राखे । स्थानीयहरुले प्रस्तावलाई कार्यान्वयन गर्ने अठोट गरेको डाक्टर रामहरि लामिछानेले बताए । कार्यक्रमको अवसरमा सताब्दी पुरुष सत्य मोहन जोशी र बरिष्ठ पत्रकार भैरब रिसालले फोनबाटै लक्ष्मी जयन्तीको अवसरमा शुभकामना दिएका थिए । जोशी तथा रिसालले लक्ष्मी प्रसाद देवकोटाको साहित्यिक योगदान तथा उनको सृजनाको चर्चा गरेका थिए । 

१ सय ११ लक्ष्मी जयन्तीको अवसरमा पुर्वाधार विकास मन्त्री फुयाँलले महाकवि देवकोटाका विभिन्न कृतिहरु सम्झदै चित्लाङमै रचिएको कविता सम्झेः


कुन मन्दिरमा जान्छौ यात्री
कुन मन्दिरमा जाने हो
कुन सामग्री पूजा गर्ने
साथ कसरी लाने हो .....

चन्द्रगिरीबाट मकवानपुर झर्दा पहिलो धाराको रुपमा रहेको गुर्जुधारामा बसेर सुस्ताउदै महाकवि लक्ष्मीप्रसाद देवकोटाले विक्रम संवत १९९८ मा कविता लेखेको बताइएको छ । चन्द्रगिरीको फेदीमा चित्लाङ–२ मा रहेको धारामा बसिरहेका देवकोटाले पशुपति दर्शनका लागि अर्को व्यक्तिको काँधका बोकिएर आएका भारतीय तिर्थयात्रीहरुलाई देखेर यो कविता लेखेको स्थानीय बुद्धरत्न मानन्धरले बताए । अहिले धारा नजिकैका घरहरु भत्किसकेको अवस्थामा पुगेका छन् । देवकोटाले धारामा पानी पिएर थकाई मारेर बसेको ढुङगो अझै त्यहीँ रहेको मानन्धरले जानकारी दिए । पशुपतिनाथ दर्शनका लागि धेरै संख्याका भारतीय नागरिकहरु त्यही बाटो भएर काठमाडौँ जाने गरेका थिए । 

राजधानी काठमाडौँलाई जोड्ने पहिलो सडक त्रिभुवन राजपथ निर्माणपूर्व काठमाडौँ–चन्द्रागिरी–चित्लाङ–भीमफेदी हुँदै हेटौँडाबाट भारतीय सीमासम्म पुग्ने गरिन्थ्यो । नेपाल भारत सीमा क्षेत्रवाट काठमाडौँ जानका लागि अन्य बाटो नभएपछि यही मार्गको प्रयोग हुने मनन्धरले बताए । उनले भने–‘उतीबेला चित्लाङको बाटो दुई तर्फी चल्थ्यो, राती सुत्ने दिनभरी व्यापार गर्थे ।’  चित्लाङमै यात्री कविता रचेको घरैमा दस्तावेज भेटेर देवकोटा परिवारका पाँचजनाले वि.सं. २०४१ सालमा चित्लाङ आएर ठाउँ अवलोकन गरेको तत्कालिन स्वच्छन्द भैरब स्कूलका प्रधानाध्यापक बुद्धरत्न मानन्धरले जानकारी दिए । देवकोटा परिवारले २०४२ सालमा चन्द्रागिरी भन्ज्याङमा ठूलो बोर्डमा यात्री कविता लेखेर झुण्ड्याएका थिए । द्वन्द्धकालका बेला उक्त बोर्ड हराएको मानन्धरले सुनाए । लक्ष्मी प्रसाद देवकोटालाई सम्झिनको लागि चित्लाङमा उनको अर्धकदको शालिक निर्माण गर्ने अभियानको बहस चलिरहेको मानन्धरले बताए । 

थाहा नगरपालिका वडा नम्बर ९ को व्यवस्थापनमा भएको लक्ष्मी जयन्ती कार्यक्रममा थाहा नगरपालिकाका नगर प्रमुख लवशेर विष्ट, उपप्रमुख खड्ग गोपाली, भौतिक पुर्वाधार विकास मन्त्रालयका सचिव संजीव बराल, भिमफेदी कुलेखानी सुरुङमार्ग प्रमुख नवीन सिंह, जलस्रोत तथा सिंचाइ विकास डिभिजनका प्रमुख मनोहर रिजाल, खानेपानी डिभिजन प्रमुख लगायतका व्यक्तित्वहरु र स्थानीयहरुको सहभागिता रहेको थियो । कार्यक्रम थाहा नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष परशुराम श्रेष्ठको सभाध्यक्षतामा सम्पन्न भएको थियो । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)